गौर हत्याकाण्डः उपेन्द्र यादवलाई गिरफ्तार गर्न माग गर्दै पीडितद्वारा प्रदर्शन (भिडियाे)

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउन माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन भएको छ।

हत्याकाण्डका अपराधीलाई कानुनी कठघेरामा ल्याउन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको भन्दै पीडित संघर्ष समितिले साेमबार खबरदारी र्याली निकालेको हो।

प्रदर्शनकारीहरुले ‘हत्याकाण्डका नाइके उपेन्द्र यादवलाई गिरफ्तार गर, पीडितलाई न्याय देउ, हत्याराहरुलाई कारवाही गर, मानव अधिकारको रक्षा गर, कानूनी शासन लागु गर’ जस्ता नाराहरु लगाएका छन्।

गौरको विपि चाेकबाट सुरु भएको र्याली गौर बजार परिक्रमा गरी समितिले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक न्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक रुपसागर देवीले आक्रोश व्यक्त गरेकी छन्।

वि.सं. २०६३ चैत्र ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादीका कार्यकर्ताको निर्मम हत्या गरेका थिए।

उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौँको संख्यामा घाइते भएका थिए।

त्यस घटनामा बन्दुक, बाँसको फाटा, ढुंगाले टाउको र मुखमा हानेर हत्या गरिएकाे थियाे। त्यस्तै महिलाहरुलाई बाँसको फाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी, स्तन काटेर छटपटिरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो।

यो घटना प्रचलित नेपालकाे कानुन बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सनलगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धि समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ।

गौर हत्याकाण्ड भएको भोलिपल्ट नै तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री कृष्णबहादुर महरा र संयुक्त राष्ट्र संघीय मिसन (अनमिन)का प्रतिनिधि पनि घटनास्थल पुगेका थिए। घटनाको वास्वविक तथ्य पता लगाउनका लागि नेपाल सरकारले तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानविन आयोगले बुझाएको प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिवेदनले समेत यस घटनालाई राजनैतिक झडप नभई जघन्य एवं अमानवीय अपराध गरेको भनी निष्कर्ष निकालेको थियो।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिद्वारा रौतहटका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा संघर्षका विभिन्न कार्यक्रमसहित साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्दको घोषणा गरिएको छ।

‘आज हामीले सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाएका छौं। साउन २ गतेदेखि १२ गतेसम्म पालिकाहरुमा गौर हत्याकाण्डको बारेमा जानकारी र अन्तरक्रिया कार्यक्रम गर्ने, शहीद परिवार एवं पीडितहरुद्वारा धर्ना दिने, १४ गते मोटरसाइकल र्याली निकाल्ने र हाम्रो माग पुरा नभएपछि १५ गतेदेखि हामी अनिश्चितकालिन रौतहट बन्द गर्छौँ’, संघर्ष समितिका संयोजक रुपसागर देवीले भनिन्।

प्रकाशित मिति: : 2023-07-17 16:33:00

प्रतिकृया दिनुहोस्