तीन वर्षदेखिको प्रेमी छोडेर तीन सातामात्रै भेटिएका ‘जीवन-साथी’सँग २० वर्षे साहसिक विश्वयात्रा

photo: Liesbet Collaert via cnn

लिस्बेट कोलार्ट आफ्नो लामो समयको प्रेमी कार्लसँग उत्तरी अमेरिकाभरि ओभरल्याण्डको बाँकी यात्रा पूरा गर्न क्यालिफोर्नियाको सान फ्रान्सिस्को तीन हप्ताअघि आइपुगेकी थिइन्।

त्यो बेला लिस्बेट आफ्नो अकल्पनीय यात्राको योजना र सँगै अविश्वसनीय रुपमा आफ्ना तीन वर्षदेखिका प्रेमी कार्ललाई त्याग्नुपर्छ भन्ने कल्पनासमेत गरेकी थिइनन्।

लिस्बेट अरू कसैसँग प्रेममा पर्छिन् भनेर उनले साेचेकी थिइनन्।

सन् २००४ मा लिस्बेट २८ वर्षकी थिइन्। उनले आफ्नो अमेरिकी प्रेमी कार्ललाई केही वर्षअघि अष्ट्रेलियाको यात्रामा भेटेकी थिइन्। आफ्नो गृहदेश बेल्जियममा उनी शिक्षिकाका रुपमा काम गर्थिन्। जब उनले आफ्नो पेशाबाट आनन्द लिइरहेकी थिइन्, त्यो बेला पनि साहसिक यात्राको तिर्खाले छाडेन। लिस्बेट सधैं आफ्नो अर्को यात्राका बाटाहरू पत्ता लगाउँदै, यात्रामै रमाउनेबारे योजना बनाइरहेकी हुन्थिन्।

उनको जीवनमा यात्रा सधैं पहिलो प्राथमिकता रहेको बताउँछिन्।

जब लिस्बेट र कार्ल सान फ्रान्सिस्कोमा पुगे तिनीहरूले एक हप्ता मात्र बस्ने योजना बनाए। तिनीहरू निक भनिने कार्लको साथीको घरमा बास बसेका थिए।

उनले सान फ्रान्सिस्को टाउनहाउसको स्वामित्व लिएका थिए र त्यसलाई तीन वटा अपार्टमेन्ट बनाएका थिए। निक एउटा स्टुडियोमा बस्थे, र अरू ठाउँ भाडामा दिएका थिए।

पहिलो दिन निकलाई अभिवादन गरेपछि र अपार्टमेन्टमा झोला बिसाएपछि लिस्बेट क्याम्पर भ्यानबाट सिडी लिन तल गइन्।

जब लिस्बेट आँगनमा पुगिन्, दुई सुन्दर र  फुर्तिला कुकुरहरूले पुच्छर हल्लाउँदै स्वागत गरेको उनी सम्झन्छिन्। ‘र निस्सन्देह, म कुकुमसँग पूर्ण रूपमा मोहित थिएँ, तिनीहरूसँग खेल्न व्यस्त भएँ।’

जब लिस्बेटले माथि हेरिन्, उनले भुइँ तल्लाको अपार्टमेन्टको ढोकामा उभिएको एक व्यक्ति उनीतिर मुस्कुराउँदै गरेको देखिन्।

‘नमस्ते, म मार्क किल्टी हुँ,’ उनले भनेका थिए। उनी कुकुरहरूका मालिक थिए, र निकको भाडामा बस्नेमध्ये एक तलको अपार्टमेन्टमा बस्ने व्यक्ति थिए।

लिस्बेटले पनि आफ्नोबारेमा सबै भनिन् र आफ्ना प्रेमी कार्लसँग केही दिनदेखि सँगै बसिरहेको बताइन्। ‘हामीले थोरै कुरा गर्‍यौं र अलिकति समय एक घण्टामा परिणत भयो,’ लिस्बेटलाई सम्झना छ।

मार्क एकदम आकर्षक, अग्लो, कालो कपाल भएको पुरुष थिए। लिस्बेटलाई लाग्छ, मार्कको त्यो ‘लुक्स’ नै आकर्षणको पहिलो कुरा थियो।

