पैठ मस्टो परम्पराको उत्कृष्ट रुप (भिडियोसहित)

कर्णाली सांस्कृतिक विविधताकाे खानी हाे। यहाँ मनुस्मृतिले शुद्र भनिएकाको बसोबास खस साम्राज्य अघिदेखि नै भएको कुरा कर्णाली र भेरी नदीको नामाकरणबाट पनि पुष्टि हुन आउँछ।

कर्णालीको कर्णाल र भेरी दुबै बाजाका नाम हुन्। बाजा बजाउने र बनाउने काम अहिलेका शुद्र भनिएकाहरु बाहेकले गर्दैनन्। यो तथ्य हालसम्म अलिखित भएपनि यो बलियो तर्क बन्न सक्ने आधार छ।

लिखित दस्तावेजअनुसार साँढे १२औं शताब्दीमा तिब्बतबाट सिंजा आई आफ्नो राज्यको विस्तार गरेका खसको पहिलो राजा नागराज हुन्। नागराजको पालादेखि नै खसहरुले मस्टो परम्परा अंगालेको बुझ्न सकिन्छ। तथापि प्रकृति पुजक समुदाय त्योभन्दा पहिला नै थियो। यहाँ रहेका कोट र किल्ला त्यसका उदाहरण हुन्।

पछि सबैले मस्टो परम्परालाई अपनाएका हुनाले यहाँका खस, आर्य र शुद्रहरु सबै मस्टो मानिरहेका छन्। प्रकृति पूजाको रुपमा रहेको मस्टो कर्णालीबासीको इस्ट देवता हो।

आपत, विपत, भोक, रोग संकट, व्याधी, महामारी आदि विपत्तिमा इस्ट देवता मस्टोलाई मुल आधार मानी पूजाआजा गर्ने, भाकल गर्ने, दान दिने, वली दिने चलन हालसम्म यथावत् रहेको छ। तथापि यो मनोवैज्ञानिक उपचार पद्धति हो। अस्पताल नभएकाे ठाउँमा जडिबुटी र  मनोविज्ञानबाहेक अरु उपाय पनि थिएन।

अर्काे महत्वपूर्ण कुरा हिन्दु र बौद्ध धर्मको विचारबाट प्रभावित भइ त्यसलाई अनुसरण गरी धार्मिक, सामाजिक विविधतालाई अंगाल्ने र संरक्षण गरेको पाइन्छ। जस्तो लेकपुर र ओदीमा रहेको लामा विष्णुको थान। मुगु छायानाथ मन्दिर एउटै भएपनि बुद्ध र हिन्दु धर्म मान्ने दुबै समुदायले पूजा गर्छन्।

कर्णालीको जुम्ला सिंजालाई राजधानी बनाएर राज्य सञ्चालन गरेका खसले मस्टो परम्परालाई अंगालेपछि यो झन् व्यापक भयो। जुन हालसम्म यहाँका नागरिकको लागि उपहार बनेको छ। जसलाई कर्णालीबासीको मुख्य धरोहर भन्दा पनि हुन्छ।

मस्टोका बाह्र भाइ हुन्छन्। जसअन्तर्गत थार्प मस्टो, बुडु मस्टो, ढँडार मस्टो, खापर मस्टो, तेडि मस्टो, कवा मस्टो, कालसिल्ता मस्टो, रूमाल मस्टो, गुरो मस्टो, दाह्रे मस्टो, दुधे मस्टो, बाबिरा मस्टो पर्छन्। यी सबै एउटै सन्तानका भाइहरु हुन् भन्ने जनविश्वास छ। जसको वर्षमा चार वटा पूर्णिमामा पैठ हुन्छ। वैशाख पूर्णिमा, साउन पूर्णिमा, कार्तिक पूर्णिमा र माघ पूर्णिमा मूल रुपमा लिइन्छ। यसबाहेक कसैको भदौ पूर्णिमामा पनि पैठ लाग्छ।

विशेष गरी साउन पूर्णिमामा मस्टोको थानमा धुमधामको पैठ हुन्छ। ठुलो मेला लाग्छ। एउटा मस्टाको दुई वटा थान हुन्छन्। एउटा घर नजिकको थान। जहाँ धामी बसल्ने, हेराउने कोराउने गरिन्छ। अर्को घरभन्दा टाढा रहेको थान, जहाँ पैठ लाग्छ।

