अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध मुद्दा दायर: ह्वाइट हाउस मौन, रिपब्लिकन आक्रोशित

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध गोप्य कागजात दुरूपयोग गरिएको अभियोगमा मुद्दा दायर गरिएको छ। उनी राष्ट्रपति हुँदाका २६ बाकस गोप्य कागजात उनको निजी निबास  मार ए लागोमा अनाधिकृत रूपमा लगेको विषयमा छानबिन गरिरहेको विशेष छानबिन समितिले उनीविरूद्ध मुद्दा दायर गरेको हो।

छानबिन समिति संघीय न्याय विभागले गठन गरेको थियो। यसरी न्याय विभागले फौजदारी अभियोग लगाइएका ट्रम्प पहिलो अमेरिकी पूर्वराष्ट्रपति भएका छन् । उनीविरूद्ध सात अभियोग लगाइएको र तीमध्ये एक षडयन्त्रसँग सम्बन्धित अभियोग पनि भएको बताइएको छ । 

ट्रम्पका नाममा फ्लोरिडाको मियामीस्थित संघीय अदालतमा मंगलबार हाजिर हुने पूर्जी जारी गरिएको छ । 

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध गोप्य कागजात दुरूपयोग गरिएको अभियोगमा मुद्दा लगाइएको छ। अमेरिकाको इतिहासमै यस्तो मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपतिको कीर्तिमान बनाएका ट्रम्पले आफू निर्दोष रहेको बताएका छन् भने उनका समर्थकले आक्रोशित प्रतिक्रिया दिएका छन्। 

यसैबीच ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा चार मिनेटको भिडियो सन्देश पोष्ट गर्दै आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले आजको दिन अमेरिकाको इतिहासमै एक कालो दिन भएको बताउँदै आफूले चाँडै आफ्नो निर्दोषिता प्रमाणित गर्ने पनि बताएका छन्।

ट्रम्पविरूद्ध अभियोग लगाइएको सम्बन्धमा ह्याइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।  तर, रिपब्लिकन पार्टीका ट्रम्प समर्थक भने आक्रोशित देखिएका छन्। उनीहरूले ट्रम्पलाई राष्ट्रपति उम्मेद्वार हुनबाट रोक्न चालिएको नियोजित कदम भनेर भत्सर्ना गरेका छन्।

ट्रम्पविरूद्ध यो दोस्रो अभियोग हो । यसअघि चुनावी कोषको दुरूपयोगसम्बन्धी अर्को एक मुद्दा न्युयोर्कको म्यानहट्टन जिल्ला अदालतमा दायर गरिएको थियो । 

प्रकाशित मिति: : 2023-06-09 06:17:00

प्रतिकृया दिनुहोस्