गत शनिबार कार्यालय बिदाका दिन। एकसरो कामधन्दा सक्काएर मोबाइल चलाउनमा व्यस्त थिएँ। त्यतिकैमा बाहिरबाट ‘ईश्वरी दिदी कता हुनुहुन्छ’ भन्दै पल्लो घरकी छिमेकी आन्टीकी छोरी अन्जना म भएकाे ठाउँमा आइपुगिन्।
हातभरि किताब बोकेर उनी आफैँमा बरबराउँदै रिसले चुर देखिन्थिन्। अरुबेला हँसमुख उनको अनुहार दिक्क लाग्दाे देखेर मैले प्रश्न गर्दै साेधेँ, ‘के भो तँलाई? अनुहारमा बाह्र बजिरहेको छ त, किन हो?’ आफूले बोकिरहेको पुस्तक देखाउँदै उनले त्यही कारण बताइन्। र बडो घमण्डका साथ भन्न थालिन्, ‘तपाईंहरूलाई खुबै रमाइलो छ है! हामी जस्तो सर-म्यामको गाली सुन्नु पर्दैन। नयाँ कापी सक्किने गरी लेख्न पनि पर्दैन। वाह! क्या बिन्दास जीन्दगी।’
मेरो हातमा मोबाइल देखेर आपत्ति जनाएकी उनले जोसिँदै भनिन्, ‘अल्छी लाग्दा फोन चलाउने, झोला बोकेर अफिस जाने, त्यही त हो नि ठुलाे मान्छेकाे काम। काश, म पनि तपाईं जस्तो ठुलाे मान्छे भइदिए यसरी हातमा किताब डुलाउँदै त हिँड्नुपर्दैन थियाे।’
‘भुटिरहेको मकै’ जस्तो पड्किरहेको उनको बोली सुनेर मलाई रिस उठ्नको सट्टा हाँसो लाग्यो। स्कुल लाइफबाट दिक्दार बनेर जङ्गिएकी उनको कुरालाई ब्रेक लगाउँदै भनेँ, ‘खोई देखा होमवर्क केके छ?’
‘म्याथ, नेपाली, अङ्ग्रेजी र सामाजिक’ को होमवर्क छ भन्दै किताब पल्टाइन्। र फेरि गुनासो गरेर भनिहालिन्, ‘छ्या! होमवर्क पनि कति चाहिँ दिएको होला!’
गृहकार्य गर्न चिढिएकी अन्जनालाई सम्झाउँदै मैले भनेँ, ‘तिमीहरूले रमाइलो गर्न पाउने भनेकै यही स्कुले लाइफ हो नानी। ठुली भएपछि त केके जिम्मेवारी आइपर्छ। त्यसैले अहिले नै इन्जोय गर।’ मेरो कुरा नमान्ने पक्षमा रहेकी उनले मलाई नै उल्टै ‘तपाईंको लाइफ मोज छ, त्यही भएर मलाई सम्झाउनुहुन्छ’ भन्दै नानाभाँती सुनाइन्।
दयालु र घमण्डी स्वभावकी अन्जनालाई देख्दा लाग्छ, उनीभित्र मेरो बाल्यावस्था छ। किनकी सानाे छँदा म पनि अन्जना जतिकै जिद्दी स्वभावकी थिएँ, जो–कसैले भनेको नमान्ने र गलतै भएपनि आफ्नै कुरामा अडिग रहने।
अन्जनालाई जस्ताे मलाई पनि एक दशकअघि लाग्थ्यो, झोलाभरि किताब र कापी बोकेर स्कुल जानु ठुलै काम हाे। ज्यानले थाम्नै नसक्ने ब्याग बाेकेर स्कुल पुग्दा साेच्थेँ, ‘म कसैको लागि पढिदिइरहेकी छु। मैले अरूलाई उपकार लगाइदिरहेकी छु।’
२०७० सालताका म गोकर्णेश्वर मन्दिरकाे बायाँपट्टी २०२२ सालमा बनेकाे ‘श्री सहयोगी माध्यमिक विद्यालय’ मा कक्षा–८ मा अध्यनरत थिएँ। मलाई याद भएअनुसार त्योबेला मेरो पाँच जना घनिष्ट साथी थिए। जसलाई म आफ्नो ज्यानभन्दा प्यारो सम्झिन्थेँ।
उनीहरूका लागि म ‘क्लास बङ्ग’ (कक्षाकोठामा नबसी बाहिरै बस्नु) गर्न समेत पछि हट्दिन थिएँ। साथीका लागि झुठ बाेल्ने र बिनाकारण कुटाइ त झन कति खाएँ–खाएँ। त्यसकाे कुनै हिसाबै छैन। तर उनीहरूकाे संगतमा लागेर ‘भाइस प्रिन्सिपल’ को हातबाट खाएको त्यो कुटाइ भने अझै ताजा छ।
‘चन्द्र’ सर हाम्रो विद्यालयको उप–प्राध्यापक हुनुहुन्थ्यो। कडा स्वभावको भएपनि मन सफा थियो। नजानेको कुरामा सिकाउन सधैँ अघि बढ्ने सर विद्यार्थीको नचाहिँदो कुरामा चड्कन दिइहाल्ने हुनुहुन्थ्यो। त्यसैले उहाँको त्रास पूरै स्कुलमा फैलिएको थियो। कक्षा ८ मा हामीलाई उहाँले ‘स्वास्थ्य’ विषय पढाउनुहुन्थ्यो।
