अनेमसंघ गण्डकी प्रदेश कमिटि बैठककाे निर्णय सार्वजनिक

अखिल नेपाल महिलासंघ गण्डकी प्रदेश कमिटिको पहिलो सम्मेलन र बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ। सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर अनेमसंघ गण्डकीले गरेकाे निर्णय र पारित गरेकाे ८ बुँदे प्रस्तावहरु सार्वजनिक गरेको हो।

जिल्ला कमिटिको बैठक भदाै महिना भित्र सम्पन्न गरिसक्ने निर्णय गरेकाे छ। अधिवेशन गर्न बाँकी रहेका जिल्लामा असोज महिनासम्म अधिवेशन गरिसक्ने निर्णय गरेको अध्यक्ष हिरा कुमारी गिरीले जानकारी दिएकी छन्। गण्डकी प्रदेश कमिटिका सदस्यहरुको कार्यविभाजन समेत गरेको छ। प्रदेशका ८५ वटै पालिकाको कामलाई व्यवस्थित बनाउन प्रदेश सदस्यलाई प्रत्येक पालिकाको इन्चार्ज तथा अनेमसंघले सञ्चालन गर्ने अभियानको प्रमुखहरु तोकिएको  अध्यक्ष गिरीले बताएकी छन्। 

यसैगरी अनेमसंघ गण्डकीले संगठन निर्माण परिचालन, सदस्यता वितरण, प्रशिक्षक प्रशिक्षण तालिम, नयाँ कामको क्षेत्रमा अनेमसंघ अभियान, जहाँ विभेद त्यहाँ अनेमसंघ, सम्मान लगायतका कार्यक्रमलाई तिव्र गतिमा अगाडि बढाउने समेत जनाएको छ।

पत्रकार सम्मेलनमा अनेमसंघका केन्द्रीय अध्यक्ष टुकाभद्र हमाल, महासचिव पेम्वा लामा, सचिव एवं गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुन लगायतले अनेमसंघले हालसम्म गरेका कार्यक्रम र आगामी योजनाका बारेमा बोलेका थिए। हरेक कमिटि तथा राज्यका निकायमा महिलाको नेतृत्वदायी भूमिका स्थापित गर्ने अभियानका साथ अनेमसंघ अगाडि बढेको उनीहरुको भनाई थियो। 

अनेमसंघको पहिलो सम्मेलन र बैठक साउन २० र २१ गते कास्कीको लुम्लेमा सम्पन्न भएको थियो। बैठकमा गण्डकी प्रदेशका ११ जिल्लाका प्रदेश कमिटिका सदस्य तथा जिल्ला अध्यक्ष गरेर ७१ जनाको सहभागीता रहेको सचिव खरमाया बिटालुले जानकारी दिइन्।

प्रकाशित मिति: : 2023-08-08 08:16:00

प्रतिकृया दिनुहोस्