माघ महिनाको पहिलो हप्ता थियो। चिसो मौसमसँगै तराईको बाक्लो हुस्सुलाई छिचोल्दै म आफ्नो कार्यक्षेत्र रोल्पा यात्रामा हिँडेकी थिएँ। यात्राको क्रममा बुटवल, भालुवाङ-प्यूठान हुँदै रोल्पा सदरमुकाम लिवाङ आइपुग्नै लाग्दा झमक्कै साँझ परिसकेको थियो।
जिल्ला अस्पताल सदरमुकामदेखि ५ किलोमिटर टाढा रहेछ। सायद अलि बढी थकान भएर पनि होला त्यो दिन खाना खाएर सुतेँ, खासै केही हेर्न-देख्न पाइएन। अर्को दिन बिहान तातो घामसँगै मेरो निन्द्रा पनि खुल्यो। बाहिर हेर्दा चारैतिर अग्ला पहाड हरियाली जंगल, खोला नै खोलाहरू अनि अस्पतालको नजिकै ४-५ वटा पसल देखिए।
प्रकृतीका ती आभाहरूले लोभिएको मेरो मन भने अलि कस्तो कस्तो भइरहेको थियो। डेन्टल सर्जनको रुपमा म आफ्नो जिम्मेवारी रहेको विभागतिर लागेँ र बिरामीका अनेकौँ समस्याको जाँच गर्न थालेँ।
यसरी दिन, हप्ता, महिना बित्दै जान थाले। तराईको हावापानीमा हुर्केको, तराईमै पढेलेखेको भएर होला तत्काल यहाँको हावापानीसँग आदत बसाल्न निकै गाह्रो भयो। रेउघा अलि दुर्गमजस्तो लाग्थ्यो।
आफूलाई चाहिने र खान मन लागेका चिजहरू सजिलैसँग नपाइने, त्यसको लागि सदरमुकाम लिवाङ आउनुपर्ने रहेछ। पछिपछि रोल्पाको हरेक ठाउँमा कामको सिलसिलामा अनि थोरै फुर्सद मिलेको बेला हेर्ने-देख्ने, घुम्ने अवसर मिल्दै गयो। प्राय:सबै ठाउँमा पुगेँ। ग्रामीण भेगतिरको अवलोकन गर्दा गाउँको जीवनशैलीलाई नियाल्दा त म बसेको रेउघा सहरजस्तै पो लाग्न थाल्यो। कैयौँ समय हिँडेर दुर्गम गाउँ-ठाउँबाट आकस्मिक अवस्थामा बिरामीहरूले सवारी साधनको अभावमा निकै कठिन समस्याहरू झेल्नुपर्ने अवस्था रहेछ।
जब म त्यहाँबाट आफ्नो कार्यालय फर्किएँ, बिरामी जाँच्दै गर्दा ठाउँका नामहरू बिरामीहरुले भन्न सुरु गर्थे, म झस्किन्थेँ। र, मेरो मनमा लाग्थ्यो- अलिकति पनि ढिला नगरी म कति छिटो उनीहरूलाई जाँच गरेर पठाउनसक्छु भन्ने कुराले सताइरहन्थ्यो। अर्को दिन गर्नुपर्ने काम पनि त्यही दिन गरिदिनुपर्ने बाध्यता थियो। किनकि एकैदिन उनीहरूका लागि निकै खर्चिलो हुनसक्थ्यो। सबको अवस्था कतै होटलमा रात बिताउनसक्ने थिएन।
बाध्यताहरू धेरै थिए। कार्यालय समय १०-५ भएपनि कहिलेकाहीँ ६/७ बजेसम्म खटिनुपर्थ्यो।
दाँत आफैँमा शरीरको संवेदनशील अंग हो। कतिले त मलाई सिधै सोधिदिन्थे- तिमीले हाम्रो दाँत निकालिदिन सक्छौ र? सायद डाक्टर महिला भएर पो हो कि!
अनेकौँ समस्याहरू झेल्दै मैले मेरो काम गरिरहेँ। विस्तारै बिरामीको मन जित्दै गएँ। बिरामीहरू पनि बढ्न थाले, दिनमै २५ जनासम्म बिरामीको उपचार भ्याउनुपर्थ्यो।
आफ्नै भेषभुषामा सजिएर आउने आमाबुवाहरू देख्दा म धेरैपटक ‘नोस्टाल्जिक’ भएको छु। लाग्थ्यो, स्कुलको ड्रेस लगाएर हिँडिरहेका विद्यार्थीजस्तै। त्यस्तो देख्दा धेरैपटक मैले आफ्नो विद्यार्थी जीवन सम्झेको छु।
साँच्चिकै मलाई यहाँको जातीय विशेषता, रीतिरिवाज, रहनसहन, भेषभुषा र धार्मिक संस्कारले निकै रमाइलो आभाष गराइरहेको थियो।
हरिया जंगल, वरिपरि अग्ला पहाड, झरना अनि उसैगरी बग्ने खहरे र खोलाहरू। मौसमअनुसार स्वच्छ, सुन्दर चिसो हावापानी अनि बाह्रै महिना बस्न सकिने आनन्दको त्यही मौसम निकै रमाइलो लाग्न थाल्यो।
दूरदराजमा रहेका गाउँगाउँ जान थालेँ। स्कुलहरूमा स्वास्थ्यसम्बन्धी जनचेतनामुलक विषयवस्तुहरूको बारेमा उनीहरूसँग अन्तर्क्रिया गर्न थालेँ। त्यहाँ स्थानीयहरूबाट निकै सहयोग पाएँ। साँच्चिकै पेशाकै कारण आफूलाई निस्वार्थ सेवा गर्न पाउँदा आफैँलाई सन्तुष्टि पनि भयो।
स्थानीय स्तरमा दु:ख गरेर उत्पादन गरेका चिजवस्तुहरु सिमी, टिम्मुर, मेथी, तरकारीहरु सदरमुकामसम्म ल्याएर बिक्री गरी कमाएको पैसाले आफ्नो उपचार गरेर घर फर्किने बिरामाहरु अहिले पनि मेरो यादमा झलझली आइरहनुहुन्छ।
वास्तविक नेपाल र नेपालीपन यही हो कि जस्तो लाग्थ्यो!
मैले सबै रोल्पालीबाट निकै अविस्मरणीय माया पाएको छु।
घरमै भएको दुध, दही, कुखुराहरू अनि सिजनअनुसारका फलफूल लिएर आउने बिरामी र आफन्तहरू सधै सम्झनामा आउनुहुन्छ। सायद कहिल्यै भुल्न सक्दिनँ होला।
दाँतका धेरै बिरामी भेटेँ। जाँचे र उपचार गरेँ। धेरैमा चेतनाको कमी देखेँ। किराले खाएर कटकटी दाँत दुख्दा पनि धामी-झाक्री लाएर बस्नेहरू त्यो बढेर जटिल हुँदामात्रै अस्पताल आउँथे।
यसरी नै रोल्पाली भूमिमा मेरा करिब २ वर्ष ६ महिना बितिसकेछन्। फर्किनेबेला पो लाग्यो, समय बित्न बेरै नलाग्ने। पत्तै थिएन, रोल्पामा मेरा दिनहरू कति सजिलैसँग, कति मिठा सम्झना बनेर कति चाँडै बिते।
लाग्छ, सायद कहिल्यै बिर्सनेछैन रोल्पालाई!
(डेन्टल सर्जन, डा. कुवँर हाल काठमाडौंमा कार्यरत छिन्।)