त्यसपछि उनीहरूले धेरै कुराकानी गरे। उनलाई लाग्यो- मार्क धेरै स्मार्ट अनि बुद्धिमान छन्। उनको बोलीमा साँच्चिकै मिठासपूर्ण जादू छ।

उतिबेला भर्खरै सम्बन्धविच्छेद गरेका मार्क ३३ वर्षका थिए। उनी अमेरिकाको पूर्वी तटीय क्षेत्र (‍इस्ट कोस्ट) मा हुर्केका थिए। अनि १९९० को दशकको अन्त्यमा क्यालिफोर्नियामा सरेका थिए। उनी एक सफ्टवेयर इन्जिनियर हुन् र इन्टरनेट एकदमै व्यापक भइरहेको समयमा त्यहाँ आएका थिए।

आफ्नो जीवनसँग मार्क धेरै खुसी थिए। उनका लागि श्रीमतीबाट अलग हुनु त्यति सजिलो थिएन, तर उसले आफ्नो काम, कुकुर र सान फ्रान्सिस्को वे एरिया क्षेत्रको जीवनमा खुसी थिए र माया थियो।

जब लिस्बेटले आफ्नो अनगिन्ति यात्रा र घुमन्ते जीवनशैलीबारे मार्कसँग कुराकानी गरिन्, उनी तुरुन्तै मोहित भए। यसले मार्कको जीवनको अर्को ढोका खुलेजस्तै भयो जसको कल्पना मार्कलाई कहिल्यै थिएन। ‘सामान्य जीवनलाई पनि जोखिममा पारेर साहसिक यात्रा रुचाउने उनी मेरो आकर्षणमा परिन्’ मार्कले भनेका छन् ‘सम्भवत मलाई आकर्षण गर्ने उनको त्यही स्वतन्त्र आत्मा थियो कि ! मैले उनको जीवनमा धेरै चासो राखें। थोरै आर्थिक भारमा पनि उनले कति ठाउँहरू हेरेकी र घुमेकी थिइन्। धेरै चिजको अनुभव गरेकी थिइन्।’

त्यहाँ बस्दा लिस्बेट र मार्कबीच धेरैपटक जम्काभेटहरू भए। मार्क आफ्नो घरमालिक निकको राम्रो र मिल्ने साथी थिए, र त्यसैले मार्क, निक, लिस्बेट र कार्लबीचको हिमचिम अझ धेरै बढ्न थाल्यो। ‘हामी मदिरा पिउन बाहिर गयौं। मार्क एक डुङ्गा चालक पनि थिए र हामी सबैलाई पानीजहाजमा शयर गराउन लगे। हामी हाम्रो समूहमा झन् नजिक हुँदै गयौं,’ लिस्बेट सम्झन्छिन्।

मार्क विस्तारै लिस्बेटलाई मन पराउन थालेका हुन्छन्। तर, सम्बन्धका सिमारेखाहरूका बारेमा उनलाई राम्रोसँग ज्ञान थियो। त्यसप्रति उनी सचेत थिए। लिस्बेट र कार्लको प्रेम प्रतिबद्धता उनलाई राम्रोसँग थाहा थियो। तर, दिनहरू बित्दै गए र सान फ्रान्सिस्कोमा तीन हप्ता बित्दा मार्कका भावनाहरू फैलिन थाले। कार्लले त्यो सम्बन्धका बारेमा विस्तारै शंका गर्न थाल्यो।

लिस्बेटको जीवनमा सान फ्रान्सिस्कोमा बितेका तीन साता निकै असाधारण भए। मार्कसँग उनको पनि प्रेमभाव बढ्दै थियो। त्यसपछि के होला उनलाई पनि पत्तो थिएन।

कार्ल भने उनीहरूको अर्को चरणको यात्रा पर्खिरहेका थिए। उनीहरू क्यालिफोर्नियामा कुनै ठाउँमा बस्ने लिस्बेटका आमाबाबुलाई भेट्न जाने सोचिरहेका थिए। र त्यसपछि उनीहरू मेक्सिको जाने योजना रहेको लिस्बेट सम्झन्छिन्। ‘र हरेक चोटी कार्लले त्यो कुरा उठाउँदा म सधैं मौन रहन्थें।’