एकदिन चन्द्र सर आउनुभएको छैन भनेर साथी ‘क्रिश्टिना’ (नाम परिवर्तन)ले एकाएक कुरा फैलाइन्। मान्छे गफाडी भएपनि उनी साथीहरूका लागि मरिहत्ते गर्थिन्। ५.६ हाइट भएकी अग्ली उनी चञ्चले स्वभावकी थिइन्। उसकाे कुरा पत्याएर सर नआउनुभएको फाइदा उठाउँदै हामी स्कुलको गेट बाहिर पानीपुरी खान गयौँ। तर आधा घण्टापछि क्लासमा पुग्दा बेन्चमा हाम्राे किताब बाेक्ने झाेलै थिएन। पछि कुरा बुझ्दा थाहा भयो, सरले पढाएर जानुभएछ। झोला लिनका लागि हामीलाई उहाँकै अफिसमा बोलाउनुभएको रहिछ।
सर स्कुलमै हुनुभएकाे कुरा थाहा पाएर मैले क्रिश्टिनालाई गाली गर्दै भनेँ, ‘तिमीले हामीलाई जानी–जानी फसायाै हैन?’ मेराे कुरा सुनेर डराएकी उनले ‘सरी’ भनेर टारिन्।
स्कुलको ‘डेन्जर’ सरले नै बोलाउनु हुँदा हामी डरले कापिरहेका थियौँ। तर झोला नलिइकन घर फर्किँदा गाली सुन्नुपर्ने डरले सरको अफिस कोठातिर लाग्यौँ।
साथीहरू सरको अगाडि नजाने भन्दै ठट्टा गर्दै थिए। तर मलाई जसरी भएपनि मेरो झोला फिर्ता पाउनु नै थियो। त्यसैले साथीहरूलाई ढाडस दिँदै भनेँ, ‘हेर, केटीहरू हामीले चन्द्र सरको क्लास अन्जानमै भएपनि बङ्ग हानेछौँ। अब, डराएर काम छैन, खुरुक्क हिडँ। सरले गाली त गर्नुहुन्छ नि, नभए एक चड्कन लगाउनुहुन्छ। त्यति सहेर ब्याग लिएर घर जाम।’
मेरो कुरा सुनेर उनीहरूले सुरुमै मलाई सरको कोठामा पस्न लगाए। ‘फिल्मको गुण्डालाई कुट्न हिरो’ अगाडि बढेझैँ सरको कोठाभित्र तम्पिएर छिरेँ। उता सर पनि बिरालोले शिकारका लागि मुसा कुरे जसरी हामीलाई पर्खिरहनुभएको रहिछ! म कोठाभित्र पस्नासाथ बटारेर राखिएको नाङ्गो तारले खुट्टामा सट्काउनुभयो।
सरले हान्नुभएको तारकाे झटाराेकाे कारण म एक्कासी भुइँमा लडेँ। त्यसपछि एक–एक गरी सबै साथीहरूलाई सरले तारले कुट्न थाल्नुभयो। ‘तिमीहरूको अहिले पढ्ने उमेर हो, दायाँबायाँ गरेर हिँड्ने हो?’ सरले झोक्किँदै हामीसँग प्रश्न गर्नुभयो। र सम्झाएर ब्याग दिएर पठाउनुभयो।
क्लास छाेडेर बाहिर खान गएकाे अमिलाे पानीपुरीले भन्दा सरकाे कुटाइ खाएर मन कुँडिरहेकाे थियाे। मलाई स्कुल लाइफ देखेर दिक्दार लागिरहेको थियो। त्याेबेला मलाई लाग्थ्यो, ‘स्कुल पढ्नु भनेको शिक्षको ढोल बन्नु सरह हो।’ त्यसैले म साथीहरूसँग भन्ने गर्थेँ, ‘पढाइ छाडेर आनन्दसँग बस्ने मन छ।’ तर अहिले सम्झँदा ती स्कुलका दिनहरू नै रमाइलाे लाग्छ। जुनबेला एक विद्यार्थीका लागि स्कुल जानु र होमवर्क गर्नु नै ठुलो काम थियो।
त्याेबेला ज्यानभन्दा प्यारो लाग्ने साथीहरू अहिले लाखापाखा लागिसकेका छन्। केही साथी युरोपमा छन् त कोही आफ्नो भविष्य बनाउनका लागि खाडीमा पसिना बगाइरहेका छन्।
स्कुल पढ्दा सँगै मिठा यादहरू बिताएका ती साथीहरूसँग कहिलेकाहीँ सामाजिक सञ्जालमा ‘च्याटिङ’ हुँदा मसँग दुख पाेख्ने गर्छन्। उनीहरू भन्ने गर्छन्, ‘तेरो लाइफ बिन्दास छ, पढाइ पनि सक्काइस्। नेपालमै बसेर जागिरे पनि भइस्। तँलाई मोज छ यार। हामी जस्तो अरुको देशमा कुल्ली त बनेकी छैनस् नि!’
साथीहरूले भन्ने गरेका ती शब्दहरू सही हुन् या होइनन्, त्यो त म जान्दिनँ। तर जे होस् जिन्दगी चलिरहेको छ। अरुले देख्दा ‘बिन्दास छ!’