‘अब हामीले पेट्रोल छर्केर आफैँलाई आगो लगाउन मात्रै बाँकी छ’, हरेक दिनजसो राधा महर्जनको आवाजले लगभग माइतीघर चर्किरहेको हुन्छ।
रातदिन पसिना बगाएर कमाएको पैसा उनले सहकारीमा जम्मा गरेकी थिइन्। तर सहकारी चलाउनेहरू भागे। उनको पैसा फिर्ता आएन। राधाजस्ता धेरै ‘पीडित’हरू अहिले माइतीघरको सडकमा पिरोलिइरहेका छन्।
महिनादिन भइसक्यो। दिनभरिको चर्को घामले पोलिएका उनीहरू कतिबेला असारे झरीले निथ्रुक्क हुन्छन् पत्तै हुन्न। ‘न्याय’ माग्न आएका उनीहरूलाई नजिकै ठिङ्ग उभिएको सिंहदरबार हेरिरहन्छ। अलिपरको सर्वोच्च अदालत उनीहरूको रमिता हेर्दै मौन भएर उभिरहेको छ। वरिपरिका प्रहरी सुनिरहन्छन्। बटुवाहरू हेरिरहन्छन्। पत्रकारहरू हरेक दिन उनीहरूका पीडा ‘रेकर्ड’ गरिरहन्छन्।
राधाजस्ता ‘पीडित’हरूका लागि त्यो कहाँ सजिलो छ र!
यो माइतीघरमा धेरै त्यस्ता राधाहरू छन्, जो न्याय माग्न देशभरिबाट एउटै ठाउँमा आइपुगेका छन्। सिंहदरबारको यो आँगनमा बिसाइरहेका उनीहरूसँग आ-आफ्नै कथा छन्। फरक फरक कहानी छन्। फरक फरक परिवेशबाट आएका उनीहरूको पीडा एउटै छ। आवाज उस्तै छ। सबैलाई न्याय चाहिएको छ।
पीडा, भोगाइ अनि मागहरू लेखिएका ब्यानरहरू सहरको धुलोमा मैलो भइसकेका छन्। आवाज सुक्नै लागेको छ। तर सुन्ने कोही छैन। सब हेर्नेमात्रै छन्।
नेताहरू आउँछन्। कुरा सुन्छन्। अनि ‘हामी छौं’ भनेर जान्छन्। तर फेरि फेरि फर्केर आउँदैनन्। त्यसपछि न नेताहरू भेटिन्छन्, न माइतीघरमा आडेस लागेकाहरूले खोजिरहेको न्याय।
अनि विरक्त यी ‘पीडित’हरू आफैँमाथि आगो झोस्ने कल्पनासम्म गरिभ्याउँछन्। ‘ढुकुटी खेलेको पैसा मागेको होइन, आफैँले दुःख गरी कमाएको पैसा फिर्ता मागेको हो। अब कसैले नदिए हामीले आफूलाई पेट्रोल छर्किनु बाहेक अरु के नै उपाय छ र!’
०००
कहानी अलि फरक छ, तर जनकपुरका विनोदप्रसाद साहसँग पनि उस्तै पीडा छ। बिहे गरी घर बसाएकी छोरीको लाश पो पाए विनोदले। घरतिरकाले भने– तिम्री छोरी झुन्डिएर मरी!
छोरीको मृत शरीरभरि शंकालु डाम देखेका विनोदको मन कहाँ मान्थ्यो र! उनलाई लाग्यो, छोरी मरेकी हैनन्, मारिएकी हुन्। छोरी मार्नेहरूविरुद्ध उनले उजुरी गरे। तर प्रहरीले त उल्टै उनैलाई धम्की दिन थाल्यो। घर आँगनको प्रहरी प्रशासनबाट न्याय नपाएपछि उनी जानु कहाँ?
अनि उनको पनि सहारा बन्यो माइतीघर। असार जानै आँटिसक्यो। खेतबारी हराभरा पार्ने यो बखत विनोदप्रसादहरू घरबार अनि लालाबाला अलपत्र छोडेर माइतीघरमै बसेका छन्।
विनोदलाई लाग्छ, न्याय नपाएर सायद छोरीको आत्मा यतैकतै भड्किरहेको होला। बेलाबेला उनी झस्किँदै ब्युँझिन्छन्– अहो! सबका खेतबारी हराभरा भए होलान्…।
‘हामी सब यतै छौं। खेतबारी बाँझै होलान्। लगाएका तरकारीहरू के भए होलान्?’ जानेहरू गइसके। न्यायका लागि लड्नु नै छ। तर बाँच्नेहरूले खानु पनि छ। बाँच्नेहरू बाँच्नु पनि छ!
