दमौलीबाट आङ साङ सुकीलाई सम्झिरहेकी पार्वती

हेमन्त विवश

काठमाडौं
BreaknLinks
BreaknLinks

दुई दिने जिन्दगी। दुई दिने चोला। अस्थायी जिन्दगीलगायत थुप्रै वाक्यहरू सुनिँदै आएका छन् जिन्दगीका बारेमा। यही छोटो र अस्थायी भनिने जिन्दगीले छोडिरहेको हुन्छ, कतै प्रेरणाका भकारीहरू त कतै साहस र संघर्षका कथाहरू।

उसो त हरेक मान्छेको जीवन आफैंमा एउटा कथा बनिदिन्छ। सबैसँग आ-आफ्नै अनुभवका ज्वालाहरू छन्। बेलाबखत झुल्किन्छ विगत, कहिले पीडाका चोइटा बनेर त कहिले सुखका धर्सा बनेर। अनि बाँच्न सिकाइरहन्छ जिन्दगीरुपी रंग देखाएर।

यहाँ संघर्षका कथा नभएको मान्छे नै छैन। तर, मार्मिक र प्रेरणदायी कथाहरू भने पुरुषको दाँजोमा महिलाहरूकै बढी सुन्नमा आउँछन्। महिलाहरूले जन्मघर छोडी पुग्नुपर्ने हुन्छ अर्कै कुनामा। अर्काको छोरालाई बनाउनुपर्ने हुन्छ आफ्नो मान्छे।

नयाँ गाउँ, नयाँ चलन, नयाँ संस्कार सबै आफ्नो बनाउँदै जिन्दगीको यात्रा तय गर्नु त्यति सजिलो कर्म कहाँ हुन्थ्यो र! त्यसैले त महिलाहरूका जिन्दगीका हरेक घुम्तीहरू बनिदिन्छन् संघर्षका कखरा। यस्तै संघर्षका कखरा चिन्दै यात्रारत एक जना आमा भेटिन्छिन्, मेरो यसपल्टको यात्राका क्रममा।

भन्न त सबैले भनिरहेकै हुन्छन्, आमा धर्ती हुन्। आमा समुन्द्र हुन्। आमा ममताकी खानी हुन् भनेर। तर, त्यति सजिलै कहाँ देखिन्छन् र धर्तीले सहनु परेका चोटहरू। समुन्द्रले छल्काएका दुखका छालहरू अनि ममताको खानीको गरिमा र गहिराइ।

केवल भन्नका लागि भनिदिए जस्ता मात्र देखिन्छन् कतिपय हाम्रा भनाइहरू। श्लोगनका रुपमा मात्र प्रयोगमा आइदिन्छन् कतिपय कहावतहरू। कहीँकतै मिथका रुपमा पनि देखापर्छन्, कतिपय आमाहरूका नाम। अनि कहीँकतै देखिन्छिन् वृद्धाश्रमकी पात्रका रुपमा समेत।

तनहुँकाे दमौलीस्थित भेटिएकी आमा थिइन्, पार्वती अधिकारी। ७९औं वसन्त व्यतीत गरिसकेकी ती आमाको बिहानको नित्यकर्मसँगै सुरु हुन्छ दिनचर्या। बिहानको खानपिनपश्चात एकछिन आराम गर्ने समय निस्किन्छ। अनि बेलुकीपख सत्संग गर्ने ठाउँमा पुग्छिन्। जहाँ एक घन्टाको प्रवचन सुनेर शान्त भैदिन्छ मनमस्तिष्क। ‘हाम्रा अधिकांश धर्म ग्रन्थहरू मानसिक औषधि हुन् बाबु। नैतिकता र स्वाभिमान सिकाउने गुरु पनि हुन्,’ भेटका क्रममा उनले सुनाइन्।