कार्लले लिस्बेट र मार्कलाई सँगै समय बिताउन झन् उत्साहित गर्दै थिए।

लिस्बेट अर्को धेरै महिनासम्म उनीसँगै हुनेछ, त्यसैले उनीहरू दुवैले सकेसम्म अरू पारस्परिक निकटता महसुस गरुन् र त्यसको मजा लिउन् भन्ने उनको चाहना थियो।

‘जति धेरै समय अगाडि बढ्दै गयो, यो भावनात्मक रूपमा बढ्दै गयो, जब हामी सोफामा एकअर्काको छेउमा बसेर कुरा गरिरहेका हुन्थ्यौं, मेरो मुटु बेस्सरी धड्किन्थ्यो’ लिस्बेट सम्झन्छिन्।

उनीहरू छुट्टिनु अघिल्लो रात अपार्टमेन्टमा लिस्बेट र मार्कमात्रै थिए। मार्कले आफ्नो कलेजका वर्षका तस्बिरका एल्बमहरू पल्टाइरहेका थिए। र उनीहरू दुवैले भेट्नुअघि आ-आफ्ना जीवनकथाहरू साटिरहेका थिए। ‘कति कति बेला उसका हातहरू मेरो शरीरमा खेल्न खोज्थे। त्यो बेला मेरो मुटु बेस्सरी धड्किन्थ्यो। त्यो बेला लाग्यो म पक्कै ऊप्रति निकै आकर्षित भइसकेको रहेछु’ लिस्बेट भन्छिन्।

उनीहरू एक आर्कालाई चुम्बन गरे।

‘हामी दुवै खुसी थियौं, तर हामीलाई अलि नमज्जा पनि लागिरहेको थियो। किनकि उनी लामो समयदेखि कसैको प्रेम सम्बन्धमा थिइन्। हामीलाई यो कुरा प्रष्टै थाहा थियो। र, मलाई निश्चित भइसकेको थियो कि अर्को दिन लिस्बेट यहाँबाट जाँदैछिन्’ मार्क सम्झिन्छन्।

त्यो रात चाँडै बित्यो अनि अर्को दिनको सुरुवात पनि। लिस्बेटलाई याद छैन, उसले बिदाइका शब्दहरूमा के-के भन्यो। तर उनलाई यही अन्तिम शब्दमात्रै याद छ।

कि मार्कले भनेका थिए, ‘कुनै दिन कार्लसँग तिमिले सम्बन्ध तोड्यौ भने मलाई भन्नु तिमी कहाँ छ्यौ। तिमी जहाँ भए पनि म तिमीलाई लिन आइपुग्नेछु…’

एक अप्रत्यासित निर्णय

अर्को दिन, लिस्बेट र कार्ल सान फ्रान्सिस्कोलाई बिदाइ गर्न तयार थिए। मार्क आफ्नो कामका लागि निस्किसकेका थिए। मार्कलाई लागिरहेको थियो कि, साँझ फर्किँदा सायद लिस्बेटहरू गइसकेका हुनेछन्।

कार्ल सामानहरू प्याक गर्दै थिए। लिस्बेट उनलाई सघाउँदै थिइन्। तर, उनको मनमा भावनाका ज्वारभाटाहरू उर्लिरहेका थिए। अत्यासपूर्ण भावहरू उनको मनमा थिए।

भविष्य के होला ? लिस्बेटलाई केही थाहा थिएन। तर, उनको मन भनिरहेको थियो कि अब उनी कार्लसँग अघि बढ्न सक्नेछैनिन्। अनि मार्कका लागि भावनाहरू बगाउनुको पनि के अर्थ!

