केही वर्ष पहिले मासाचुसेटमा बस्दा सँगै काम गरेको एउटा नेपाली भाइसँग अचानक सीपिंगवर्गमा भेट भयो। ऊसँग करिब एक घण्टा कुरा गरेर बस्दा उसको फोनमा करिब तीन/चार पटक टिङ्गरिङ्ग गरेर म्यासेज आयो। मैले के म्यासेज हो? भनेर सोध्दा उसले सबै म्यासेज मलाई देखायो। उक्त म्यासेजहरुमा उसको नातागोता र साथीहरुले मलाई यस्तो समस्या पर्यो वा उस्तो समस्या पर्यो भनेर अनेकौँ कारण देखाउँदै केही रकम पठाइदिन अनुरोध गरेका थिए। सबै म्यासेजहरुमा भलै बेहोरा र भाषा फरकफरक थियो तर विषय एउटै थियो, आर्थिक सहयोग।
उसले कतिलाई माग बमोजिम रकम पठाउँछ वा पठाउँदैन त्यो पंक्तिकारलाई थाहा छैन तर उसको कुरा सुन्दा प्राय:लाई उसले अनेक बहाना बनाएर टार्छ र एक पैसा पनि दिँदैन। र, सधैँ दिएर सम्भव पनि छैन। यहाँ भेट हुने प्रायः व्यक्तिहरुको साझा गुनासो भनेको नै ‘नेपालमा रहेका इष्ट-मित्रहरुले पैसा मागेर हैरान पारे’। लौ न त यसो सहयोग गर्न ऋण दिउँ भने पनि पछि फर्किने होइन, नदिउँ भने तारन्तार फोन गरेर हैरान पार्छन् भन्ने हो।
अब उनीहरु कति सत्य वा झुठो बोल्छन्, त्यो उनीहरुकै कुरा हो। तर नेपालमा रहेका अधिकांश व्यक्तिहरुले ‘विदेशमा रहेका मेरो साथी वा नातेदारले पैसा कमायो र त्यो पैसामा मेरो पनि हक लाग्छ’ भनेर पैसाको माग गर्ने कुरा भने सत प्रतिशत सत्य हो। यद्यपि, त्यो कुरा बाहिर स्वीकार भने गर्दैनन्।
अमेरिकामा रहेका उच्च शिक्षितबाहेक अधिकांश नेपालीहरुले राज्यअनुसार प्रतिघण्टा औसत १५ डलर ज्यालामा काम गर्ने हो। अर्थात अधिकांशको दैनिक कमाई एक सय पचास डलरभन्दा माथि जाँदैन। कागजपत्र नभएकाहरुको हकमा त्यो रकम अझै घट्छ। यस हिसाबले हप्ताको सातै दिन दैनिक आठ घण्टा काम गर्यो भने मासिक आम्दानी भनेको बढीमा चार हजार डलरको वरिपरी हुन्छ, यो अधिकतम हो। यसमा घट्न सक्छ तर बढ्दैन। कुनै कारणले वा बिरामी परेर त्यो दिन काममा गएन भने वा हप्ताको एक दिन बिदा बस्यो भने त्यो ज्याला आउँदैन। हप्तामा सातै दिन काम गर्न अत्यन्तै कठिन हुन्छ। कामको समयमा एकछिन बस्न पाइँदैन, उभिएर नै काम गर्नुपर्छ। काम सकिएर डेरा पुग्दासम्म खुट्टा झर्ला जस्तो हुन्छ।
अब यति मेहनत गरेर आएको पैसामा कसैले ‘मेरो पनि हक लाग्छ’ भनेको जस्तो गरेर मागेको माग्यै गर्छ भने त्यो व्यक्तिलाई कति रिस उठ्ला? यो सामान्य मान्छेहरुको कुरा हो। तर यतैको विश्वविद्यालयमा अध्ययन गरेका उच्च शिक्षित व्यक्तिहरुको कमाई योभन्दा धेरै हुन्छ। यसको साथै कठिन कार्यहरु जस्तो- माइनस १४ डिग्रीको चिसोमा बसेर कुखुराको भुत्ला तान्ने, सुँगुरको छाला निकाल्ने, सडक तथा घर निर्माण गर्ने, अपाङ्गता भएकाहरूहरुलाई स्याहार्ने जस्ता कामहरुमा मासिक दश हजार डलरभन्दा माथि पानी कमाइ हुन सक्छ तर यो काम सबैले गर्न सक्दैनन्।