उनका हजुरबुवा नेपालबाट बर्मा पुगे। काका, बुवाहरू उतै जन्मिए। पार्वती पनि बर्मामै जन्मिइन्। ऐरावती नदी किनारको बसाइ। बस्तीबाट नजिकै थियो, एउटा सानो मन्दिर। बाल्यकालमा नजिकैको मन्दिरमा गएर पूजाका लागि फूल टिप्नेदेखि मन्दिरका भाँडाकुँडाहरू सफा गर्ने गर्थिन् उनी। त्यतै गुरुकुलमा सावा अक्षर चिन्दै गइन्।

काकाबुवाहरूको संयुक्त परिवार। करिब दुई सयको हाराहारीमा थिए गाईभैँसीहरू। ‘चारपाँच जना त गोठालाहरू नै थिए। बिहान नजिकैको काँसघारीमा छोडिदिन्थे गाईभैँसी। बेलुकीपख लिन जानुपर्थ्याे। नाइके पशुको घाँटीमा घाडो झुण्ड्याइएको हुन्थ्यो। उक्त नाइकेलाई अगाडि लगाउने बित्तिकै पछाडि पछाडि सबै आउँथे। त्यो समय गजबको थियो बाबु’, विगत सम्झिइन् उनले।

त्यतिबेला बर्मामा जग्गाजमिन किनबेच केही हुँदैन थियो। सरकारले नापी नै गरेको थिएन। मन परेको खाली जमिन ओगटेर बस्थे सबै। नेपाली मूलका मान्छेहरू पनि ठूलै संख्यामा थिए। पार्वती १४ वर्षकी हुँदा सोझो, इमानदार, काममा लगनशील ठानेर आमाबुवा गुमाएको टुहुरो केटोसँग परिवारका सदस्यहरूले उनको बिहे गरिदिए। दिनचर्या राम्रै बितिरहेको थियो। माइतीकै आडमा बसिरहेकी उनलाई केही कुराको कमी थिएन।

समयको अन्तरालसँगै दुई छोरी, दुई छोरा गरी चार सन्तानकी आमा पनि बनिन्। एकदिन नेपालबाट पार्वतीका कान्छा ससुराले पठाएको खबर प्राप्त भयो, ‘म मरेपछि पाउँदैनौँ। म छँदै यता आएर आफ्नो हिस्साको जमिन जिम्मा लेऊ।’ श्रीमानको पुर्ख्याैली थलो थियो, तनहुँको बन्दीपुरस्थित छाप भन्ने गाउँ। उनका श्रीमान खुमप्रसादले नेपाल फर्किने निधो गरे।

स-साना नानीबाबुहरू लिएर नेपालका लागि खुमप्रसाद र पार्वतीको यात्रा सुरु भयो। पानी जहाज भएर आउनुपर्थ्याे। ६ दिनमा भारतको मद्रास पुगे। त्यहाँबाट बिहारस्थित भारतीय शरणार्थी शिविरमा पुर्याइयो। उनका अनुसार त्यतिबेला भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन्। ६ महिनासम्म शरणार्थी शिविरबाट बाहिर आउन दिइएन। शिविरमा ६ परिवार मात्र नेपाली मूलका थिए। अरु सबै भारतीय। जहाँ महिनाको १० किलो आटा, १० किलो चामल, मरमसला, चिनी चियापत्ती पाइन्थ्यो।

६ महिनापछि पुरुषहरूलाई बाहिर निस्केर काम गर्न पाउने अनुमति दिइयो। विस्तारै नेपाल पुग्ने मार्ग पहिल्यार परिवारसहित नेपाल आइपुगे खुमप्रसाद। अब कहिल्यै बर्मा फर्किन्न भनेर बर्माको नागरिता समुद्रमा फालेर आएका खुमप्रसाद जब पुर्ख्यौली थलोमा पुगे, तब सुरु भए उनका दुखका दिनहरू।

पहाडको बस्ती। कुटो-कोदालोदेखि घाँसदाउरा सबै गर्नुपर्ने हुन्थ्यो। माइतीमा खाएको थालसम्म सफा नगरेकी पार्वतीका लागि त झन् आकाश खसेझैँ थियो। नानीबाबुको स्याहारसुसारसँगै खेतबारीदेखि वनपाखासम्मको यात्रा कठिन मात्र कहाँ महाकठिन नै थियो। आँसु नझरेको कुनै दिन थिएन उनका लागि। तथापि उनले हिम्मत हारिनन्।

