सन् १९९४ देखि २०११ सम्म इटालीका पूर्वप्रधानमन्त्री रहेका सिल्भिओ बर्लुस्कोनीको निधन भएकाे छ। मिडिया सेट नामक कम्पनीका मालिकसमेत रहेका उनकाे साेमबार (१२ मे)का दिन इटालीकाे मिलानमा निधन भएकाे हाे।
सन् १९८६ देखि २०१७ सम्म फुटबल क्लब एसी मिलानको मालिकसमेत रहेका बर्लुस्कोनी महिलाहरुसँगको सम्बन्धका कारण पनि चर्चित छन्।
बुङ्गा बुङ्गा पार्टी अर्थात् सेक्स पार्टी र सन् २०११ मा ३३ महिलाहरुसँगको यौन सम्बन्ध र इजिप्टका तत्कालीन राष्ट्रपति होस्नी मुबारककी नाबालिग भतिजी तथा डान्सर बलात्कारको कारणले सधैँ विवादमा रहने बर्लुस्कोनीले एकपटक आफ्नो सरकारका सबै कार्यकारी पद महिलाहरुलाई मात्र राखेका थिए, जसमा धेरै विवादित महिलाहरु थिए।
आफ्नो मन्त्रिमण्डलमा अश्लील सिनेमाकी नायिका मारा कारफग्नालाई समेत मन्त्री बनाएका बर्लुस्कोनीले आफूलाई कारफग्नासँग विवाह गर्ने इच्छा भएको बताएका थिए। आफूभन्दा ५३ वर्ष कम उमेरकी प्रेमिकाको कारण पनि चर्चामा आएका बर्लुस्कोनीले कार्ला एलविरा लूसिया डैल'ओग्लियो र वेरोनिका लारियोसँग विवाह गरेका थिए र दुवै जनासँग उनको पारपाचुके भएको थियो।
सन् २०१४ मा बर्लुस्कोनी र लारियोबीच भएको पारपाचुके आजसम्मकै सबैभन्दा महँगो पारपाचुके थियो, जसमा बर्लुस्कोनीले लारियोलाई ४८ मिलियन अमेरिकी डलर नगद र अचल सम्पत्ति दिनु परेको थियो।
२९ सेप्टेम्बर १९३६ को दिन मिलान इटालीमा जन्मेका धनाढ्य र पूर्व प्रधानमन्त्री बर्लुस्कोनी जीवनपर्यन्त महिलाहरुसँगको सम्बन्धको कारण विवादमा नै रहने गर्थे।