उमेर सानै छँदा परिवर्तनका लागि माओवादी युद्धमा होमिएकी म यतिबेला रुकुम पूर्वको दुर्गम पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष छु। मैले गरेको योगदान र मेरो क्षमतालाई आत्मसात गर्दै पार्टीले दिएको जिम्मेवारी र मतदाताले दिएको अभिभारा बोकेर दिनरात सेवामा खटिएको सगर्व भन्न सक्छु।
अनेक अभाव र समस्याका बाबजुत थोरै लगानीमा धेरै गर्नुपर्ने बाध्यताले थिचिए पनि समाज परिवर्तन र सुधारमा जाने/सकेको गरिरहेको छु जस्तो लाग्छ। शिक्षा, स्वास्थ्य र गासबासको समस्याले जेलिएको मेरा बस्तीहरुमा चरम गरिबी उत्तिकै छ। राज्यको मुलधारले गतिलो नजर पुर्याउन नसक्दा आज पनि मौलिक भनिएका हक स्थानीयको दैलोमा छिर्न सकेको छैन।
पुरुषवादी सोच, पितृसतात्मक हाम्रो परिवेशमा महिला भएकै कारण भोग्नु परेका अनेकन समस्याका बारेमा भविष्यमा कलम चलाउने बाचा गर्छु। सुत्केरी व्यथाले च्यापेका आमालाई अस्पताल पठाउनेदेखि प्रकोपसम्मका समस्यामा आफैँ पुग्नुपर्ने बाध्यता एकातिर छ भने सरकारले जिम्मेवारी दिएकाे दैनिकी पनि सकाउनै पर्ने हुन्छ।
दुर्गमका स्थानीय तहमा हुने कर्मचारी अभाव, न्यायिक समितिमा बसेर न्याय सम्पादन गर्दा कानुनी समस्या, अनुगमनदेखि विभिन्न कार्यक्रमहरुले कुनै दिन कुनै क्षण स्वतन्त्रताको अनुभूति नभएपनि आफ्नै गाउँमा केही नयाँ र केही राम्रो गर्ने लालसाले खुसी दिएको छ।
सदरमुकाम पुग्नलाई आज पनि तीन दिनसम्मको पैदल यात्रा तय गर्नुपर्ने बाध्यता कम कहिलीलाग्दो छैन। ३ वटा मात्र गाउँपालिका रहेको रुकुम पूर्वको १४ वडा रहेको सबैभन्दा ठुलो स्थानीय तह पुथा उत्तरगंगा गाउँपालिका हो। यहाँका धरै आमाहरुको पाठेघरमा समस्या छ। केही महिनाअघि ओरेकसंगको सहकार्यमा गाउँपालिकाले सम्पन्न गरेको निशुल्क महिला स्वास्थ्य शिविरमा आएका २ सय ३० महिलाको पाठेघर जाच गर्दा १ सय २३ जनामा समस्या देखिएको थियो। चरम गरिबीका कारण यहाँका आमाहरु सदरमुकाममा रहेको जिल्ला अस्पतालसम्म उपचार गर्न जान नसक्नुले समाजको सहज चित्रण गरिरहेको छ।
माओवादी युद्धका क्रममा मारिएका महान सहिदहरूको सम्झनामा बनाइएको र नामकरण गरिएको सहिद मार्ग। दाङको घोराहीदेखि रोल्पा होलेरी, घर्तीगाउँ, परिवर्तन, थवाङ हुँदै रूकुम पूर्वको मैकोटसम्म यसको गन्तव्य छ। सहिदका परिवारले सहादत प्राप्त आफन्तको सम्झना गरुन्, पीडाहरू भुलुन् भनेर सायद यो मार्ग खनिएको हुनुपर्छ। सहिद मार्गका वरिपरि संघर्ष, साहस र बलिदानीका कथाहरू मात्रै भने पक्कै छैनन्। यहाँ भोक, अभाव र उत्पीडनका कथा पनि उत्तिकै छन्।
