युद्ध अपराधका घटनाबाट राष्ट्रसङ्घीय अधिकारी चिन्तित

संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताले म्यान्मामा सामूहिक मृत्युदण्ड र यौन हिंसासहित बढ्दो युद्धअपराधबाट आफूहरु चिन्तित भएको बताएका छन्।

उनीहरुले ती जघन्य अपराधका प्रमाण सङ्कलन गरेको जनाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन मद्दत गर्ने मुद्दाका ‘फाइल’ तयार गरिरहेको बताएका छन्।

सन् २०२१को फेब्रुवरीमा प्रजातन्त्रवादी नेत्री आङ्सान सूचीको निर्वाचित सरकारलाई अपदस्थ गरेर सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा देशभर व्यापक प्रदर्शन भएका छन्। 

आन्दोलनलाई दबाउन सैनिक सरकारले अधिक बल प्रयोग गर्दा तीन हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन्।

म्यान्माका लागि संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अनुसन्धान संयन्त्र (आइआइएमएम)ले म्यान्माको सेनाले बारम्बार युद्ध अपराध गरेको प्रमाण फेला पारिएको बताएका छ।

गाउँ जलाउने सर्वसाधारणमाथि अन्धाधुन्ध बम खसाल्ने, थुनामा रहेकालाई मार्ने, भयानक यातना दिने र यौन शोषण गरेका प्रमाण आफ्नो प्रतिवेदनमा समावेश गरिने आइआइएमएमले बताएको छ। 

हेलिकप्टरबाट गाउँमा बम खसाल्ने, आगजनी गर्ने, निर्दोष समुदायलाई मार्ने, अमानवीय एवम् क्रुरतापूर्ण कार्यले सबैलाई स्तब्ध पारेको उल्लेख गर्दै आइआइएमएमले योजनाबद्धरुपमा गरिएको अपराधका दोषीलाई कारवाही गर्न अदालतलाई यथेष्ट प्रमाण जुटाइएको जनाएको छ।

गम्भीर प्रकृतिका अपराधको प्रमण सङ्कलन गर्न राष्ट्रसङ्घीय मानवअधिकार परिषद्ले् सन् २०१८ मा गठन गरेको उक्त संयन्त्रका सदस्यलाई म्यान्मा भ्रमणमा रोक लगाइएको छ।

संयन्त्रले सात सय स्रोत, साक्षीको बयान, दस्तावेज, तस्विर, वृत्तचित्रलगायत दुई करोड ३० लाखभन्दा बढी जानकारीमूलक वस्तु सङ्कलन गरेको जनाइएको छ। 

प्रकाशित मिति: : 2023-08-08 16:32:00

प्रतिकृया दिनुहोस्