र, त अझै हिम्मत हारेका छैनन् विनोदहरू।
०००
झुक्याए रविले…
यो त्यही माइतीघर हो, जहाँ राधा महर्जनहरूले दुई साताअघि बिएल मिडियाको भिडियो टिमसँग आफ्ना पीडा र आक्रोशहरू क्यामेरामा भरेका थिए।
यी उनै आवाज थिए, जसले अहिलेको राजनीतिका सेलिब्रेटी रवि लामिछानेलाई माइतीघरसम्म डोर्यायो। राधाहरूको कुरा आफैँले सुन्न उनी त्यहाँ गएका थिए। त्यसपछि उनकै सांसद तोसिमा कार्की पनि त्यहाँ पुगिन्।
उनीहरूले भनेका थिए– तपाईंहरूका साथमा हामी छौं। चाँडै न्याय पाउनुहुन्छ। तर एक दिन होइन, दुई दिन होइन। एक हप्ता होइन, दुई हप्ता होइन, महिनौँ बित्न लाग्यो तर अहँ! न रवि र तोसिमाहरू फेरि फर्केर आए न राधाहरूले न्याय पाए।
‘सबै आउँछन्। हाम्रा कुरा सुनेर जान्छन्। तर हामीले चाहेको न्याय कहिले पाउँछौँ’, फेरि पनि राधाहरू भन्दैछन्, ‘रविहरू त हामीहरूलाई झुक्याउनमात्रै आएका रहेछन्। आफू पन्छिएर अरूलाई दोषी देखाउनमात्रै आएका रहेछन्।’
राधा अनि विनोदहरूमात्रै होइन रवि लामिछानेसँग करोड आशहरू अहिले सडकभरि छताछुल्ल छन्। नयाँ मान्छेहरू राजनीतिमा आएपछि यस्तै हो, सबका सब आशाहरू त्यहीँ जोडिन्छन्।
सहकारीबाट लुटिएका राधाहरू यहीँ छन्। मारिएकी छोरीका लागि न्याय खोज्न जनकपुरबाट आइपुगेका विनोदप्रसादका परिवारहरू यहीँ छन्। अनि आफ्ना श्रीमानको अन्यायविरूद्ध आवाज उठाइरहेकी आरती शाहहरू पनि यहीँ छन्।
हामी माइतीघर नपुगेको लगभग दिन छैन। राधा, आरती अनि विनोदप्रसादहरू नबोलेको पल छैन। तर सबका सब मौन छन्। कसैले बोल्नै चाहँदैनन्। कोही चाहेर पनि बोल्न सक्दैनन्।
उनीहरूले देखेका छन्, परतिर सडकमा छेलिएर पुलिसका लावालस्कर लिएर हुँइकिने प्रधानमन्त्रीका गाडीहरू अनि नेताहरूको सवारीहरू । तर कसैले त्यतातिर फर्केर हेर्दैनन्।
माइतीघरमा पीडा र क्रन्दनहरूमात्रै थुप्रिएका छैनन्, बरू एकअर्काप्रतिको प्रेम र सद्भाव पनि सँगसँगै बर्षिरहेको छ– असारे झरीजस्तै।
एकअर्काका पीडामा मलहम लगाउन यी पीडितहरू आफू आफैँमा प्रेमील बनेका छन्।
अरूहरू पनि धेरै छन्, माइतीघरमा। फरक ठाउँ, फरक अनुहार। फरक कथा। तर एउटै पीडाले जोडिएका यी सबलाई चाहिएको एउटै चिज हो– न्याय!
त्यो कसले दिने?
एकातिर सिंहदरबार खिस्रिक्क हाँसिरहेको छ। अर्कोतिर सर्वोच्च न्यायालय मौन छ।
र, यो माइतीघर साँच्चिकै राधा, आरतीहरू अनि विनोदहरूको विनोदीय काख बनेको छ– जहाँ सबका सब पीडा, रोदन र क्रन्दनहरू प्रेमको त्यो न्यानोमा आशातित छन्।