र, हिम्मतै जुटाएर उनले कार्ललाई सत्य कुरा भन्ने निधो गरिन्।

‘मलाई लाग्छ, म फेरि यहाँ फर्केर आउनेछु’ कार्लसँग उनले भनिन् ‘म मार्कप्रति धेरै नै आशक्त भइसकें।’

त्यो मौनता। उदास वातावरण अनि आफूसँग बाक्लिएका भ्रमहरूलाई चिर्दै लिस्बेटले निकै आत्मविश्वासका साथ कार्ललाई त्यो कुरा सुनाइरहेकी थिइन्।

कार्ल झन् मौन र स्तब्ध देखिन्थे। तर, पनि लिस्बेटलाई मनाउने वा फकाउन चाहेनन्।

लिस्बेटलाई अहिले पनि सम्झना छ, ‘त्यो बेला कार्ल निकै दु:खीजस्ता देखिन्थे’ अनि उनले भनेका थिए ‘तिमी फेरि फर्किने नै हो भने, तिमी यहीँ बस्नु नै राम्रो हुनेछ। म दु:खी हुने छैन।’

त्यसपछि उनी गुड्न ठिक्क भएको भ्यानमा बसिनन्। बरू त्यहाँबाट आफ्ना सामानहरू झिकिन्। अनि लिस्बेट र कार्ल बैंक गए अनि आ-आफ्नो पैसाको हिसाब-किताब रफादफा गरे।

त्यो पल लिस्बेट तीन वर्षदेखि सँगै बसेका आफ्नो प्रेमीलाई निकै प्रेमपूर्वक बिदाइ गर्दै थिइन्। अनि तीन साताअघिमात्रै भेटिएका मार्कसँग बाँकी जीवनयात्रा कटाउने प्रेमील कल्पनामा रमाइरहेकी थिइन्।

‘त्यो निकै कठिन समय थियो। हामी दुवैका लागि त्यो निकै भावुक क्षण पनि थियो’ लिस्बेट सम्झिन्छन्।

आँशु पुछ्दै गाडीसँगै हुँइकिएका कार्ललाई उनले पारि पुग्दासम्मै टोलाएर हेरिरहिन्।

कार्ल ओझेल भए। लिस्बेट मार्कको अपार्टमेन्टमा फर्किइन्। अनि आफ्ना सामानहरू थन्क्याइन्। केही थकान थियो, तर त्यो भन्दा धेरै मार्कलाई ‘सरप्रजाइज’ दिने उत्साह। मार्कका साथी बनिबसेका दुई कुकुरहरूलाई अंगालो हालेर उनी रोमाञ्चित हुँदै मार्कको पलङमा पल्टिइन्, मार्क आउने बाटो कुर्दै।

किन-किन लिस्बेटका आँशु झरे। उनलाई सायद पत्तो पनि थिएन। ‘मार्क आइसकेका थिएनन्, कार्ल गइसकेका थिए। त्यसपछि म धेरै रोएँ’ उनी भन्छिन् ‘त्यो सायद सजिलो निर्णय थिएन।’

साँझ अबेर मार्क जब अपार्टमेन्टको आँगनमा पुगे, उनको पहिलो नजर भ्यान पार्किङ गरेको ठाउँतिर पुग्यो। जहाँ लिस्बेटहरूको त्यो ‘क्याम्परभ्यान’ थिएन।

भारी मन पारेर मार्कले सोचें ‘अब मैले उन(लिस्बेट)का बारेमा सोच्ने छैन। उनीहरू आउने पनि छैनन्।’

यी सोचाइहरूसँगै उनी आफ्नो कार पार्क गरी अपार्टमेन्टभित्र छिरे।

‘मेरो अपार्टमेन्टका ढोकाहरू खुल्लै थिए’ मार्कलाई अहिले पनि सम्झना छ ‘त्यो बेला मलाई कस्तो कस्तो अनौठो लागिरहेको थियो।’

उनका ती कुकुरहरू प्रायजसो मूल ढोकामै बसेर मार्कलाई कुरिरहेका हुन्थे। तर त्यो बेला भने ती कुकुरहरू मार्कको सयनकक्षबाट बाहिरिएका थिए, मार्कलाई स्वागत गर्न।

