गैरआवासीय नेपाली अभियान र नागरिकता कार्यविधि

गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक ऐन बनेको लामो समय बितिसके पनि अझै यो कार्यान्वयनमा आउन सकेको छैन। अहिले सरकार आवश्यक कार्यविधि तथा नियमावली बनाइरहेको बताइरहेको छ भने गैरआवासीय नेपालीहरू यसको यथाशीघ्र कार्यान्वयनको प्रतिक्षामा छन्।

नेपालको संविधान २०७२ मा व्यवस्था भएको यो संवैधानिक प्रावधानले ऐन बन्न आठ वर्ष लाग्यो। यसका लागि अनेकौ प्रयत्न र प्रपञ्च भए। लामो राजनीतिपछि बल्ल–बल्ल ऐन त बन्यो तर कार्यविधि र नियमावली बनेर कार्यान्वयनमा आउन अझ कति समय लाग्ने हो यसै भन्न सकिने अवस्था छैन।

यसै पनि नेपाल रात रहे अग्राख पलाउने देशका रूमा बदनाम छ। यही क्रममा कार्यविधि र नियमावलीमाथि पनि राजनीति नहोला भन्न सकिन्न। अहिले पनि गैरआवासीय नेपाली नागरिकतालाई लिएर गैरआवासीय नेपाली नागरिकहरूमा तीन किसिमको कित्ताकाट पाइन्छ।

पहिलोथरि, गैरआवासीय नेपाली नागरिकताको समर्थन गर्छन्
दोस्रोथरि, वंशजको नागरिकताकै निरन्तरता चाहन्छन्
तेस्रोथरि, गैरआवासीय नेपाली नागरिकताकै पनि औचित्य देख्दैनन्

पहिलोथरिको कुरा गर्दा, बहुमत संख्यामा रहेका उनीहरू अहिले प्राप्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताकै पक्षधर छन्। बर्तमान नेपालको संविधान २०७२ मा यही प्रावधानको व्यवस्था भएकाले अहिलेका लागि यसको विकल्प नभएको उनीहरू ठान्छन्। उनीहरू यही किसिमको गैरआवासीय नेपाली नागरिकता नै दीर्घकालसम्मका लागि व्यवहारिक हुने धारणा राख्छन्। पुस्ता बित्दै जाँदा यो नागरिकताको खासै अर्थ र उपादेयता नहुनेमा पनि उनीहरू ढुक्क छन्।

दोस्रोथरिको कुरा गर्दा, केही संख्यामा रहेका उनीहरू अहिले प्राप्त गैरआवासीय नेपाली नागरिकतालाई औचित्यहीन ठान्छन् र वंशजको नागरिकताकै निरन्तरता चाहन्छन्। उनीहरू ‘पैसा चल्ने भोट नचल्ने’ भन्दै राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता नै हुनुपर्ने धारणा राख्छन्। झट्ट सुन्दा लोकप्रिय देखिने यो भनाइ लोकरिझ्याइँका हिसाबले बिकाउ छ। र, अहिलेको गैरआवासीय नेपाली संघ (एनआरएन) मा राजनीति गर्नेहरूका लागि यो नै बिकाउ नारा पनि भएको छ। एनआरएनको चुनावमा उम्मेद्वार हुनेले यो कित्ताभन्दा अर्को कित्तामा रहेर चुनाव नै जित्न नसक्ने अवस्था छ। यही बाध्यताका कारण यो अव्यवहारिक कित्तामा अझै पनि थुप्रै मानिस अल्झिएका छन्।

तेस्रोथरिको कुरा गर्दा, यो कित्तामा नयाँ पुस्ताका खासगरी नेपालको सहरी इलाकामा जन्मिएका र अंग्रेजी माध्यममा बोर्डिङको शिक्षादीक्षा पाएका छन्। राजनीतिक सचेतना नै नरहेको यो तप्कालाई गैरआवासीय नेपाली हुनु वा हुनुसँग नै कुनै मतलव छैन। त्यसैले उनीहरू यस विषयमा कुनै धारणा राख्दैनन्। उनीहरूका बाबुआमाले बोकेको धारणामा खासै सहमत नभए पनि असहमत पाइदैनन्।

विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीलाई पलायनवादी भनेर छोइछिटो गर्ने सोच र नेपाली बिजन भएकै आधारमा बंशजको आधारमै दोहोरो नागरिकता कायम हुनुपर्छ भने लिढेंढिपी दुबै अतिवादी सोच हुन्। यस्तौ सोचले अन्तत: घरदेश र परदेशमा रहेका नेपालीबीचको दूरी बढाएर अन्तत: भाइचारामै संकट निम्त्याउँछ।

