एनआरएनए युएईको नेतृत्वको दौडमा पासाङ शेर्पा

गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी युएईका वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले संस्थाको आगामी नेतृत्वका लागि दाबी पेश गरेका छन्।बिएल नेपाली सेवासँग कुरा गर्दै शेर्पाले जुलाइमा हुने एनआरएनए युएईको ८औँ अधिवेशनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

शेर्पाले यसपटकको अधिवेशनमा संस्थाको विधि, विधान र पद्धति मान्ने र संस्थालाई कमाइखाने भाँडो बनाउनेहरुबीच लडाइँ हुने समेत बताएका छन्।

अधिवेशनको पूर्वसन्ध्यामा शेर्पाले आफूलाई नेतृत्वमा ल्याउन गृहकार्य समेत थालिसकेको बताए। उनले आफूले विगतमा गरेको योगदान र कामको मुल्यांकन गर्दै यसपटक सम्पूर्ण पञ्जिकृत सदस्यहरुले आफूलाई सहयोग गर्ने विश्वास समेत गरेका छन्। नेपाली समाजका अग्रज , बुद्धिजीवी तथा विभिन्न संघ संस्थाहरुले समेत आफूलाई समर्थन गरेको उनको भनाइ छ।

सन् २००७ मा एनआरएनए साउदी अरेबियाको कार्यसमिति सदस्य हुँदै एनआरएनए अभियानमा जोडिएका शेर्पा सन २०१७ देखि निरन्तर एनआरएनए युएईमा सक्रिय छन्। शेर्पाले कोभिड महामारीका दौरान एनआरएनए र दुबईको स्थानीय प्रशासनसँगको समन्वयमा संचालित कोभिड टास्कफोर्सको नेतृत्वसमेत गरेका थिए, जसले कोभिड प्रभावित हजारौँ नेपालीहरुलाई उद्दार र सहयोग गरेको थियो। उक्त अवधिमा खेलेको भूमिकालाई कदर गर्दै दुबई सरकारले उनलाई ‘कोभिड हिरो’ अवार्ड र प्रसंशापत्रबाट सम्मान गरेको छ।

पछिल्लो समय राजनीति र स्वार्थ केन्द्रित तत्वहरुको हालीमुहाली हुँदा संस्था नै बद्नाम बनेको सन्दर्भ कोट्यायँदै शेर्पाले आगामी कार्यकालको नेतृत्व पाए संस्थामा हावी बेथिति र व्यक्तिवाद अन्त्य गरी श्रमिकको हकहितमा केन्द्रित हुने बताए। तारे होटलमा केन्द्रीकृत संस्थाका विलासी गतिविधिहरुमा रोक लगाई श्रमिकमाझ जाने उनको भनाइ छ।

अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषा, संस्कृति, खानपिन र भेषभुषाको प्रवर्द्धनका लागि समेत शेर्पाले योगदान दिएका छन्। शेर्पाकै नेतृत्वमा युएईमा पहिलोपटक बुद्ध जयन्तीको अवसरमा वृहत् कार्यक्रम आयोजना गरिएको थियो। कैयन विदेशी सहभागी उक्त कार्यक्रमबाट ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने सन्देश विश्वव्यापी रूपमा प्रवाह भएको छ।

आइएलओ घोटाला काण्डमा मुछिएका शेर्पाले उक्त आरोपबाट सफाइ पाइसकेका छन्। उनी भन्छन्, ‘कोभिड महामारीको बेला आइएलओबाट प्राप्त राहत प्याकेजमा अनियमितता भएको कुरा उठाउँदा षड्यन्त्रपूर्वक फसाउन खोजिएको थियो तर नखाएको विष लाग्दैन रहेछ।’ अब एनआरएनएको नेतृत्वमा पुगेर संस्थालाई पूर्ण पारदर्शी बनाएर अगाडि बढाउने उनको प्रतिबद्धता रहेको छ।

युएईमा हुने हरेक सामाजिक गतिविधिहरुमा सहभागी हुने शेर्पाले युएईमा शेर्पा किदुङ, नेपाल आदिवासी जनजाती महासंघलगायतका संघ संस्थाको स्थापनामा समेत उल्लेख्य योगदान पुर्‍याएका छन्। आफ्नो योगदान र कार्यक्षमताको मुल्यांकन गर्दै एनआरएनए एनसीसी (युएई)को आगामी कार्यकाल (२०२३-२०२५) को नेतृत्वमा पुर्‍याउन सहयोग गर्न एनआरएनएका सम्पूर्ण पञ्जिकृत सदस्यहरुलगायत सरोकारवाला सबैलाई शेर्पाले आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2023-06-05 10:16:00

प्रतिकृया दिनुहोस्