पूर्वी पहाडहरूमा पनि फैलिँदै छ डेंगी
डेंगी बिरामीको चाप बढ्दै गएपछि उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गरिरहेको धरान विपी स्वास्थ्य प्रतिष्ठानमा अहिलेसम्म ४ जना डेंगी बिरामीको मृत्यु भइसकेको छ।
जेठयता प्रतिष्ठानमा उपचार गराएकामध्ये उनीहरूको मृत्यु भएको हो। हरेक दिन १०० जना भन्दा धेरै डेंगीका बिरामीहरू यहाँको अस्पताल पुग्ने गरेका छन्।
अहिले सबैभन्दा तीव्र गतिमा धरानमा डेंगी संक्रमण बढ्दै गएको छ। जेठ यता झन्डै २ हजार मानिस डेंगीबाट संक्रमित भइसकेका छन्। बिरामी बढ्दै गएपछि अस्पतालका बेडहरू डेंगी संक्रमणका बिरामीले भरिदैँ गएका छन्।
संक्रमणबाट डाक्टरसमेत प्रभावित भएका छन्। संक्रमित हुने संख्या बढ्दै गएपछि आइतबार मात्रै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० बेडको डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ।
धरानमा किन यति धेरै?
यहाँका स्वास्थ्यकर्मी र संस्थाहरू धरानमा डेंगी बढ्नुका विभिन्न कारणहरू औंल्याएका छन्। यहाँ पानीको समस्या छ।
घरपालुवालाई खुवाउनका लागि पानी थापिएका भाँडाहरू पनि खुल्ला हुन्छन्। त्यो लामखुट्टेका लागि उपयुक्त वासस्थान हुनसक्छ।
धरान उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार यहाँका वस्तीहरूमा धेरैजसो सुङ्गुर(बङ्गुर पाल्ने चलन छ। जसका कारण पनि लामखुट्टेहरू बढ्न थालेका छन्। यहाँका खुल्ला र अव्यवस्थित नालाहरू पनि लामखुट्टे उत्पादनको अर्को कारण हो।
‘यस्ता धेरै कारणहरू छन् जो लामखुट्टेका लागि उपयुक्त वासस्थान बनेका छन्’ मेहता भन्छन् ‘लामखुट्टे बढ्दैछन् र डेंगीका बिरामी पनि उत्तिकै बढिरहेका छन्।’
उनका अनुसारअहिले पनि दिनहुँ १०० भन्दा धेरै डेंगीका बिरामी देखिन थालेका छन्। तीमध्ये ३०(४० जनासम्म बिरामीलाई त भर्ना नै गरेर राख्नुपरेको छ।
छुट्टै व्यवस्था गरिएको बेड संख्या पनि अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मीहरू घरै पुगेर उपचार सेवा दिन थालेका छन्।
‘ज्वरोको लक्षणमात्रै देखा परेकाहरूलाई हामीले घरमै बसेर उपचार गराउन सुझाएका छौं र आवश्यक परे अस्पतालबाट स्वास्थयकर्मी पनि पठाउने गरेका छौं’ उनी भन्छन् ‘दुई दिनमा मात्रै अस्पतालमा २२८ जना डेंगी संक्रमित पुगिसकेका छन्। त्यो संख्या अझै बढ्ने क्रममा छ।’
पहाडसम्मै
पूर्वी धरानमा डेंगीका बिरामीले अस्पतालहरू भरिसकेको समाचारहरू फैलिन नपाउँदै सुदूरपश्चिम पहाडको दार्चुलामा पनि डेंगी बोकेर अस्पताल कुद्नेहरूको उत्तिकै ओइरो थियो।
साउनको यो पहिलो सातामै दार्चुला जिल्ला अस्पतालमा १५६ जना डेंगीका बिरामीले उपचार गराएका छन्। थपिने क्रम अझै छ।
खासगरी एक प्रजातिको लामखुट्टेले टोकाइबाट मान्छेको शरीरमा हुने बिमार नै डेंगी हो। जसले शरीरमा ज्वारो ल्याउँछ थकाउँछ। अनि मृत्युकै मुखसम्म पनि पुर्याउनसक्छ।
सामान्य भाषामा बुझ्ने हो भने लामखुट्टे चिसोमा बाँच्दैन। गर्मीले तातिने ठाउँहरूमा पाइने लामखुट्टे केही वर्षदेखि पहाड अनि हिमालसम्मै पुगेको छ। दार्चुलामात्रै होइन, अरू पनि पहाड र हिमाली जिल्लामा लामखुट्टे अनि डेंगीका बिरामी भेटिएका छन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनलायका जगदीश जोशी भन्छन्, ‘अब वातावरण फेरिदैँछ। जुन वातावरण लामखुट्टेका लागि अनुकुल हुन्छ। सवारी साधन अनि प्रविधिको बढ्दो प्रयोग अनि तातिएको वातावरणअनुसार आफूलाई अनुकुल लाग्ने ठाउँसम्म लामखुट्टे पुगेको हुनसक्छ। यो त वातावरणीय परिवर्तनकै प्रभाव हो।’
सुदूरपश्चिमको दार्चुलामा सबैभन्दा धेरै डेंगीका संक्रमित छन्। अरू पहाडी जिल्लामा फाट्फुट देखिए पनि प्रकोप नै भने छैन। जोशीका अनुसार अहिलेसम्म डेंगीकै कारण यहाँ कसैको मृत्यु भने भइसकेको छैन।
