रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनबीच बुधबार भएको टेलिफोन वार्तामा मस्कोले आफ्नो हित सुरक्षित भएमा युक्रेनसँगको ‘ब्ल्याक सी’ खाद्यान्न सम्झौतामा फर्कने बताएका छन्।
दुई नेताले ‘ब्ल्याक सी’ बन्दरगाहबाट युक्रेनी खाद्यान्नको निर्यात र रूसी खाद्य र मलको निर्यात सुविधाको उद्देश्यका लागि गरिएको सम्झौता भएदेखि सम्झौता अन्त्य हुँदासम्मका बिषयमा छलफल गरेका थिए।
क्रेमलिनका अनुसार दुई नेताबीच भएको भर्चुअल वार्तामा पुटिनले एर्दोगानलाई खाद्यान्न सम्झौताको रूसी भागको कार्यान्वयन बिना सम्झौताको विस्तार अर्थहीन रहेको बताएका थिए।
सम्झौतामा उल्लेखित ‘पश्चिमा मुलुकले आफ्ना सबै दायित्व पूरा गर्नेबित्तिकै’ रूस सम्झौतामा फर्कने रूसी नेता पुटिनले बताए। दुवै नेताले रूसी खाद्यान्न आवश्यक परेका देशहरूमा आपूर्ति गर्न सकिने वैकल्पिक तरिकाहरूबारे पनि छलफल गरेका थिए।
दुवै पक्ष दुई नेताको सम्भावित आगामी बैठकको तयारीसहित विभिन्न तहमा सम्पर्कलाई निरन्तरता दिन सहमत भएका छन्।