‘कहिले पागल भनेर लखेटियौँ, कहिले बौलाहाको बहानामा। कहिले स्कुटरसमेत जलाइदिए त कहिले होहल्ला गर्यौ भन्ने बहानामा पिटाइ खायौं। कहिले वनमा मुद्दा त कहिले अख्तियारमार्फत तथापि हार खाएनौँ। यति हुँदै गर्दा सबैसँग भिक्षा मागेर जङ्गलको छेउमा जसोतसो बनाएको कुटीमा हिजो राति अपरिचित दानव आएर आगो लगाइदिएको खबर पाएँ। म विगत १५ दिनदेखि उपचारको लागि काठमाडौंमा छु। यो घटनाले मन विक्षिप्त बनायो। साच्चिकै हाम्रो सेवाले सबैलाई ठूलै असर परेको हो भने सबै बसेर सरसल्लाह गरौँ र दृष्टि फाउन्डेसन बन्द गरिदिउँ।’
एकाबिहानै फेसबुकको भित्तामा दनदन्ती बलिरहेको आगोका तस्बिरसहित समाजसेवी तथा प्रेरक व्यक्तित्व कल्पना भट्टद्वारा उद्घृत शिरानीमा राखिएका पंक्तिहरूमा दृष्टि पर्न जान्छ। तुरुन्तै उनलाई फोन गरेर घटनाका बारेमा जानकारी लिन खोज्छु। अश्रुपूर्ण आवाजमा बताउँछिन् उनी, ‘पटकपटक सामाजिक बहिष्कार र मानसिक तनाव सहन साह्रै गाह्रो भयो। स्वयमसेवक बहिनीहरूले फोनमा रातभरि सुतेका छैनौँ भनेपछि आँखा ओभाना भएका छैनन्। लागिरहेछ, मैले ठूलै अपराध गरेको रहेछु, धनगढी नफर्किएर यतै जीवन समाप्त गरिदिउँ।’
कल्पना यतिखेर परेलीमा आँसुका थोपा टल्काउँदै काठमाडौंका सडकमा यात्रा गरिरहेकी छन्। एकातिर आफ्नो उपचारका लागि अस्पतालको दैलो धाइरहेकी छन् भने अर्कोतिर बच्चाको उपचारका लागि परामर्श लिइरहेकी छन्। त्यो त्यही बच्चा हो, जसलाई जन्म दिनेबित्तिकै कुनै आमाले अस्पतालमै छोडेर भागेकी थिइन्। ती बालकलाई अपनाउन त्यतिखेर उनले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा निकै नै अनुनयविनय गर्नु परेको थियो। कल्पना एकातिर विगतका ती दिनलाई सम्झिँदै त्यो अवोध बालकको मुहार हेर्छिन्। अर्कोतिर उनी माथि बारम्बार हुँदै आएका संघातिक हमलाहरू सम्झेर क्षितिज पारिको आकाश नियाल्न खोज्छिन्।
यहाँ मुकदर्शक बनेको प्रदेश सरकार छ, सरकारको प्रशासन छ। आफूलाई समाजका अगुवा भन्नेहरू छन्। कसैलाई मतलब छैन। कतिपयले त उल्टै भनिदिन्छन् रे, ‘किन पागलहरूको जिम्मा लिनु परेको त्यो केटीले?’ स्याबासी दिनु, सत्कर्मको प्रशंसा गर्नु, प्रोत्साहित तुल्याउनुको साटो हतोत्साही तुल्याउनेहरूको जमात निकै ठूलो छ यहाँ।
निर्धा, अशक्त, सुस्त मनस्थितिका आवाजविहीनहरूको सेवामा तल्लीन हुने धेयले आफ्ना जीवनका ऊर्जावान पलहरू व्यतित गर्दै आएकी उनी पछिल्लो समयमा बेलाबखत निराश देखिन्छिन्। उनलाई यसरी निराश तुल्याउने त्यही समाज हो। समाजकै केही पात्रहरू हुन्। जो न आफू केही गर्छन्, न त अरुले नै गरेको पचाउन सक्छन्। तिनको सोच नै समाजमा प्रशंसनीय काम गर्नेलाई बलबुतोले भ्याएसम्म लखेट्ने हो, लखेटिरहन्छन्। यहाँ एकजना नेताको सुरक्षार्थ दर्जनौँ सुरक्षाकर्मी खटिन्छन्। निर्धाहरूमाथि भएको अन्याय, अत्याचारका विरुद्ध बोलसम्म फुट्दैन तिनै नेताहरूको। बरु घटना नै थाहा नपाए जस्तो गरिदिन्छन्।