मध्य पहाडीका धादिङ जिल्लामा पनि डेंगुको सक्रमित बढै गएका छन्। असार महिना देखि हाल सङ्क्रमण भएको दिनमा १५ देखि २० जनामा डेंगुको सक्रमित देखिएको डा।नरेन्द्र कुमार झाले बताए।
असारदेखि साउनसम्म ३ सय संक्रमित भएका छन्। गत वर्षको तुलनामा यसपालि डेंगीका संक्रमित अप्रत्याशितरूपमा बढिरहेको उनको भनाइ छ। उनका अनुसार दिनहुँ बिरामी बढिरहेका कारण अस्पतालले थप व्यवस्थापनबारे पनि तयारी गरिरहेको छ।
‘अहिले बिरामीलाई व्यवस्थापन गर्दै आएका छौं। अब यसरी नै बढ्दै जाँदा उपचारमा समस्या हुनसक्छ’ उनले भने ‘त्यसका लागि हामीले तयारी गरिरहेका छौं। यसपालि डेंगीका बिरामी बढ्नसक्छन्।’
कस्ता लक्षण, कति संक्रमित?
त्यो लामखुट्टेले टोकेको १५ दिनसम्म पनि सामान्यतया डेंगीका लक्षणहरू नदेखिनसक्छ। तर च्याप्दै गएपछि टाउको एकदमै जोडले दुख्ने वाकवाकी लाग्ने र बान्ता हुने क्रम सुरु हुन्छ। अनि ज्वरो बढ्दै जाने हुन्छ। त्यस्तै रिङटा लाग्ने, ज्वरो अनियमित हुने, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुसजस्ता लक्षण देखा पर्ने हुन्छ।
खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्छ। डेंगी सिधै मानिस(मानिसको निकटता वा सम्पर्कबाट सर्दैन। डेंगी लागेकै व्यक्तिलाई टोकेको त्यो लामखुट्टेले अर्को स्वस्थ मानिसलाई टोक्यो भनेमात्रै त्यो रोग सर्नसक्छ। त्यो प्रजातिमा पनि पोथी समूहका लामखुट्टेले टोकेमा मात्रै यसको संक्रमण हुन्छ।
डा. लोचन कार्कीका अनुसार डेंगी एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगीको भाइरसद्वारा संक्रमित भएको एडिज एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। डेङगी ज्वरोको गम्भीर रूप, जसलाई डेंगी हेमोरेजिक फिभर पनि भनिन्छ। यसको जटिलता बढ्दै जाँदा यसले रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट मृत्यु पनि निम्त्याउन सक्छ।
यो लामखुट्टे कालो रंङको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छन्। लामखुट्टेले घाम उदाएको २ घन्टा पछि र घाम अस्ताउनु भन्दा २ घन्टा अघि विशेषगरी बेलुकातिरको समयमा टोक्ने गर्छ।
यो लामखुट्टे अरु लामखुट्टे भन्दा मोटोपन भएको बेग्लै खालको हुन्छ। र पोथी जातको लामखुट्टेलाई फूल पर्नको लागि प्रशस्त मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकाले पोथी लामखुट्टले मात्र रगत चुस्ने गर्छ।
खासगरी सफा पानी, एयर कन्डिसन, फूलका गमला, पुराना टायर, ड्रम, नरिवलका खोस्टा, साना खाल्डाहरूमा सफा पानी धेरै दिनदेखि जमेर बसेको स्थानमा यो लामखुट्टे पाइन्छ।
देशभर डेंगी संक्रमितको संख्या २२ हजार नौ सय ५२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ।
हाल संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा छन्। काठमाडौंमा ७ हजार तीन सय ८० जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने ललितपुरमा पाँच हजार पाँच सय ८५ पुगेको छ ।
त्यस्तै, मकवानुपरमा दुई हजार एक सय ३५, दाङमा एक हजार दुई सय ७५, रुपन्देहीमा सात सय आठ, भक्तपुरमा एक हजार ५० जनामा डेंगु संक्रमण भएको छ । यी जिल्ला सबैभन्दा धेरै डेंगु फैलिने जिल्लामा पर्छन्।
महाशाखाका ७५ जिल्लामा अनुसार मुस्ताङ र हुम्लाबाहेक मुस्ताङ र हुम्लामा भने डेंगी पुष्टि भएको तथ्यांक छैन।
कसरी बच्ने?
पूरा बाहुला भएको लुगा लगाउने।
झुलभित्र मात्र सुत्ने।
घरको झयाल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने।
घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने।
खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने।
गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने।