पहिरो नियन्त्रणका लागि स्वीस दम्पतीबाट सहयोग

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा अवस्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि विदेशबाट रु १५ लाख सहयोग प्राप्त भएको छ।

गत वर्ष असारमा अविरल वर्षापछि पहिराले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्सी दम्पतीले सो रकम प्रदान गरेका हुन्। सहयोग रकमको ‘चेक’ शुक्रबार स्वीस नागरिक एरिकले विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतलाई हस्तान्तरण गरेका छन्। स्वीस व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा पुग्नुभएको थियो। विद्यालयको खेल मैदानसम्म पहिराले जोखिममा पारेको प्रत्यक्ष देखेपछि उहाँहरुमा सहयोगको भावना जागृत भएको थियो। 

त्यस बेला आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका दुवैले सहयोग रकम एरिकमार्फत विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक रावतले बताए। उनका अनुसार विद्यालयका पूर्वअङ्ग्रेजी शिक्षक क्रान्ति गिरीमार्फत सम्पर्कमा आएका एरिकले सहयोगका लागि समन्वय गरेका हुन्। 

प्रधानाध्यापक रावतले भने, 'पहिराले विद्यालय जोखिममा परेको देखेपछि उहाँहरु विद्यार्थीका बारेमा चिन्तित हुनुभएको थियो। स्वीट्जरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हामीहरु विश्वस्त थियनौँ तर हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुसी भएका छौँ।'

पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ। संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिए पनि चालु वर्षमा भने  प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ।

स्वीसका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि छिट्टै काम अघि बढाइने प्रधानाध्यापक रावतले जानकारी दिए। 'हाम्रो विद्यालयका लागि उहाँहरुले ठूलो सहयोग गरेका छन्। उहाँहरुको चाहना अनुसारनै विद्यालयको भवन संरक्षणका काम अघि बढाउँछौँ।' उनले भने।

 ती स्वीस नागरिक विद्यालय भ्रमणका बेला विद्यालयको शैक्षिक र व्यवस्थापकीय वातावरण, कम्प्युटर र प्रयोगशाला लगायतका पूर्वाधारबाट उत्साहित भएका थिए। 

प्रकाशित मिति: : 2023-07-22 08:49:00

प्रतिकृया दिनुहोस्