विस्तार विस्तारै सबै काम सिक्दै गइन्। बालबच्चाको पालनपोषणसँगै घरपरिवार चलाइन्। जेठी छोरीको बिहे गरिन्। बन्दीपुर बस्न थालेको ७ वर्षपछि एकदिन उनको एक्लै पैदल यात्रा सुरु भयो चितवनसम्म। कान्छाबुवा चितवनमा बसोबास गरिरहेका छन् भन्ने थाहा पाएर उनी पुगिन् चितवन। त्यो दिन कान्छाबुवालाई भेटेर घर फर्किइन्। त्यसपछि २०३६ सालमा बूढाबूढीले सल्लाह गरी ७० हजारमा घर जग्गा बेचे। चितवनमै जग्गा किनेर बसोबास गर्ने सपना बुनेकी पार्वतीको परिवारले चितवन पुगी नारायणघाटमा होटेल सुरु गर्‍याे।

उनकै नामले खोलिएको पार्वती होटल निकै चल्न थाल्यो। त्यो समयमा अधिकांश गाडीका ड्राइभरहरू बर्माबाट आएका नेपालीहरू नै हुन्थे। जो बर्मेलीको होटेल भनेर त्यतै आउँथे खानलाई। त्यही होटेलको कमाइले छोराछोरी पढाइन्। घरखर्च टारिन्। तर, चितवनमा जग्गा किन्ने सपना अधुरै रह्यो। उतिबेला अहिलेको जसरी बैंकमा पैसा राख्ने चलन थिएन। आफन्तलाई राख्न दिइन्थ्यो।

खुमप्रसादले उक्त पैसा केही आफन्तहरूलाई राख्न दिए। जो-जोलाई राख्न दिए, तिनले फिर्ता गरेनन्। जिन्दगी देखेर दिकदार बनेका खुमप्रसादलाई रक्सी पिएर मन बुझाउनुपर्ने हुन थाल्यो। उनलाई विस्तारै-विस्तारै दिनहुँ रक्सी पिउनुपर्ने भयो। पार्वतीसँग कहिल्यै चर्को स्वरले बोलेनन् उनी। अति माया गरिरहे। पार्वतीले जीवनमा गर्नु परेको संघर्ष र दुखलाई देखेर बेलाबखत निकै नै भावुक बनिरहे।

‘कुनै कुरामा पनि नाइ भन्दैन थिए। तर, आफू भने आफ्नै सुरमा कहाँकहाँ पुग्थे। जिन्दगी मस्त मौलाना बनेर बिताइरहे। कसैको आँखामा राखे नि नबिझ्ने मान्छे थिए। दुख सहनसक्ने क्षमता नहुँदा रक्सीको सहारा लिन थाले,’ विगत सम्झिँदै भावुक बनिन् उनी।

उनी केही वर्षपछि त्यहाँबाट गैँडाकोटमा होटेल चलाउने योजना बनाई गैँडाकोट सरिन्। त्यतिखेर गैँडाकोटमा कागज फ्याक्ट्री सञ्चालनमा ल्याउने तयारी हुँदै थियो। गैँडाकोटमा कागज फ्याक्ट्री सञ्चालनमा आएपछि उनको होटेल पनि निकै चल्न थाल्यो। उनी भन्छिन्, ‘दैनिक ४० जना त खाना खाने मात्रै हुन्थे। कमाइ राम्रै थियो। त्यतिबेलासम्म जेठो छोरो पुलिसमा भर्ना भैसकेको थियो। होटेलबाट कमाएको पैसाले कान्छी छोरीको बिहे गरेँ।’

त्यही समय अर्थात् २०४२ सालमा उनका कान्छा छोरा अर्जुन(सागर)ले दमौली आएर आफ्ना बुवाका मामाका छोरासँग बसी घडी, रेडियो बनाउने काम सिके। छोटो समयमै आफ्नो छुट्टै पसल खोलेर आमालाई दमौली बोलाए। त्यतिबेला खुमप्रसाद भारततिर गएका थिए। उनी कुन ठाउँमा छन् भन्ने कुरा घरमा थाहा थिएन।

छोराले विस्तारै घरघडेरी जोडे। सागरले आमालाई कुनै कुराको कमी हुन दिएनन्। पाँच/छ वर्षपछि आइपुगे खुमप्रसाद पनि। तत्पश्चात परिवारमा झनै खुसी थपियो। पार्वतीको त्यो खुसी धेरै वर्ष टिकेन। दैवले कुनै न कुनै कुराको कमी महसुस गराइरह्यो। २०५२ सालमा खुमप्रसादले धर्ती छोडे, त्यसपछि अनि जेठी छाेरीले। तत्पश्चात जेठाे छाेरा बेपत्ता भए। आजका दिनसम्म पत्ता लाग्न सकेकाे छैन। उनले जीवनमा परीक्षा दिइरहिन्। दैवले परीक्षा लिइरहे।

छोराले प्रशस्त सम्पत्ति जोडेका छन्। उनको निकै नै ख्याल गर्ने छोराबुहारी, नातिनातिना छन्। लाउनेखाने कुरामा उनलाई कुनै कमी छैन। छोरा सागरले पनि सामाजिक र साहित्यिक गतिविधिले गर्दा समाजमा राम्रै पहिचान बनाएका छन्। गण्डकी साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्षसमेत रहेका सागरले आमाबुवाका नाममा बर्सेनि पुरस्कार दिने हेतुले अक्षय कोषमा पैसा जम्मा गरी यो वर्षदेखि पुरस्कार वितरण कार्यको श्री गणेश गरेका छन्। आमा पार्वती कहिलेकाहीँ भावुक बनिदिन्छिन्, ‘यो दिन आउला भन्ने कहिल्यै सोचेकै थिइनँ। छोराबुहारीले राम्रै गरिरहेका छन्।’

उसो त अचेल खासै विगत पनि सम्झिन खोज्दिनन् उनी। टेलिभिजनमा समाचार हेर्दा कहिलेकाहीँ आङ साङ सुकीको नाम सुन्दा भने एकाएक सम्झनामा आइदिन्छ रे त्यो समय। जतिबेला उनको प्रायजसो भेट भैरहन्थ्यो सुकीसँग। नजिकै थियो उनको माइती र सुकीको घर। भेट्दा गफगाफ हुन्थ्यो।

उनी भन्छिन्, ‘सुकी बुवा बित्दा त्यस्तै १८/१९ वर्षकी हुँदी हुन्। पछि बुवाको शालिक बनाउन लगाएर बर्निया भन्ने ठाउँमा शालिक पनि राख्न लगाइन्। उनले त झन कति दुःख पाइन्। जनताको भलाइका लागि, देशका लागि जीवनभरी दुखको भारी उठाउँदै हिँडेकी सुकीलाई हेर्ने हो भने हामीले के नै गर्‍यौं  र के दुख पाएँ भनौँ।’

१२ वर्ष भैसक्यो दैनिक रुपमा एक घन्टा आध्यात्मिक प्रवचन सुन्न थालेको। अचेल सानोतिनो दुखले छुँदैन उनलाई। ‘यो सबै भगवानको लिला हो। समस्या आउँदै गर्छ, टर्दै जान्छ। जोसँग नि राम्रो बोल्न सिक्नुपर्छ। कसैको रिस डाह गर्ने, कुभलो चिताउने गर्नु हुँदैन। जे पर्छ, टर्दै जान्छ। आँट गर्नु पर्छ। साहस गुमाउनु हुँदैन। कर्म गर्दै जानुपर्छ, बाँकी भगवानको मर्जी। एक दिन भकलक्क पल्टिनु त छँदैछ’, उनी सुनाउँछिन्।

प्रकाशित मिति: : 2023-07-28 20:10:00

प्रतिकृया दिनुहोस्