यो कित्ताकाट चाँहि मूलत राजनीतिक विषयसँग जोडिएको छ तर जब आर्थिक कुरा आउँछ त्यस कोणबाट भने दुई किसिमको कित्ताकाट पाइन्छ।
पहिलोथरि, नेपालमा जग्गा–जमिन र बैंकमा मौज्दात भएकाहरू
दोस्रोथरि, नेपालमा जग्गा–जमिन र बैंकमा मौज्दात नभएकाहरू

पहिलोथरिको कुरा गर्दा, नेपालमा जग्गा–जमिन र बैंकमा मौज्दात भएकालाई अहिले भएकै गैरआवासीय नेपाली नागरिकता ठीकै लाग्छ। उनीहरू यही प्रावधानअनुसार आफ्नो अर्थतन्त्रको मेसो मिलाउन चाहन्छन्। उनीहरूको स्वार्थ तत्कालका लागि कार्यविधि र नियमावाली आफ्नो आर्थिक चाँजो सहजै मिल्नसक्ने किसिमले आवोस् भन्ने नै छ।

यो कित्ता ठूलो छ र यस कित्ताका धेरै मानिसहरू अहिले नेपालमा रहेको आफ्नो सम्पतिको असुरक्षाले पिरोलिएका छन्। अहिले व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता छिटो लागु होस् भन्ने पनि यही कित्ताका मानिस हुन्।

दोस्रोथरिको कुरा गर्दा, उनीहरूको नेपालमा जग्गाजमीन र बैङ्क मौज्दात खासै छैन भए पनि गाउँमा नाम मात्रको जग्गाजमीन छ। यस्ता मानिसलाई अहिलेको गैरआवासीय नेपाली नागरिकताको कुनै अर्थ छैन। यो कित्ताका मानिसको राजनीतिसँग वा गैरआवासीय नेपाली संघको चुनावी जोडघटाउसँग सम्बन्ध छ भने उनीहरू वंशजको नागरिकताको निरन्तरताको पक्षमा चर्को आवाज निकालिरहेका हुन्छन्। तर, नेपालको आन्तरिक तथा गैरआवासीय नेपाली संघको चुनावी राजनीतिसँग कुनै साइनो नभएकालाई भने गैरआवासीय नेपाली नागरिकता हुनु वा नहुनुले खासै अर्थ राखेको देखिदैन।

यस अतिरिक्त कित्ताकाटको तेस्रो आयाम पनि पाइन्छ। यो आयाम विशुद्ध भावना अझ सामाजिक प्रतिष्ठासँग जोडिएको छ। त्यो के भने अझै पनि विदेशी राहदानीमा नेपालको भिसा लगाएर नेपाल जानु सामाजिक प्रतिष्ठाको विषय बन्न सकेको छैन। त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा विदेशीको लाइनमा लागेर नेपाल भित्रिने नेपाली अनुहारमा खासै चमक देखिदैन।

एक किसिमले पाइन झरेका जस्ता देखिने ती अनुहारहरू अध्यागमन कक्ष पार हुने बित्तिकै विदेशी राहदानी लुकाएर पुरानै नेपाली नागरिकताले काम चलाउन थाल्छन्। यो क्रम नेपाल रहुञ्जेल अर्थात् फेरि विदेशी नागरिक भएको देश फर्कने क्रममा विमानस्थलको प्रस्थान कक्ष नपुग्दासम्म जारी रहन्छ। यसको एउटा पक्ष भावनासँग जोडिएको छ भने अर्को पक्ष आर्थिक पनि छ।

यो कित्ताकाटसँगै जोडिएको अर्को पाटो पनि छ। त्यो के भने विदेशी राहदानीमा नेपाल जाँदा भिसा दस्तुर तिर्नुपर्ने हुन्छ। आफ्नै जन्मभूमीमा जाँदा पैसा तिर्नुपर्ने कुराले उनीहरूको मन अमिलो हुन्छ। यसरी अमिलो बनाउनेहरू एकाथरि विशुद्ध पैसाका कारण त्यसो गरिरहेका हुन्छन् भने अर्कोथरि भावनासँग जोडिएर मन दुखाइरहेका हुन्छन्।

