डा. जीवन राना सानो छँदा बाख्राका पाठा, खरायोका बच्चा, कुखुराका चल्लासँग खेल्थिन् र रमाउँथिन्। उनी सात कक्षामा पढ्नेताका विद्यालयमा एक महिने बिदा हुनलाग्दा छोरीलाई कता पठाउने होला भनेर सोचिरहेका बुवा श्रीकृष्ण रानाले भेटमा आफ्ना एकजना साथी भेटनरीका डाक्टरसँग भनेछन्, ‘डाक्टरसाब अहिले छोरीको बिदा छ, तालिममा पठाइदिउँ?’ ती डाक्टरले एकछिन घोरिएर जवाफ दिएछन्, ‘कहाँ सात कक्षामा पढ्ने बच्चीलाई तालिममा पठाउनुहुन्छ यार!’ श्रकृष्णले ‘हैन, मेरो छोरी तपाईंले सोचेभन्दा फरक छ। जसको पनि सेवा गर्न तयार हुन्छे। ऊ छुट्टै खालकी छ’ भनेपछि टाउकाे हल्लाउँदै हुन्छ भन्ने उत्तर पाएछन्।
उनले एक महिने भेटनरीको तालिम लिइन्। तत्पश्चात फुर्सदको समयमा साइकल चढेर पशुको औषधि गर्न गाउँगाउँ पुग्थिन् उनी। गाउँका मान्छेले डाक्टरसाब आइन् भन्थे। उनी निकै खुसी हुन्थिन्। एसएलसी पास भएपछि थाहा पाइन्, डाक्टर साहेव भनेको के हो भन्ने कुरा। अनि सोच्न थालिन्, ‘गाउँघरतिर डाक्टर साब भन्थे, तर आफू डाक्टर हुन पाइनँ।’ अहिले उनको त्यो तृष्णा पूरा भएको छ। मेडिकल डाक्टर बन्न नसके पनि ‘राना थारुहरुको सामाजिक सांस्कृतिक जीवन’ विषयमा विद्यावारिधि सकेर नामको अगाडि डा. झुण्ड्याएकी छन् उनले। जो राना थारु समुदायबाट विद्यावारिधि गर्ने पहिलो महिला पनि हुन्।
नथुलादेवी राना र श्रीकृष्ण रानाले बिहे गरेको १३ वर्षसम्म सन्तान पाउन सकेनन्। औषधि उपचारका लागि ठाउँठाउँमा धाए। ग्रह दोष काट्न भनी नथुलादेवीको विवाह पीपलसँग समेत गराए। १३ वर्षपछि जन्मिन्, जीवन राना। त्यसपछि नथुलादेवीले लगातार दुई छोरा र दुई छोरी जन्माइन्। यसरी पाँच सन्तान पाएकी नथुलादेवी यतिखेर यो धर्तीमा छैनन्। जीवनसँग उनको सम्झना छ। पुराना तस्विरहरु छन्। तिनै सम्झनाका च्यादर र विगतका फोटाे हेरेर कहिलेकाहीँ उनी बाआमाको सम्झनामा भावुक बनिदिन्छिन्। समयक्रम रोकिँदैन। सृष्टिको नियम नै हो, जन्मपछि मर्नु नै पर्छ। यही सत्यलाई मनन् गरेर चित्त बुझाउँछिन् उनी पनि।
५० जना सदस्य भएको संयुक्त परिवार थियो। जहाँ जीवनका बुवाका ५ जना दाजुभाइ र एक जना उनका काकाका छोरा गरी ६ जना दाजुभाइको संयुक्त परिवार थियो। परिवारमा हरेक कुराको निर्णय गर्नेमा थिए, उनका ठूला बुवा। घरमा केटाकेटीको संख्या बढी नै थियो। सबै जना एकआपसमा खेल्थे। नदीमा नुहाउन जाने, गट्टा खेल्ने, दिनभर चौरमा खेल्ने गर्थिन्। जुन कुराले हिजोआज नोस्टाल्जिक बनाइरहन्छ उनलाई।
घरमा आमाबुवा अशिक्षित थिए। तथापि छोराछोरीलाई पढाउन ठूलो मन गरे। गाउँसमाजमा चलिआएको चलनअनुसार १७ वर्ष टेक्न लाग्दा घरमा उनको बिहेको कुरा चल्यो। चित्त नबुझ्दा नबुझ्दै पनि बाआमालाई परिवारको निर्णय मान्नैपर्ने भयो। उन्तत्वगत्वा धर्मराज रानासँग वैवाहिक जीवनमा बाँधिन पुगिन् उनी।