सहिद मार्गले रूकुम र रोल्पालाई प्रदेश राजधानी दाङसँग नजिक त बनाएको छ तर सबै गरिबी, अभाव र पीडाबाट टाढा बनाउन भनेको सकेको छैन। यही सहिद मार्गमा दाङदेखि रोल्पा छिचोल्दै रूकुम पूर्व जाँदै गर्दा रोल्पाको परिवर्तन गाउँपालिकामा भेटिएकी एक वृद्धा आमासँगको भेटले मेरो मनस्थिति फेरिदिएको छ।
म काम विशेषले दाङमा थिएँ। जन्मभूमि तथा कर्मभूमि पुथा उत्तरगंगा गाउँपालिका रूकुम पूर्व फर्कनु थियो। कार्यालयमा योजना तर्जुमाका चाङ थिए भने गाउँमा भूमे पर्वको रौनक थियो। दाङबाट रूकुम पूर्व पुग्न दाङ–सल्यान–रूकुम पश्चिम–रूकुम पूर्व एउटा सडक छ भने दाङ–रोल्पा–रूकुम पूर्व अर्को सडक। अर्थात विकल्प छ, राप्ती लोकमार्ग वा सहिद मार्ग। यी दुईमध्ये जुन सडक प्रयोग गरेपनि उस्तै घुमाउरो छ। अनि जोखिमपूर्ण यात्रा। यसपटक राप्ती लोकमार्गबाट नभएर सहिद मार्गबाट यात्रा गर्ने निर्णयमा पुगेँ म।
तीव्र गतिमा काम भइरहेको सहिद मार्गको काम हेर्दै, रूकुम पूर्वमा यस्तै सडक निर्माणको मिठो कल्पना गर्दै यात्रा अगाडि बढ्यो। सडक जाम नेपालको पुरानै रोग हो। साविकझैँ यसपटक पनि सहिद मार्गमा चार घण्टा जाममा परियो। रूकुम पूर्व पुग्नेगरी दाङबाट तय भएको यात्रा रोल्पामै बिराम लगाउनुपर्ने स्थितिमा पुग्यो। किनकी साँझ छिप्पिसकेको थियो। बासको विषयमा सोचिरहेको बेला पुथा उत्तरगंगा गाउँपालिका घर भई सहिद मार्गमा सडक निर्माणको काम लिनुभएका एकजना मामासँगको भेटले सहजता थप्यो।
मामाको मेजमानी स्वीकार गरेपछि उहाँसँगै त्यतै बस्ने भएँ। तनले रोल्पामै बस्ने वातावरण पाएपनि मन भने बजेट निर्माणको काम र भूमे पर्वको यादले गाउँमै थियो। हामी प्रकृति पुजक हौँ। हामी सुमे–भूमेलाई मूल देवता मान्छौँ। भूमे पर्व अर्थात बल पूजा हाम्रो खास चाड हो। भूमेको गरिमालाई स्विकार्दै प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदासमेत दिएको थियो।
कोठामा सामान थन्क्याएर भूमे पर्वबारे सोच्दै ‘छोरी आउली र रमाइलो गरौँला’ भनेर बसेकी मेरी बुढी एकल आमाको अनुहार सम्झिँदै फ्रेस हुन धारामा पुगेँ। धारामा अचानक एकजना वृद्ध महिलासँग भेट भयो। सेतै फुलेको कपाल, फाट्टफुट्ट बाँकी रहेका दाँत, चाउरिएर मुजामुजा परेको छाला, चरचर फुटेका हात, पसिनाको अमिलो बास्ना। भोक, अभाव, गरिबी र उत्पीडन टाढैबाट प्रष्ट देखियो। नजिक पुगेपछि अर्को कुरा पनि प्रष्ट भयो, उहाँको खुट्टा पनि अपाङ्गता पो रहेछ। नजिकै गएँ। लामो सास फेरेँ। मन अमिलो भयो। परिचयसम्म गरेँ।