त्यो त्यही भू-खण्ड हो, जहाँ एकआपसमा ऐँचोपैँचो, सरसहयोग हुन्थ्यो। माया, प्रेम, करुणा र स्नेहका आँखाहरू भेटिन्थे। नुन-गुढ ल्याउन टनकपुर पुग्नेहरूले एकल महिला भएको परिवारलाई एक/एक माना नुन दिने गर्दथे। सबैले यसरी सहयोग गर्दा ती एकल महिलाको परिवारमा वर्षदिन खानलाई नुन पुग्थ्यो। कसैले घर बनाउँदा प्रत्येक घरबाट एक जना लोग्ने मान्छे निस्किन्थे र ठूलो समूह बनाएर जंगलबाट काठ ल्याइदिन्थे, जुन कार्यलाई खेडी भनिन्थ्यो। अवला अशक्त र समस्यामा परेकाहरूका खेतमा सबै गाउँले गएर रोपाइँ गरिदिन्थे।
उखान नै थियो ‘जीउँदाका जन्त मर्दाका मलामी’। पछिल्लो समय सबै कुरा पैसासँग जोडिँदै गए। पैसा हुँदा जन्ती, मलामीलगायत सबै कुरा पाइन थाले। मानवता हराउँदै जान थाल्यो। मान्छे संवेदनहीन बन्न थाल्यो।
विगतमा मान्छेसँग धन थिएन, मन थियो। आपतविपदमा एकअर्काको सहयोग गर्न सक्नु नै जीवनको सार्थकता हो। पशुहरूले समेत एकअर्कालाई प्रेमपूर्ण दृष्टिले हेरिरहेका हुन्छन्। मान्छेलाई समेत प्रेम गर्छन्। तर, मान्छे दिन प्रतिदिन दानवको रुप धारण गरिरहेको छ। कतिपय घटनाले पुष्टि गरिरहेका हुन्छन्, मान्छेका निन्दनीय कार्यको।
कल्पना भट्टको नेतृत्वमा संचालित दृष्टि फाउण्डेसनमा तीन दिनअघि गरिएको आगजनी पनि निन्दनीय नै थियो। अशक्त, मानसिक सन्तुलन गुमाएका, सडकमा बारम्बार बलात्कार भइरहेका आमाहरू र ती आमाहरूबाट जन्मिएका बालबालिकाहरूलाई बटुलेर उनीहरूको सहारा बनेकी कल्पना बेलाबखत आफैं बेसहारा बन्न पुग्छिन् र गुनगुनाउन खोज्छिन् डेउडा गीतका यी पंक्ति:
नसुक्न्या आँखाको आँसु, नफर्किन्या हाँसो
के लाग्यो जन्जाले माया, मेरा गलिपासो
यो देशमा गरीब निमुखा र आवाजविहीनहरूले कहिल्यै सरकार भएको प्रत्याभूति गर्न पाएनन्। सरकार त उनकै हुन्छ, जो पार्टीका झोले बन्छन्। जो गुण्डागर्दी गर्न सक्छन्। अनि सरकारमा बस्नेकै आडमा कमिसनको खेती गर्छन्, बिचौलिया बन्छन्। आफ्नो दुनो सोझ्याउँछन्। नेताहरूका कोटका खल्ती भरिदिन्छन्। चाकडी, चाप्लुसीमै जीवनको ऊर्जावान समय व्यतित गरिरहेका हुन्छन्। कल्पना त्यस्तो केही जान्दिनन्। त्यसैले उनी न पैसालाई महत्व दिन्छिन्, न कतैबाट सरकार भएको प्रत्याभूति पाउँछिन्।
दुःख र अभावको चौधेराभित्र रुमल्लिएको जिन्दगीलाई समाजसेवाका माध्यमले व्यतित गर्ने ध्येयका साथ देखापरेकी कल्पनाले यहाँसम्म आइपुग्न संघर्षका कैयौं घुम्तीहरू पार गर्नु पर्यो। दुई विषयमा मास्टर्स डिग्री उत्तीर्ण गरेकी उनले न बिहे गरेर घरजम गर्ने सोच बोकिन्, न कहिल्यै जागिरको लागि तड्पिन्।
