धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपिओ निष्कासन रोक्दै 

नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्ने भएको छ। 

उद्योगको आइपिओमा झुटा आवेदन परेपछि बोर्डले रोक्न लागेको हो। घोराहीको आइपिओ निष्कासन रोक्न लागेको बोर्डका अध्यक्ष रमेश हमालले बताए। बोर्डले कारबाही अघि बढाइसकेकोले आइपिओ निष्कासन स्थगन भएको अध्यक्ष मल्लले बताए। 

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आइपिओमा झुटा आवेदन परेको प्रमाणित भएपछि सोमबार नै बोर्डलाई जानकारी गराएको छ। आइपिओमा झुटा आवेदन परेपछि बोर्डले रोक्न लागेको हो।

उद्योगको आइपिओमा ठूलो रकमको सेयरका लागि आवेदन परेको छ। आवेदन परे पनि बैंक खातामा पैसा नहुँदा अस्वीकार भएपछि झुटा आवेदन प्रमाणित भएको सिडिएसले बोर्डलाई जानकारी गराएको छ।

यता सिडिएसले सोमबार विज्ञप्ति जारी गरी संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेकोभन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झुटा र जालसाजियुक्त कारोबार हुने स्पष्ट पारेको छ।

घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएको छ। ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त सेयरका लागि रकम नभएको सिडिएसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पूर्णप्रसाद आचार्यले बताएका छन्। प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको उनले बताए।

उद्योगले जेठ ३२ देखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपिओ निष्कासन गरेको हो। घोराही सिमेन्टले आइपिओ निष्कासनको समय बढाएर असार १४ गतेसम्म पुर्‍याएको छ।

आइपिओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीहरूबाट पूर्ण आवेदन भने पर्न सकेन।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १ सय ९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६ सय ६१ कित्ता, सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा ३ लाख ७७ हजार ३३१ कित्ता बिक्री खुला गरेको थियो। यसअघि वितरण हुन नसकेको सेयरसमेत थप गरी कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गरेको हो।

उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ।

सर्वसाधारणका लागि भने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी ४ सय ३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन्।

प्रकाशित मिति: : 2023-06-19 17:26:00

प्रतिकृया दिनुहोस्