एनआरएनए- नेपाल एसोसिएसन (युएई)को अध्यक्षमा विकास शाहीको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाल संघ (एनआरएनए)लाई श्रमिक र मजदुरमुखी बनाउने अठोटसहित विकास शाहीले एनआरएनए- नेपाल एसोसिएसन युएईको ८औं अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए युएईको वर्तमान कार्य समितिमा उपाध्यक्ष रहेका शाही युएईमा विवादरहित र इमानदार मानिन्छन्। आफ्नो इमान्दारिता र निष्कलङ्क छविकै कारण यस पटक पञ्जिकृत सदस्यहरुले आफूलाई एनआरएनएको नेतृत्व सम्पिने उनको भनाइ छ।

कोभिड महामारीकाे दौरान नेपाल सरकारलाई सिलिन्डर र पिसिआर किट पठाउन नेतृत्वदायी भूमिका खेलेका शाही युएईका सफल व्यवसायीसमेत हुन्। उनले कैयन नेपालीलाई रोजगारी दिइरहेका छन् भने समस्यामा परेका नेपालीहरुको उद्दार र सहयोगका लागि आफैं फ्रन्टलाइनमा खटिदै आएका छन्। कोरोना कालका बेला स्वयंसेवकका रूपमा निभाएको भूमिकाको प्रोत्साहन गर्दै दुबई सरकारले शाहीलाई प्रसंसापत्रसहित सम्मानसमेत गरेको छ।

युएईमा हुने सामाजिक गतिविधिहरुमा सधैं 'फ्रन्ट लाइन'मा देखिने शाही सन २००५ देखि युएईमा कार्यरत छन। करिब १० वर्ष ३ वटा मल्टिनेश्नल कम्पनीमा रोजगारी गरेपछि सन २०१५ देखि उनले निजी व्यवसाय गर्दै आएका छन्। जसमा अहिले कैयन नेपालीले रोजगारी पाएका छन्। व्यवसायसँगै सामाजिक गतिविधिमा सक्रिय भएका शाहीले सन् २०१७ देखि नियमितरूपमा एनआरएनए युएईको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। इमान्दारिता र पारदर्शीतालाई मुलमन्त्र मान्दै आएका शाही ठकुरी सहयोग सञ्जाल, कास्की आदर्श समाजजस्ता संघ संस्थामा समेत सल्लाहकारका रूपमा आवद्ध छन्।

उनको इमानदारिता र पारदर्शीताकै कारण पछिल्लो समय सामाजिक सञ्जालहरुमा उनको पक्षमा जनमत बढ्दै गएको देखिएको छ। एनआरएनए युएईको २०२३-२५ को कार्यकालमा शाहीलाई नै अध्यक्ष बनाउने भन्दै युएईमा नेपालीहरुले अभियान नै सुरु गरिसकेका छन्।

शाहीले आफू नेतृत्वमा आए एनआरएनएलाई सबै नेपालीहरुले अपनत्व गर्न सक्ने श्रमिकमैत्री संस्था बनाउने प्रतिबद्धता गरेका छन्। उनले नेपाली दूतावाससँग समन्वय गरी हरेक नेपालीका समस्यालाई सहज एवम् सरल ढंगले हल हुने वातावरण निर्माण गर्न कटिबद्ध भएर लागिपर्ने समेत बताएका छन्। हरेक नेपालीको बैंंक खाता अनिवार्य बनाई सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने आफ्नो योजना रहेको शाहीले बताए।

श्रमिकहरुलाई क्याम्पमै गएर दूतावासले सेवा सुविधा दिनुपर्ने शाहीको भनाइ छ। त्यसका निम्ति सम्बन्धित निकायहरूसँग समन्वय गरी नियमित रूपमा विभिन्न 'बुट क्याम्प'मार्फत राहदानी नवीकरण सेवा, नि:शुल्क स्वास्थ्य शिविर, रेमिटेन्ससम्बन्धी जनचेतनामुलक कार्यक्रम आदि सञ्चालन गर्ने आफ्नो योजना रहेको शाहीले बिएल नेपाली सेवालाई बताए। नेपाली कला संस्कृति, भेषभुषा र पर्यटन प्रवर्द्धनका लागि समेत प्याकेजमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने शाहीले बताए।

युएईमा कानुनी वैधता प्राप्त गरेको नेपाली संस्था नेपाल एसोसिएसनसँग मर्ज भएपछि हाल एनआरएनए र नेपाल एसोसिएसन एकीकृत संस्थाको रूपमा रहेको छ। वैधता प्राप्तसँगै एनआरएनए-नेपाल एसोसिएसनलाई युएईमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न सहज भएको स्थिति छ।

प्रकाशित मिति: : 2023-07-05 14:02:00

प्रतिकृया दिनुहोस्