यी सबै पात्रसँग मात्र हैन, प्रवृत्तिसँग जोडिएका कित्ताकाटका विविध आयाम हुन्। विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीहरू जो जहाँ भेटिन्छन्, यी पक्षमा बसिबियालो गरिरहेकै भेटिन्छन्।

सरकारले गैरआवासीय नेपाली नागरिकताका लागि कार्यविधि र नियमावाली बनाउन समय लगाइरहेकै बेला गैरआवासीय नेपालीको छाता संस्था गैरआवासीय नेपाली संघ भने आगामी दशैताका काठमाडौंमा हुने संघको ११औं महाधिवेशनको चुनावी जोडघटाउमा लागेको छ।

संघले आधिकारिक रूपमा गैरआवासीय नेपाली नागरिकताको स्वागत गरे पनि वर्तमान केन्द्रीय नेतृत्वमा रहेका कसैले पनि त्यसको पूरै स्वामित्व लिइरहेका छैनन्। उनीहरूलाई थाहा छ, अहिलेको संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकताको विकल्प छैन। तर, यसको पक्षमा उभियो भने संघमा अलोकप्रिय भएर आउने चुनाव जितिदैन।

‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रका साथ स्थापना भएको गैरआवासीय नेपाली संघले आफ्ना विदेशी नागरिकता लिइसकेका सदस्यका लागि गर्न सक्ने अधिकतम कुरा नै गैरआवासीय नेपाली नागरिकता हो।

२०७२ को संविधानमा ठूलो मेहनत र बहस पैरवी गरेर नै यो प्रावधान राख्न सम्भव भएको थियो। गैरआवासीय नेपाली नागरिकता पनि नेपालको संविधानमै व्यवस्था भएको एक प्रकारको नेपाली नागरिकता नै भएकाले यो लिनेहरू स्वतः एकपटकको नेपाली सधैँको नेपाली हुन्छन्। यो यथार्थ हो र यही भाष्य निर्माण गरेर अगाडि बढ्नु नै गैरआवासीय नेपाली संघका लागि हितकर देखिन्छ।

यो सेकेण्ड ओपनियन पनि पढ्ने कि ? 
गैरआवासीय नागरिकता: कागजको कि भावनाको ?

तर, दुर्भाग्य त्यसो हुन सकेको छैन। यसपटकको महाधिवेशनको क्रममा विभिन्न देशमा भएका गैरआवासीय नेपाली संघको चुनावमा पनि यो भाष्य निर्माण गर्नतिर कोही लागेन। किनकि, यो भाष्यले उनीहरूको चुनावी डुंगा पार लाग्ने थिएन। अहिले पनि गैरआवासीय नेपाली संघमा दोहोरो नागरिकताको प्राप्ति नै एकपटकको नेपाली सँधैको नेपाली भन्ने सनातनी भाष्यले नै काम गरिरहेको छ। यो लिकबाट मूल नेतृत्व अझै पनि बाहिर निस्कन सकेको छैन। यसको मूल कारण संघलाई चुनावी परिणाममार्फत् आवधिक रूपमा राजनीतिक पार्टीको भातृसंगठनका रूपमा उभ्याउने प्रपञ्च नै हो। यसका लागि नेपालका मुख्य राजनीतिक दल जति दोषी छन्, त्योभन्दा बढी दोषी उनीहरूको हली हुन तयार गैरआवासीय नेपाली संघका अगुवाहरू हुन्।

गैरआवासीय नेपाली संघ विदेशमा रहेका नेपालीको सबैभन्दा ठूलो र साझा संस्था हुँदाहुँदै पनि यो गोलमाले संघ भएको छ। यसमा नेपाली नागरिकता मात्र भएका पनि छन्, विदेशी नागरिकता लिइसकेका पनि छन्। यी दुईबीच नेपाली मूल बाहेक बाँकि सबै कुरामा स्वार्थ बझान हुन्छ। दुई परस्पर विरोधी स्वार्थ र सोच बोकेका सदस्य भएको कुनै पनि संस्थाको गति न हाँस न बकुल्लाको जस्तै हुने हो। अहिले गैरआवासीय नेपाली संघको हालत पनि ठीक त्यस्तै भएको छ।

गैरआवासीय नेपाली संघ इतिहासमै सबैभन्दा प्रतिरक्षात्मक स्थितिमा पुगेको छ। यसको वर्तमान नेतृत्वमा गैरआवासीय नेपाली संघको प्रसव पीडा भोगेको बिरासतको निरन्तरता लगभग सकियो भन्दा पनि हुन्छ। अहिले जो नेतृत्वमा पुगेका छन्, उनीहरू बिशुद्ध राजनीतिक पार्टीको बैशाखी टेकेर उभ्याइएका बुख्याचा नै हुन्। उनीहरू आफूलाई उभ्याउने पार्टीको लाइनमै उही खाले भाषा बोल्ने हुन्, बोलिरहेकै छन्।

