पानी नपर्दा धानको बीउ बुढियो

पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने धानको बीउ बुढिन थालेको छ। 

नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन्। सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन्।

विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित बन्न थालेका छन्। अहिले भरतपुर महानगरपालिकामा ६० प्रतिशत मात्रै रोपाइँ भएको छ।

कृषि ज्ञानकेन्द्र चितवनको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ। सबैभन्दा कम भरतपुर महानगरपालिकामा भएको कार्यालयकी कृषि अधिकृत सुरुचि त्रिपाठीले जानकारी दिए।

उनले भने, “सिँचाइको अभावका कारण बीउ बुढियो भन्दै दैनिक दुई तीन जना किसान कार्यालय आउने गर्नुभएको छ।”

सिँचाइका लागि बोरिङको माग गर्दै किसानहरू कार्यालय आएको उनले जानकारी दिए। भरतपुर महानगरपालिका–४, ५, १४, १५, १९, २० र २२ मा अहिलेसम्म पनि रोपाइँ हुनसकेको छैन। समयमा रोपाइँ नहुँदा उत्पादनमा कमी आउने उनको भनाइ छ।
 
कार्यालयको तथ्याङ्कअनुसार खैरहनी र राप्ती नगरपालिकामा शतप्रतिशत, रत्ननगर नगरपालिकामा ८५ प्रतिशत, कालिका नगरपालिकामा ८० प्रतिशत र माडी नगरपालिकामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

भरतपुर महानगरपालिकाभित्र नारायणी लिफ्टबाट सिँचाइ हुने क्षेत्रमा रोपाइँ ढिला भएको हो। नारायणी लिफ्टले पानी समयमा नछोड्दा रोपाइँ हुनसकेको छैन।

नहरमा पर्याप्त मात्रामा पानी नछोड्दा सिँचाइको अभावले रोपाइँ ढिलाइ भएको भरतपुर–१४ का किसान सपना विकले बताए। करिब दुई बिघा क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि सिँचाइको अभावले बीउ बुढिएको उनले गुनासो गरे। 

प्रकाशित मिति: : 2023-07-31 20:23:00

प्रतिकृया दिनुहोस्