मेला लाग्ने दिनको अघिल्लो राति थानमा आगो बाली रातभर खडाती गर्ने, जाग्राम बस्ने, रात ब्याउने गरिन्छ। त्यो समयमा बाजा बजाएर मस्टोको अवतार धामीझाँक्रीमा हुन्छ। भारा (घण्टा, शंख र विविध धातुका सामग्री) चोख्याएर विधिसम्मत पूजापाठ गरिन्छ।

कयौं कोष टाढाबाट जात्रुहरु मेला हेर्न आउँछन्। धामीझाँक्रीमा मस्टो अवतार भैसकेपछि आफ्नो भूत, वर्तमान र भविष्य हेराउने गरिन्छ। आफ्नो पिर, व्यथा, वेदना, चोरी, डकैती जस्ता विविध समस्या धामीका माझ पोख्ने र धामीले त्यसको सबै समाधानका निम्ति मस्टो सधैं तत्पर भएको आश्वासन दिन्छन्। बीचबीचमा बाजाको तालमा धामीहरू लामो समयसम्म हातमा घण्टी र चौरी फुर्को(चैरी गाइको पुच्छर) लिएर नाच्छन्।

मस्टो धामीझाँक्रीको शरीरमा चढेपछि आगोमा नाच्ने, कराइको तातो तेल पिउने, चामल माडेर सिकापाती (तिलक)निकाल्ने, घण्टीभित्र भएको फलामको रालो निल्ने जस्तो आश्चर्यजनक कार्य गर्छन्। यसले पनि आम मान्छेमा विश्वास रहिआएको देखिन्छ।

पैठमा मस्टोहरुको नाच फरकफरक बाजाको तालमा हुन्छ। बाह्र भाइ मस्टाका १२ भन्दा बढी ताल हुन्छन्। ती आ-आफ्नो तालमा नाच्ने गर्छन्। एक मस्टोले अर्को मस्टोलाई बाजाको तालमा नाच्न सहयोग गर्छन्। धामीझाँक्री एकआपसमा अंगालो हालेर भाइचारा रुपमा रमाइलो तवरले नाचेको दृश्य हेर्न पाइन्छ।

घरभन्दा टाढा रहेको थानमा हजारौं दर्शकहरुको भिड लाग्छ। त्यहाँ बाेकाको बलि दिने, टाटे (पुरी) बनाउने, खिर पकाउने, विभिन्न परिकार बनाएर देवतालाई चढाइ पाठपूजा गरी बाँडीचुँडी खाइन्छ।

मस्टो अवतार भएपछि दिनभर धामीझाँक्री नाच्ने नवआगन्तुकको भूत, वर्तमान र भविष्य हेराउन मानिसको थामी नसक्नु भिड हुन्छ। हेराएकाहरु चित्तबुझ्दो भएमा खुसी हुन्छन् भने कोही चित्त नबुझेका निराश भएर फर्किन्छ्न्। फेरि अर्को पूर्णिमाको पर्खाइमा समस्या समाधान हुने आशामा हुन्छन्।

मेला लागेको वन थानमा केही आर्थिक उपार्जनको लागि विभिन्न खाले फलफूल, खाजा, नास्ता, चाउचाउ, बिस्कुट आदि बिक्रीवितरण गर्छन्। केटाकेटी साली-भिनाजु, आफन्त, साथी-भाइ, दिदीबहिनीको यसैदिन भेटघाट, सम्बन्ध विस्तार, वर्ष पछिको मायाजाल साटासाट हुन्छ।

सालीले भिनाजुलाई, केटीले केटालाई घरबाट ल्याएका रोटी, काँक्रो, स्याउ आदि दिने गर्छन् भने पुरुषले महिलालाई आफूले ल्याएको कोसेली दिन्छन्। अहिले मेलामा बेच्न राखेका चाउचाउ, बिस्कुट किनेर दिने गर्छन् भने छोट्टी खेल्न जाने कुराकानी पनि यसैबेला मिलाइन्छ। जसले पैठलाई थप रोचक र आकर्षक बनाउने काम गर्छ।