यसले गर्दा संघको विश्वसनियता पनि गुमेको छ, छविमा पनि नराम्ररी क्षय भएको छ। यो एक पदलोलुप पैसावाल झगडियाहरूको क्लबजस्तो भएको छ। यसले गर्दा नेपाली डायस्पोरामा रहेका १० प्रतिशत मानिस पनि यो संस्थामा जोडिन सकेका छैनन्। पुरानाहरू झगडा गरेर बसेकै छन् भने नयाँहरू आकर्षित हुन सकेका छैनन्। जो आकर्षित भएका भनिएका छन्, अपवादबाहेक उनीहरू पनि चुनावी उम्मेद्वारका सौजन्यमा बनाइएका खेताला मतदाता मात्र हुन्।

गैरआवासीय नेपाली नागरिकता पनि नेपालको संविधानमै व्यवस्था भएको एक प्रकारको नेपाली नागरिकता नै भएकाले यो लिनेहरू स्वतः एकपटकको नेपाली सधैँको नेपाली हुन्छन्। यो यथार्थ हो र यही भाष्य निर्माण गरेर अगाडि बढ्नु नै गैरआवासीय नेपाली संघका लागि हितकर देखिन्छ।

अहिलेको अवस्था खासगरी नेपालमा जग्गा–जमिन र जायजेथा भएका गैरआवासीय नेपालीका लागि चुनौतीपूर्ण बन्दै जाँदा चासो र चिन्ताको विषय भएको छ। तर, उनीहरूका लागि बोलिदिने कोही छैन। एकातिर सरकार पश्चगामी कार्यविधि र विनियमावली बनाएर उनीहरुको सम्पत्तिको अधिकार र निर्वाध भोगचलनलाई अंकुश लगाउन चाहिरहेजस्तो देखिन्छ भने अर्कोतिर दोहोरो नागरिकताको पपुलिष्ट चुनावी नारामा गैरआवासीय नेपाली संघको आगामी नेतृत्व हत्याउने दाउमा रहेको नेतृत्व यस्तो संगीन अवस्थामा पनि मौनता साँधिरहेको छ। गैरआवासीय नेपाली नागरिकतातिर ध्यान दिदा आफू दोहोरो नागरिकता विरोधी देखिने भएकाले चुनाव नजितिने आँकलनमा उसको मुखमा बुझो लागिरहेको हो। यो सत्य बुझ्न कुनै आइतबार पर्खनु पर्दैन।

वास्तवमा बसुधैव कुटुम्बकमःमा विश्वास गर्ने हामी नेपालीका लागि संसार नै एउटा परिवार हो। संसारभर छरिएर रहेका नेपालीले नेपाललाई खुम्च्याइरहेका छैनन्, बिस्तारित गरेर संसारलाई नै आफ्नो परिवार बनाइरहेका छन्। यो सत्यलाई ध्यानमा राखेर नेपाल सरकारले पनि उनीहरूलाई भावनात्मक रूपमा जोडिराख्न प्रयत्न गर्नुपर्छ भने विदेशी नागरिकता लिइसकेका नेपालीले पनि म नै नेपाललाई रैथाने माया गर्ने नेपाली हुँ, त्यसैले मलाई दोहोरो नागरिकता हुनुपर्छ भन्ने लिढेंढिपी गर्नु हुदैन। यो लिढेंढिपीले घरदेश र परदेशमा रहेका नेपालीबीचको दूरी बढाएर अन्ततः भाइचारामै संकट ल्याउँने हो।

अहिलेका लागि भने सम्बन्धित सबै पक्षले यो विषयको संवेदनशीलता बुझेर संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयनमा जानु नै श्रेयस्कर हुनछ। त्यसका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघले दुबै पक्षका संवेदनशीलता बुझेर दुबैको जीत हुने गरी समयसापेक्ष कार्यविधि र नियमावाली बनाएर कार्यान्वयनमा ल्याउनु नै वुद्धिमता हुने छ। अन्यथा, यो मुद्दा दुबै पक्षलाई घाइते बनाएर चहराइरहने एक किसिमको घाउ मात्र हुने छ।

प्रकाशित मिति: : 2023-08-03 21:00:00

प्रतिकृया दिनुहोस्