पुच्छर हल्लाउँदै लुटपुटिन आएका कुकुरहरूलाई अँगाल्दै उनी भुँइतलामा ओर्लिए। अनि आफ्नो दिल-दिमागमा नाचिरहेकी लिस्बेटलाई भुल्ने कोसिस गरे, अँगालोका कुकुरहरूलाई धाम मार्दै।

‘त्यसपछि त अचम्मै भयो। म सुत्ने कोठाको मूल ढोकामा लिस्बेट उभिएर मलाई हेरिरहेकी थिइन्’ त्यो अप्रत्याशित दृश्यले मार्कलाई बुरुक्कै उफारिदियो। त्यसपछि उनी ठूलो स्वरले चिच्याए।

‘विश्वासै थिएन। म त आश्चर्य होइन, स्तब्धमात्रै भएँ’ मार्क भन्छन्।

लिस्बेटलाई लाग्यो, कतै मैले गल्ती त गरिनँ ? उनलाई डर थियो दिनभरि झरेर थामिएका आँशु फेरि झर्न सुरु हुने छन्।

त्यसपछि मार्कले लिस्बेटलाई धेरैबेरसम्म अंगालोमा कसिरहे।

उभिएर एकअर्कालाई धेरैबेरसम्म अँगालोमा कसेर उनीहरू मौन भए। विस्तारै मार्कले सोध्यो ‘तिमी कसरी यहाँ…?’

लिस्बेटले सुस्तरी छोटो जवाफमा भनिन् ‘मैले अब यहीँ बस्ने निर्णय गरें…।’

जीवनको नयाँ अध्याय, नयाँ यात्रा

तीन सातामात्रै भेटेको एउटा मान्छेको प्रेमका लागि लिस्बेटले तीन वर्षदेखि सँगै रहेका आफ्ना प्रेमीलाई छोडिदिइन्। यो निकै प्रत्याशित थियो। अब आफ्नो जीवन उनले मार्कलाई सुम्पिने निर्णयमा पुगिसकेकी थिइन्।

लिस्बेटलाई कहिल्यै नभेटिने एउटा डरको त्यो उभारपछि मार्क अब रोमाञ्चित थिए। लिस्बेट पनि खुसी नै थिइन्।

‘त्यो बेला हामीसँग थुप्रै भावनाहरू उब्जिएका थिए। उत्साह पनि थिए’ मार्कको भनाइमा लिस्बेट थप्छिन् ‘सँगै भएका ती पलहरू निकै रोमाञ्चक थिए। वास्तवमा हामी एकअर्काको भावनासँग निकै नजिक भएका थियौं।’

तर लिस्बेटलाई लाग्थ्यो, मैले कतै गल्ती पो गरें कि! कहिलेकाहिँ कार्ललाई त्यसरी छोड्नुमा आफू नै दोषी छु कि भनेर उनको मनमा पश्चाताप पनि लाग्थ्यो। र नराम्रो महसुस गर्थिन्।

‘विगतमा पनि मैले मेरो यात्राका लागि केही केटा साथीहरू छोडेको थिएँ,’ उनी भन्छिन्।

मार्कसँग भने अलि फरक भयो।

‘एउटा व्यक्तिका लागि मैले आफ्नो त्यो साहसिक यात्रा त्यागेको थिएँ। त्यसैले गर्दा पनि त्यो मेरा लागि निकै संघर्षपूर्ण समय थियो’ उनी भन्छिन्।

मार्कसँग बस्न थालेको करिब एक महिनापछि, लिस्बेट मार्कको परिवार भेट्न उनीसँगै इस्टकोस्ट उडिन्। त्यसको केही महिनापछि लिस्बेटका आमा-बाबु भेट्न गए। आ-आफ्नो परिवारले त्यो परिस्थिति र अचानक भइरहेको त्यो परिवर्तनलाई सहजै स्वीकार गरे।

केही समयपछि उनीहरूले एउटा यात्राको तयारी गरे। मार्क सामुद्रिक यात्राको आनन्द लिन चाहन्थे। तर, लिस्बेटलाई समुद्रसँग एक प्रकारको फोबिया थियो।

तर, पनि त्यो यात्राका लागि लिस्बेट तयार भइन्। उनीहरूले एउटा डुङ्गा किने। सन् २००५ मा मार्कले आफ्नो जागिर छोडे।