तिनै डा. राना आषाढ १० गते अपरान्हको समयमा आफ्नो गाउँ गदरिया जाने तयारी गरिरहेकी थिइन्। मेरा मित्र टेकेन्द्र देउवाले मलाई धनगढी क्याम्पस रोडस्थित उनको घरमा पुर्याइदिए। डा. रानाले आफ्नो व्यस्तताका बाबजुद पनि झण्डै एक घन्टा समय निकालिन्। जुन मेरा लागि राना थारु समुदायका बारेमा थोरै भएपनि जान्न पाउने अवसर थियो।
राना थारु समुदायमा आषाढ महिनाको शुक्लपक्षको पहिलो सोमबार अथवा पहिलो बिहीबार वर्षभरिकै ठूलो पूजा गरिन्छ। जसलाई असारे पूजा भनिन्छ। जुन पूजामा गाउँभरका मानिसले भेट उठाउँछन्। भेट भनेको घिउ, होम मसला, ल्वाङ, अगरबत्तीलगायतका पूजा सामग्री हुन्। जुन उठाएर भलमन्साको घरमा राखिन्छ। राना थारु भाषामा भलमन्सा भनेको गाउँको मुखिया जस्तै हो। पहिलेको परम्परागत गाउँ बसाउने मान्छेलाई पधना भनिन्छ। डा. रानाका अनुसार पधना सबै गाउँमा छैनन्।
‘पधना भनेको प्रधान जस्तै हो। जो चेन्ज हुँदैन। पधनाले गाउँमा आपतविपद पर्दा, अन्नपानीको कमी हुँदा सबै कुरा उपलब्ध गराउने गरी संरक्षकको भूमिका निर्वाह गरिरहेको हुन्छ। जुन पुस्तौनी सन्ततिमा सर्दै जान्छ। भलमन्साले गाउँको विकास र न्याय प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न सकेन भने फागुन मसान्तभित्र चेन्ज हुन्छ। भलमन्साको अन्डरमा चाकर हुन्छ। जसको काम बैठक बोलाउने हो,’ उनले बताइन्।
भलमन्साले घरघरबाट भेट उठाउँछ। तर, डा. रानाको घरमा कोही नभएकाले त्यसदिन भेट उठाउन सकेनन्। त्यसैले उनी गाउँ जाने तरखरमा थिइन्। असारी पूजा भन्दा एकदिन अगाडि गाउँमा रोगव्याध नआओस् भने निकासी पूजा गरिन्छ। जुन पूजा गाउँभन्दा बाहिर दक्षिण दिशामा गई गरिन्छ। असारी पूजा गर्न पुरुषहरु जान्छन्। जुन पूजा भइसकेपछि घरमा कुल देउताको पूजा गरिन्छ। आ-आफ्नो कुल देवताअनुसार कुनैको पुजारी पुरुष हुन्छन् भने कुनैको महिला।
डा. राना बताउँछिन्, ‘मेरो श्रीमानको अर्थात् हाम्रो देवता बठ्ठा हो। जसको पुजारी महिला हुन्छन्। त्यसैले मैले गाउँ गएर कुल देवताको पूजा गर्नु पर्छ।’ उनी उनको कुल देवताकी पुजारी हुन्। राना थारु समुदायमा असारी पूजा सकिएपछि साउनको डोली बोक्छन्। यो पनि उनीहरुको विषेश पर्वहरुमध्येकै हो। जहाँ रुखको बोक्रा (पठ्ठा) ल्याउने, जंगलमा बाबियो खोज्न जाने, बाबियोको डोरी बाट्ने, काठ ल्याउने र गाउँमा पिङ हाल्ने गरिन्छ। यो पर्वमा दिदीबहिनीलाई लिन जाने गरिन्छ। हिन्दू धर्मावलम्बीहरुले तीजमा श्रीमानको दीर्घायुको लागि व्रत बसेझैं यो समुदायका महिलाहरु दाजुभाइ र भदाको दिर्घायुका लागि निराहार व्रत बसी नदीमा गएर पूजा गर्छन्।
