कोलम्बियामा जन्मेर मेक्सिकोमा विसर्जन भएका गाब्रियल गार्सिया मार्खेज बीसौँ शताब्दीका एक महान् आख्यानकार हुन् । उनलाई प्रख्याति दिलाउने उपन्यास सय वर्षको एकान्त हो । यसै उपन्यासले उनलाई विश्वविख्यात बनायो । नाम दियो । दाम दियो । प्रतिष्ठा दिलायो । ‘म्याजिकल रियालिज्म’ को उत्कृष्ट विशिष्ट दृष्टान्तको रूपमा विश्वभर यस उपन्यासको नाम लिइन्छ ।
तर, यो उपन्यास प्रकाशनअघिसम्म मार्खेज गरिबीको दलदलमा यसरी चुर्लुम्म डुबेका थिए कि अपार्टमेन्टको भाडासमेत कैयौँ महिनासम्म दिन नसकेर लज्जित अवस्था भोगिरहेका थिए । कतिसम्म भने ‘सय वर्षको एकान्त’ लेखिसकेपछि प्रकाशककहाँ हुलाकबाट पठाउनसमेत उनीसँग यथेष्ट पैसा थिएन । उनी श्रीमतीसहित हुलाक गएका थिए, पाण्डुलिपि बोकेर । हुलाकको कर्मचारीले पाण्डुलिपि पठाउन उनीहरूसँग भएको पैसाले नपुग्ने बताएपछि मार्खेजले सोचे, आधा पाण्डुलिपि भए पनि पठाउन पाए प्रकाशकले काम गर्दै गर्ने थिए । उनीहरूले आधा पाण्डुलिपि हुलाकबाट पठाए । घर फर्केपछि थाहा भयो, उनले पाण्डुलिपिको पछिल्लो आधा भाग पो पठाएछन् ।