मार्क र लिस्बेटको जोडी अब क्यालिफोर्नियाको तटीय यात्रामा निस्कियो।

‘यो पक्कै पनि विश्वासको ठुलो छलाङ थियो’ मार्क भन्छन्।

तर, यात्राको सुरुवातमै लिस्बेट बिरामी परिन्। मार्कका कुकुरहरू पनि पानीमा बस्न रुचाइरहेका थिएनन्।

दुई दिनको सामुद्रिक बसाइपछि उनीहरूले त्यो डुङ्गा बेचेर एउटा क्याम्प भ्यान किने।

‘फेरि पनि म एउटा साहसिक यात्रामा निस्किने निधो गरें। तर यसपाली अलि फरक थियो, म आफ्नो फरक प्रेमी अनि उसका कुकुरहरूसँग यात्रामा जाँदै थिएँ’ लिस्बेट भन्छिन्।

यात्राका अवरोधहरू

अर्को वर्ष उनीहरू मध्य अमेरिका हुँदै पानामा पुगे। त्यसपछि टेक्सासमा केही दिन बिताए। यो विल्कुलै ‘हनिमुन’को समय थियो।

सँगै हुनुको मजा अनि यात्राको आनन्दसँगै उनीहरूले यात्रामा थुप्रै कठिनाइहरूको सामना पनि गरिरहे।

कति कतिबेला लिस्बेटलाई लाग्थ्यो, मार्क मबाट टाढा हुँदैछ कि।

उनीहरू टेक्सास पुगेका थिए। जहाँ उनीहरूले लिस्बेटका पूर्वप्रेमी कार्लको घरमा बस्ने योजना बनाए। लिस्बेटसँग उनको प्रेम टुटेको एक वर्ष भइसकेको थियो र कार्ल पनि नयाँ प्रेमिकासँग रमाइरहेका थिए।

मार्क त्यहाँ जान मानेनन्। बरू उनी आफ्नै भ्यानमा सुते। अनि लिस्बेट चाहिँ कार्लको छुट्टै बेडरुममा सुतिन्।

‘त्यो निकै विडम्बनापूर्ण समय थियो’ लिस्बेट भन्छिन्।

परिस्थितिहरू अलि असहज हुन थाले। लिस्बेटका मनमा मार्कप्रति केही नमीठा भावनाहरू सल्बलाइरहेका थिए। एकदिन त लिस्बेटलाई केही नभनी मार्क कतै निस्किए। केही दिनसम्म उनी सम्पर्कमै आएनन्। तीन दिनपछि एकदिन अचानक लिस्बेटलाई मार्कको फोन आयो।

अनि मार्कले भने ‘मलाई पश्चाताप छ। तिमीलाई केही भनिनँ। तर म चाहन्छु कि फेरि हामी त्यही यात्रा सुरु गरौं। सँगसँगै।’

जीवनमा यति चाँडचाँडै परिवर्तनहरू आइरहेका थिए। मार्क आफैं पनि अलमल र हतासमा हुन्थ्यो। कसैसँग पनि २४ घण्टा बिताउन उसलाई मुस्किल भएकोजस्तै हुन्थ्यो। सायद कसैको ‘ब्रेकअप’प्रति  उसलाई पश्चाताप थियो कि!
तर फेरि मार्क र लिस्बेट सँगसँगै भए।

‘जब हामी सँगै फर्कियौं, हामीले हाम्रो सम्बन्धमा के सुधार गर्न सक्छौं भन्नेबारे लामो कुराकानी गरेका थियौं’ मार्क भन्छन् ‘वास्तवमा यो सम्बन्ध प्रेमपूर्ण होस् र राम्रो होस् भन्ने हामी दुवैको सोचाइ र आवश्यकता पनि थियो।’

लिस्बेट र मार्क त्यसपछि सँगै यात्रामा निस्किए। यसपाली उनीहरूले अलि सुविधासम्पन्न डुङ्गा किन्ने योजना पनि बनाएका थिए। जहाँ सामुद्रिक फोबिया भएकी लिस्बेट र उनीहरूका कुकुरलाई पनि थप सुविधा होस्।