धामीले पडेली भन्ने, खाम (भोटे जातिको भाषा) गर्ने, ४० अध्याय वेदको मौखिक वाचन गर्ने, आफ्नो नरको भविष्य हेर्ने जस्ता यावत् क्षेत्रका रहस्यमय तान्त्रिक विद्याका माध्यमबाट व्यक्त गर्छन्।

धामीझाँक्रीले लामो समयदेखिको विवाद मिलाउने, मुद्दा छिन्ने, वनको मुद्दा मिलाउने, पानी बाराबार आदि समाधान गरी न्यायाधीशको कार्य पनि गर्छन्। एकआपसी सम्बन्ध स्थापित गराउने, ऐन नियम र केही आफ्नो चरन स्थापित गरी जनलाई सुमार्गमा हिंडाउने मार्गनिर्देशन गर्नु मस्टोको मुल कार्य हो। तर यो चलन विस्तारै हराउँदै गएको छ।

पैठको दिन धामीझाँक्रीहरु केही समय थान बाहिर चौरमा आएर नाच्ने र केही समय थानभित्र गाथमा बसी अन्य काम गर्छन्। धामीझाँक्रीको तीन/चार दशकदेखि पालेको लठो (कपाल) हुन्छ। त्यस लठोमा कसैले सुन लगाएको हुन्छन् भने कसैले चाँदीले मुडेका हुन्छन्। धामीझाँक्री नाच्नेबेला मात्रै लठो खोल्ने र अन्य समयमा त्यसलाई छोप्नका लागि भित्र टोपी र बाहिर टाउकोमा पद्दुन्नीले बेरेर छोपिएको हुन्छ।

लठोलाई विशेष प्राथमिकता दिइएको हुन्छ। कसैले लठो छोयो भने जरिवाना तिर्नुपर्छ, नत्र देउता लागेर अनिष्ट हुन्छ भन्ने विश्वास गरिन्छ। थानमा पूजा गर्नका लागि धामी, डाँग्री, पूजारी र खावा चार जनाको पदीय मण्डल हुन्छ। धामीले नाच्ने र हेराउने, पुजारीले पूजा गर्ने, डाँग्रीले भित्री काम गर्ने र खावाले सरसफाइ र सामान ओसारपसार गर्ने आ-आफ्नो काम गर्छन्।

सबैको भूमिका महत्वपूर्ण भए पनि यो दिनको मूल आकर्षक पात्रको रुपमा धामीझाँक्री नै हुन्छन्। पैठका धामीसँग सम्बन्धित गीत पनि छन्। त्यसमध्ये एउटा भन्छु है!

जन्त राम्रा बेहुला बेहुली, पैठ राम्रा धामी।
टाढाबाट धामी हेर्न पुगिसक्यौं हामी।।

रातदिनको पैठ सकिएपछि धामीमा अवतार भएको मस्टाले छोड्छ र धामीझाँक्री सामान्य स्थितिमा फर्कन्छ्न्। उनीहरु सामान्य मानिस सरह हुन्छन्। टाढाटाढाबाट आएका महिला, पुरुष, पाहुना, स्थानीय, धामीझाँक्री सबै जना देउडा खेलमा जुट्छन्। एउटा सवालजवाफ यस्तो छ:

पक्ष
सालसालै बेसाह(किनेर खाने) गरि हाम्मा जौ लिदाछौ।
लाइकन ढल्कन्या टोपी, यसै डौलिदाछौ।।

विपक्ष
कल्ले गर्‍यो ठिक्क ठाक्क, नलगाओ फुर्ती ।
रुपैयाँ हालेर लियौं, तुम्मा बाउका बुर्की।।

यो सामूहिक रुपमा खेलिने देउडाको सवाल जवाफ भयो, यसैबीच छोट्टी खेल्न जाने काम पनि हुन्छ। छोट्टी खेल्दाको सवालजवाफ पनि सुनौं है!

छोट्या:
मेरी प्यारी अब तँलाई कहिले माे भेटुला।
गाली(गाला) माम खाइकन तेरो तिर्सना मेटुला।।

छोट्टी :
पारी वन घाँस काट्न्या छु, ताँइ आया भेटौंला।
दिनभरि पिरती लाउला, तिर्सना मेटौंला।।

प्रकाशित मिति: : 2023-06-12 15:00:00

प्रतिकृया दिनुहोस्