एनसिसी कतारमा लोकप्रिय मत पाएका केसी भन्छन्- सामाजिक कामका लागि थप जिम्मेवारी पाएँ

कतारका उदयीमान युवा व्यवसायी रमेश केसी गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको सदस्य पदमा निर्वाचित भएका छन्।

आफ्नो व्यापार र व्यवसायसँगै नेपाली समुदायका लागि सामाजिक सेवामा पनि खटिँदै आएका उनले एनआरएनए अभियानमा पहिलोपटक औपचारिक यात्रा थालेका हुन्।

तनहुँको दमौलीमा जन्मिएका केसी एक सामान्य श्रमिकका रूपमा कतार पुगेका थिए। त्यसपछि आफैँ व्यापार व्यवसायमा हात हालेर अहिले उनी कतारका उदयीमान युवा व्यवसायी बन्न पुगेका छन्।

२०१३ मा कतार पुगेर सामान्य श्रमिकमा रूपमा केही वर्ष काम गरेपछि उनले २०१९ देखि व्यवसाय थालेका हुन्। अहिले उनले ज्वेलरी, रेष्टुरेण्ट एण्ड क्लब, निर्माण तथा ट्रेडिङ्गजस्ता व्यवसायमा राम्रो सफलता हासिल गरिरहेका छन्।

‘यसअघिदेखिकै सामाजिक अभियानलाई यसपालि मैले केही औपचारिकतामात्रै दिएको हुँ। मेरो काम गर्ने मञ्चमात्रै फेरिएको हो, सामाजिक र मानवीय सेवामा म निरन्तर लागिरहनेछु’, आफू विजयी भएपछि केसीले भने, ‘एनआरएनएलाई युवामैत्री र सुशासित बनाउनका लागि मैले आफ्नो भूमिका निभाउनेछु र मध्यपूर्वलगायत जुनसुकै देशका प्रवासी नेपालीका लागि पनि आफूलाई समर्पित गर्नेछु।’

उनले आफूजस्ता श्रमिक तथा युवा व्यवसायीहरूसँग सामाजिक कार्यमा हातेमालो गर्दै अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।

बिहीबारदेखि सुरू भएको २०२३-२०२५ कार्यकालका लागि अनलाइन मतदानमा केसीले ४ हजार ९९० मत पाएर सदस्य पदमा विजयी भएका हुन्।

सदस्यहरूमध्ये सबैभन्दा लोकप्रिय मत केसीकै हो। १९ जना सदस्यका लागि ३६ जनाबीच प्रतिस्पर्धा भएको थियो।

प्रकाशित मिति: : 2023-07-29 10:57:00

प्रतिकृया दिनुहोस्