डुङ्गाको त्यो यात्रा निकै भयानक थियो। तर, साहसिक यात्राका लागि निस्केका उनीहरूले त्यसलाई सामना गर्ने निधो गरिसकेका थिए।

डोमिनिकल रिपब्लिक अनि पानामा नहर अनि ग्यालापागोस टापुहरूमा उनीहरूले लामो समय डुङ्गा खियाउँदै यात्रा गरे।

यात्राकै दौरान सन् २००७ मा लिस्बेट र मार्कले कानुनी रुपमा औपचारिक विवाह गरे।

विवाहको त्यो पहिलो उत्सवमा उनीहरूका एकजोडी साथी थिए। त्यो विवाहका साक्षी उनीहरू नै भए। तीन वर्षपछि बल्ल उनीहरूले सेन्ट पिटर्सबर्गमा आफ्ना सबै प्रिय आफन्तहरूलाई निम्तो गरेर ठुलै भोज गरे।

झन् कठिन पल

२०१४ मा एक दिन जब मार्क क्याटामरनमा एक्लै थिए उनले आफ्नो दाहिने स्तनको ठिक माथि आफ्नो छातीमा केही गाँठागुँठी भएकाे अनुभव गरे।

त्यो साताको सुरुवातमा मार्क कतै चिप्लेर लडेका थिए र दाहिने छाती बेस्सरी ठोक्किएको थियो।

यो गाँठोले मार्कको दिमागमा खतराको घण्टी बज्न थाल्यो। ठिक एक वर्षअघि, उनकी बहिनीको पाठेघरको क्यान्सरबाट मृत्यु भएको थियो।

‘के यो पनि क्यान्सर हो ?’ मार्कले सोचिरहेका थिए, ‘के पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ र ?’

लिस्बेटलाई मार्कले त्यसबारे केही कुरा मात्रै भने। आफ्नो छाती सामान्यरूपमा दुखिरहेको मात्रै बताए। तर, महिना दिनसम्म पनि ती गाँठागुँठी हराइरहेका थिएनन्।

र, एक दिन एउटा अस्पतालको रिपोर्टले मार्कलाई स्तन क्यान्सर भएको पुष्टि गरिदियो।

‘त्यो बेला कस्तो भएको थियो होला ?’ मार्क सम्झिन्छन् ‘सायद जो कोही पनि क्यान्सर छ भन्नेबित्तिकै आफ्ना सारा संसार टुक्राटुक्रा भएको कल्पना गर्छन्’ अनि लिस्बेट भन्छिन् ‘सुरुमा त त्यो विश्वास गर्न निकै गाह्रो थियो।’

पुरुषहरूमा बिरलै देखिने त्यो स्तन क्यान्सर निदानका लागि फेरि लिस्बेट र मार्क जीवनमा संघर्षको अर्को यात्रा सुरु भयो।

‘त्यो बेला मेरा मनमा अनेकखालका भावना र बिचारहरू सल्बलाइरहन्थे’  मार्क भन्छन्।

मार्क थप उपचारका लागि अमेरिका फर्किए।

एक वर्षअघिमात्रै त्यही क्यान्सरका कारण उनले बहिनी गुमाएका थिए र उनका मनमा पनि नानाथरि कुराहरू खेलिरहेका थिए। उनले आफ्ना प्रिय आफन्तहरूलाई धेरै सम्झिए।

उपचार गर्दै जाँदा एक दिन चिकित्सकहरूले उनको त्यो क्यान्सर ‘खतरामुक्त’ भएको घोषणा गरिदिए।

‘एकाएक डर र चिन्ताहरू हराउन थालेका थिए’ मार्क र लिस्बेट भन्छन् ‘तर त्यो भयानक परिस्थितिले जिन्दगीभरि सताइरहने छ।’

उपचार सकिएपछि अब के गर्ने ? भन्ने पूर्वयोजना केही थिएन।

फेरि उनीहरू अर्को साहसिक यात्राको सुरुवात गर्न चाहन्थे।

सडक यात्रा

यसपाली उनीहरू त्यो पानीको यात्रा छोडेर जमिन यात्रामा आए। फेरि डुङ्गा बेचेर अब क्याम्पर भ्यान किने र संसारयात्रामा निस्किए।

