बागी उम्मेदवार बनेकी खुस्बुलाई राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएपछि राप्रपामा भाँडभैलो

गएको प्रतिनिधिसभा चुनावमा झापा क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवार बनेकी खुस्बु ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पुन: पार्टीमा भित्र्याएपछि पार्टीभित्र भाडभैलो भएको छ।

आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठेपछि खुस्बुलाई राप्रपा झापा जिल्ला कार्य समितिले साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको थियो। पार्टीबाट निष्कासित भएकी ओलीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले विधि विधानको धज्जी उडाउँदै पार्टीको असार ११ र १२ गते  केन्द्रीय सदस्य र प्रशिक्षण विभागको उपप्रमुखमा नियुक्ति दिएपछि पार्टीभित्र तीव्र भाडभैलो बढेको हो।

अध्यक्ष लिङ्देनको बोली एउटा व्यवहार अर्को भएको भन्दै देशभरका अधिकांश कार्यकर्ताहरु निरास रहेको बताइन्छ। ‘अध्यक्षले जे गर्दा पनि हुँदो रहेछ, आफ्नै पार्टीको उम्मेदवारलाई हराउन उम्मेदवार बन्ने ओलीलाई सबक सिकाउनु पर्नेमा क्रेनले उठाएर ल्याए जस्तै पदमा राखेपछि हामीमा अपमानित तथा लज्जाबोध भएको अनुभूति भएको छ’, राप्रपाका एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षको काम गराइले हाम्रो उर्जा घटेको छ। राजनीतिक भविष्य नै अन्यौल देखेका छौँ।’

पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई खुसी पार्नेहरु मात्र पार्टीमा हाबी हुने हो भने पार्टी धराशायी हुने ती नेताले बताए। ‘उहाँको काम गराइ बुझिनसक्नुछ, उदेक लाग्दो छ’, ती नेताले भने, ‘आफू आउ भनेर पार्टीका उम्मेदवारलाई एमालेसँग भिडाउनुहुन्छ, आफू चाहिँ सेभ जोनमा खेल्दै त्यही एमालेसँग एलायन्स गर्नुहुन्छ।

यता, राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझाले ओलीलाई कारवाहीको लागि सिफारिस मात्र गरिएको गोलमोटल जझाफ दिए। तर उनले निकालेको विज्ञप्तिमा साधरण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख छ। अध्यक्ष ओझाले भने, ‘खुस्बु ओलीजीले आत्म आलोचना गर्दै पार्टीमा खट्छु, हरेक गतिविधिमा सक्रिय हुन्छु भनेपछि केन्द्रीय अध्यक्षज्यूले पार्टीको जिम्मेवारी पदमा मनोनित गर्नुभएको हो। यसमा जिल्लाभन्दा केन्द्रको निर्णय नै उपयुक्त हुन्छ।’

त्यसो त पार्टीको हालसालै बसेको केन्द्रीय कार्य सम्पादन बैठकमा अधिकांश सदस्यहरुले पार्टी सञ्चालन गर्न दीर्घकालीन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमताको आवश्यकता पर्ने तर अहिले पार्टी नेतृत्व चाकरी, चाप्लुसी र भक्तिगानमा रुमल्लिँदै एकाङ्गी ढङ्गले अघि बढेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए।

प्रकाशित मिति: : 2023-06-30 14:41:00

प्रतिकृया दिनुहोस्