कामको हकमा केही अपवाद व्यक्तिहरुलाई छोडेर सबैले गर्ने भनेको भारतीय मुलका व्यापारीहरुको पसलमा वा घरमा हो। जसले जति नेपालमा म यस्तो र उस्तो भनेर गफ हाँके पनि उसले कुचो लगाउने, भुँइ र चर्पी पुछ्ने जस्ता काम गर्नैपर्छ। कोही सानोतिनो भने पनि आफ्नै व्यवसाय गरेर बसेका छन्। उनीहरुले पनि यी सबै काम गर्छन्। तर उनीहरुलाई आफ्नै ठाउँमा काम गरेको छु भन्ने आत्म सन्तोष होला त्यो अर्कै कुरा हो।
अझ कसैले म म्यानेजर छु भन्यो भने त त्यो सबैभन्दा दुखी प्राणी हो भन्ने बुझ्दा हुन्छ। उसले काम पनि बढी गर्नुपर्ने र जिम्मेवारी पनि बढी हुन्छ। तर पैसा भने सबैको जतिकै हो। तर अपवादमा कोही उच्च शिक्षित व्यक्ति बहुराष्ट्रिय कम्पनीको म्यानेजर हो भने अर्कै कुरा हो। स्मरण रहोस्, नेपालमा स्नातकोत्तर उतीर्ण गरेको हो भने पनि उसको हैसियत यहाँ औंठा छाप बराबर नै हो। यदि उसले यता पुन: अध्ययनलाई अगाडि बढाएको छैन भने।
पंक्तिकारको विचारमा नेपालमा रहेका आफन्त वा साथीहरुले पैसा मागेर हैरान गर्नुको दुई वटा कारणहरु छन्। पहिलो- यहाँ बसेर संघर्ष गरिरहेको व्यक्तिले सत्यभन्दा पनि बढाइचढाइ बोलेको हुन्छ र यो देशमा पैसा रुखरुखमा फलेको र सडकसडकमा पैसा फ्यालेको हुन्छ अनि हामीले त केवल टिप्ने मात्र हो भन्ने जस्तो गफ लगाएको हुन्छ। अब यति सजिलै पैसा आउँछ भने हामीलाई पनि अलिकति दिँदा के फरक पर्ला र भन्ने मनोविज्ञानले काम गरेको हुनुपर्छ। दोस्राे- कारण भनेको कोही मान्छेलाई वास्तविक रुपमै आपतविपद परेको बेला मेरो नजिकको मान्छेसँग यति धेरै पैसा छ, यो समयमा पनि सहयोग नमागे कहिले माग्ने भनेको पनि हुन सक्छ। तर अधिकांश पैसा माग्नेहरुमा दोस्राेभन्दा पहिलो समूहका व्यक्तिहरु पर्छन् जस्तो लाग्छ। यो मेरो नितान्त निजी मूल्यांकन हो।
कसैले आपतविपद नै भएर माग्यो भने पनि त्यो पैसा अपवादलाई छोडेर फर्किन्न। पंक्तिकारलाई पनि समय-समयमा ‘प्लिज सहयोग गर्नुस्’ भन्ने जस्ता अनुरोधहरु आउँछ तर सबैले भन्नेबित्तिकै सहयोग गर्न पनि सकिन्न। यो प्रसंगमा भने सहयोग गर्यो भने फिर्ता गर्नुपर्ने कारण र सहयोग गरेन भने त्यसै पनि सम्बन्ध बिग्रिनेमा दुई मत छैन। अर्थात् हिन्दी भाषाको उखान जस्तै, ‘गाँठ गुमाना, बेकुफ बन्ना’।
दशैँ मनाउन, श्रीमतीलाई साडी किन्न जस्ता आफैँले समाधान गर्नुपर्ने समस्या देखाएर लाज पचाएर अरुसँग पैसा मागेर आफ्नै हुर्मत आफैँले लिने तथा केही पैसा दिएर वा नदिएर पछाडि अर्काको बेइज्जत गर्नुभन्दा माग्नेले पनि आफ्नो समस्या आफैँले सुल्झाउनुपर्छ भनेर सोच्ने र दिनेले पनि यदि भित्री मनले दिएर सहयोग गर्ने हो भने फेरि त्यो विषयमा अरु कसैसँग कुरा नगर्ने र यहाँको यथार्थ बताइदिने हो भने यो समस्या केही कम हुन्थ्यो कि?
@twitter#naviinr
(प्रबुद्ध पाठक वर्गहरुमा अनुरोध छ कि यसमा असम्बन्धित व्यक्तिहरुले अन्यथा नलिनु हाेला। यो आलेख जे जोसँग सम्बन्धित छ- लेखक)