वृद्ध आमासँग भलाकुसारी गर्दै गर्दा मामाले बोलाएपछि म भारी मन लिएर आमालाई छाडी खाना खान गएँ। थरीथरीका मीठा परिकार थिए तर मेरो ध्यान ती आमाका थरिथरिका बेदनामा थियो। मेरो अनुरोधमा हाम्रो खानाबाट ती आमाका लागि पनि खाना पठाइदियौँ। राति अबेरसम्म ती आमाको बारेमा कुराकानी भयो। मामाले बताएअनुसार २ छोरा र २ छोरी जन्माएकी ती आमाले श्रीमान गुमाइसक्नुभएको रहेछ। चार/चार सन्तान भएपनि हाल साथमा ७ र ११ वर्षका दुईजना नातिनीहरू मात्र रहेछन्।
नियतिले आमाको बुढो ढाडमाथि दुई नातिनीको लालनपालन र पढाइको जिम्मेवारी बर्साइदिएको रहेछ। सम्झनाको ताउलोमा भक्भकी पाक्दै, म रातभर छट्पटाइ रहेँ। बिहान मिर्मिरेमै म उहाँलाई भेट्न गएँ। ती आमा बिहानै उठेर धागो कात्दै हुनुहुन्थ्यो। लामो भलाकुसारी भयो। कुराकानीका क्रममा घरि उहाँ भक्कानिनुहुन्थ्यो। मनोविमर्शकर्ता भएर लामो समय काम गरेको भएपनि म आफैँ पनि भक्कानिन्थेँ।
नाम बिरमती पुन। उमेर ७१ वर्ष। दुई नातिनी पाल्ने र पढाउने जिम्मेवारी। चार महिना उधारो चामल खाएर वृद्ध भत्ता आएपछि तिर्ने गरेको यथार्थ। उहाँले गहभरी आँशु पार्दै भन्नुभयो ‘नानी उस्तै खाले छोराछोरी हुनुभन्दा कोख बाँझै रहनु ठिक रहेछ।’ समय निकै घर्किसकेको थियो। म हिँड्नैपर्ने थियो। एकातिर दुःखको पर्यायका रुपमा रहेकी यी स्नेही आमा, अर्कोतिर मगर समुदायको महान चाड भूमे मनाउन पर्खिबसेकी मेरी आमा दुबै मेरा लागि उत्तिकै महत्वका थिए। उमेरकी असहाय आमालाई सक्दो खाद्यान्न सहयोग गरेर मेरो तन गन्तव्यको यात्रामा निस्कियो। गाडी कुदिरह्यो। मन चाहिँ घरि बाटोकी यी आमा कहाँ, घरि घरकी अर्की आमाकहाँ कुदिरह्यो। सहिद मार्गमा भेटिएकी बिरमती जस्ता धेरै आमाहरु आज पनि गाउँ बस्तीमा शारीरिक र मानसिक पीडासँग जुधेर बाँचिरहनुभएको छ।
जनयुद्धमा ज्यान गुमाएका सहिद परिवार अनि अभावमा जीवनसंग जुधिरहेका आम स्थानीयको ओठमा हाँसो ल्याउन निर्वाचित भएको गत एक वर्ष यताको कार्यकालमा केही गरेको छु भन्ने लागेको छ। त्यसो त अझै पनि गरेभन्दा धेरै गर्न बाँकी छ। सीमित स्राेत साधनमा धेरै आवश्यकता पूर्ति गर्नु आफैँमा चुनौतीपूर्ण छ। देशमा रहेका अन्य दुई संघ र प्रदेश सरकारले कम्तिमा पनि आधारभुत आवश्यकता परिपूर्तिका लागि थप सहयोग गरेमा दुर्गमका जनताको मुहारमा मुस्कान थप्ने प्रयास रहने प्रतिबद्धता गर्दछु।
(लेखक बुढा रुकुम पूर्वकाे पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष हुन्)