पहिलो पटक भेटेको लगभग २० वर्ष बितिसकेको छ। तर, मार्क र लिस्बेट अहिले पनि संसार यात्रामै छन्। उनीहरूले आफ्नो यात्रालाई लिपिबद्ध गरिरहेका छन्। ब्लगहरूमा अनि अरू थुप्रै जर्नलहरूमा उनीहरूको त्यो यात्रा प्रकाशित र प्रशारित हुन्छ।

दशकौंदेखि यो जोडी सँगसँगै एउटा साहसिक संसार यात्रामा छ। प्रेम, बिछोड अनि मिलनका प्रेमील अनि केही अमिला पलहरू उनीहरूले धेरै भोगेका छन्।

रोग, भोक र शोकलाई पनि जितेका छन्। यस्तो लाग्छ, यो जोडीले सायद मान्छेका सामान्य र स्वभाविक आदत र स्वभावहरूलाई पनि जितेको छ।

यो एउटा यस्तो जोडी हो, जसले यात्राका हरेक अप्ठ्यारा पलहरूलाई सँग-सँगै सामना गरेका छन् र संघर्षका हरेक पाटाहरू साझेदारी गरेका छन्।

संसार घुमेका रमाइला अनि अविष्मरणीय ठाँउहरू उनीहरूले मनमै राखेका छन्। कतिलाई लिपीमा उतारेका छन्। कति दस्तावेजमा छन्। सायद जीवनका अन्तिम पलहरूमा उनीहरूले स्मरणका ती पानाहरू पल्टाउँदै फेरि रमाइलो पल बिताउनेछन्।

‘जिन्दगीलाई परिवर्तन गर्नका लागि कतिपय भावनाहरूले नै हो। जो हामीलाई भयो। मलाई लाग्छ कि हाम्रो जिन्दगीमा आएका त्यस्ता धेरै उतार चढावहरूले हामीलाई झन नजिक बनायो’ लिस्बेट भन्छिन् ‘अब लाग्छ जीवनमा आइपर्ने जस्तोसुकै अप्ठ्यारा परिस्थितिहरूलाई पनि हाम्रो यो जोडीले सजिलै पार लगाउन सक्छ। हामी अब हरेक स्थितिलाई सम्हाल्न सक्छौं।’

सँग-सँगै बितेका यी २० औँ वर्षमा लेखिएका जीवनयात्राका पानाहरू फर्काइहेर्दा आज मार्कलाई खुसी, आनन्द र सन्तुष्टिमात्रै महसुस गर्छ। जहाँ उनले लिस्बेटको प्रेम र संघर्षपूर्ण साथ पाए।

‘सायद यो समान्य जीवन बिताइरहेकाहरूका लागि कल्पनाभन्दा निकै बाहिरको कुरा हो’ लिस्बेट भन्छन् ‘जीवना यी २०औँ वर्षहरू हामीले पूरै साहसिक यात्रामा बिताएका छौं।’

मार्कसँग बिताएका जीवनका यी पलहरूमा लिस्बेटलाई कहिल्यै पछुतो लागेन। कार्ललाई छोड्दा दुखेको मन त्यसपछि मार्कसँगको प्रेमील यात्रामा कहिल्यै दुखेन। कहिल्यै कुनै पछुतो भएन।

‘जीवन भोगाइका कतिपय कठिनाइ अनि संघर्षहरूको सामना गर्न सक्ने हो भने हामी ती कुराबारेमा पछुताउनु हुँदैन’ लिस्बेट भन्छिन् ‘हामीले ती कुरालाई अपनाएरै जिन्दगीलाई खुसीसाथ बिताउनसक्छौं।’

– सिएनएन ट्राभलको सहयोगमा

– प्रस्तुती: सुरेन्द्र राना ‘घुमफिरे’

प्रकाशित मिति: : 2023-08-05 21:20:00

प्रतिकृया दिनुहोस्