नेपालभरमै राना थारुको जस्तो होली कुनै समुदायमा हुँदैन थियो र हुँदैन पनि। उक्त समुदायका माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म लगातार राति नाचगान गर्ने र फागु पूर्णिमाका दिन चिर दहन गरिसकेपश्चात पनि आठ दिनसम्म दिनमा होली खेल्ने चलन थियो। डा. रानाका अनुसार हिजोआज छोट्याएर चिर गाड्ने दिन, चिर दहन गर्ने दिन र बीचमा अन्य सात/आठ दिनसम्म राति नाचगान गरिन्छ भने चिर दहन गरिसकेपछि लगातार आठ दिनसम्म दिनमा होली खेल्ने गरिन्छ।
संस्कृतिका यिनै विविध पक्षले उनलाई छोइरहे। एकातिर आफ्नो संस्कृतिप्रति उनको लगाव बढ्दै जान थाल्यो। अर्कोतिर संस्कृतिका थुप्रै कुराहरु लोपोन्मुख हुँदै गइराखेका देखेपछि उनी चिन्तित बन्न थालिन्। फलस्वरुप उनी नेपाल राना थारु समाजकी अध्यक्ष बनिन्। संस्कृति संरक्षणका लागि भाषण गर्दै गाउँगाउँ डुल्न थालिन्। आफ्नो मौलिक पोशाक लगाएर कार्यक्रममा जान थालिन्। त्यसपछि गाउँघरतिर अधिकांश महिलाहरुले उनको सिको गर्न थाले।
उनी भन्छिन्, ‘पैडा, घोहरलगायतका थुप्रै चाँदीका गहनाहरु प्रायले बेचिसकेका थिए। आफ्नो मौलिक पहिरन छोडेर आधुनिक पहिरनप्रति आकर्षित भैसकेका थिए। हामी बेरेलीको झुम्का लगाउँथ्यौँ। अहिले आएर सबैले भारतका पलिया र बेरेलीमा गएर गहना ल्याएका छन्। अधिकांशको घरमा कम्तिमा पनि एकजोर मौलिक गहना भेटिन्छन्। चाडपर्व होस् वा कुनै कार्यक्रम नै किन नहोस् आफ्नो मौलिक भेषभूषा र गरगहनामा सजिएका देखिन्छन्। हाम्रो संस्कृति नै हाम्रो पहिचान हो। त्यसैले यसलाई ठूलो उपलब्धिका रुपमा लिएकी छु।’
२०६५ सालमा उनी राना थारु समाजकी अध्यक्ष हुँदासम्म राना थारुहरुलाई आदिवासी जनजातिअन्तर्गत राखिएको थिएन। त्यसका लागि उनले निकै संघर्ष गरिन्। सम्बन्धित निकायमा धाउन थालिन्, ज्ञापनपत्र बुझाइन्। बल्ल डा. ओम गुरुङको अध्यक्षतामा कार्यदल गठन गरियो। कैलाली, कञ्चनपुरका गाउँमा उक्त कार्यदलका सदस्यहरुले अध्ययन अनुसन्धान गरे। फलस्वरुप राना थारुलाई पनि आदिवासी जनजातिको लिष्टमा राखियो।
कुनैबेला रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा राना थारु भाषाको समाचार वाचिका थिइन् उनी। साढे चार वर्ष रेडियोमा काम गरेर एक दिन नेपालगञ्ज तालिममा पुगिन्। तालिममा थाहा पाइन्, रेडियोमा बोल्दा जम्मा १० प्रतिशतले मात्र दिमागमा राख्दा रहेछन् भन्ने कुरा। त्यसपछि रेडियोको जागिर राजीनामा गरी धनगढी फर्किएर सरकारी विद्यालयमा पढाउन थालिन्। समाजमा एक प्रेरक व्यक्तिको रुपमा देखापरेकी उनको संस्कृति संरक्षणलगायत जनचेतना जोगाउने काममा ठूलो योगदान रहेको छ। यस क्रममा उनले गरेका संघर्षका पाटाहरु समेटिने छन् अर्को लेखमा।