विगतमा अज्ञात व्यक्तिले उनका २० वर्षीया दाइको हत्या गरिदिएका थिए। रातदिन पुत्र वियोगको पीडाले गल्दै गएका बुवा यज्ञराजले समेत ४५ वर्षकै उमेरमा धर्ती छोडिदिए। बुवा बित्दा ८ कक्षामा अध्ययनरत कल्पनाले घरमा भैँसी पालिन्। भैंसीको दूध बेचेर आफू पढिन् र भाइबहिनीलाई समेत पढाइन्। सानैदेखि समाज सेवामा खटिने उद्देश्य लिएकी उनले जब ७५ वर्षकी आमा चारपटक बलात्कृत भएको समाचार पढिन्, तब मनमा त्यस्ताको उद्धार गर्ने सोच बोकिन्।
मान्छेले मान्छेभित्रको मान्छे हेर्ने दृष्टिको कल्पना गरेझैं ६ वर्षअघि जन्म दिइन, दृष्टि फाउण्डेसन नेपाललाई। संस्थाको नाम नै सत्यम्, शिवम्, सुन्दरम्को प्रतीक हो भन्न मनलाग्छ। उनले गरिरहेको कार्य प्रशंसनीय मात्रै नभएर जीवनको सौन्दर्य पनि हो। सुरुवातमै हरिश त्रिपालीले निशुल्क रुपमा ६ महिनाका लागि आफ्नो घर उपलब्ध गराए। विस्तारै केही चन्दादाताहरूको सहयोगमा घर भाडामा लिएर दृष्टि फाउन्डेसन परिवारको अभिभावक बनिन्।
पछिल्लो समयमा पूर्व मेयर नृप वड, पत्रकार दीर्ध उपाध्याय र टेकेन्द्र देउवालगायत केही मनकारीहरूको सहयोगमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलमा निर्मित टहरामा सुस्त मनस्थितिका ४० जना आमा, १२ जना बच्चा र ८ जना स्वयमसेवकहरू बसोबास गरिरहेका छन्। जुन टहरा जंगलको छेउमा खोलाको डिलमा खाली रहेको ऐलानी जग्गामा बनाइएको छ।
‘टहरा जलाउन तीन दिनअघि राति ९:१५ बजे जंगलको छेउमा आगो लगाइयो। धन्न स्वयमसेविकाहरूले चाल पाएछन् र आगो नियन्त्रणमा लिने कार्य गरिएछ। नत्र एकै चिहान हुन्थे होलान्।’ हिक्कहिक्क गर्दै सुनाइन् उनले। कल्पना यस्तालाई पाल्ने निहुँमा चारैतिरबाट पैसा उठाएर खान्छे भन्ने आरोप लगाउनेहरू एकातिर छन् भने अर्कोतिर बाैलाहाहरूलाई जम्मा गरेर नजिकका बस्तीहरूको भ्यालु घटाउन आई भन्ने गरिरहेका छन्।
जातभात, धर्मलगायतका विषयमा कट्टरताका पुजारी बनेकाहरूले सजिलै भनिदिन्छन्, ‘त्यस्तालाई नजिकमा राख्दा हाम्रो जग्गाको मूल्य बढ्न पाउँदैन। सभ्य समाज बन्न पाउँदैन। त्यस्ता बौलाहाहरू देख्दा अलछिन लाग्छ।’ ती कट्टरधारीहरू पाखण्डी हुन्, जोसँग मानवता नै छैन। त्यसैले पनि तिनले कल्पनालाई सुरुदेखि नै लखेट्दै आइरहेका छन्। तिनले जति पल्ट लखेट्न खोज्छन्, त्यति नै संख्यामा कल्पनाहरू जन्मिदै जानेछन् भन्ने कुरा बुझ्नु जरुरी छ।
कल्पनालाई सहने बानी परिसक्यो। धेरै दुःख र लखटाई सहिसकेकी छन् उनले। यति हुँदासम्म पनि सरकार कहाँ छ? यहाँका अगुवा भनाउँदाहरू कहाँ छन्? राज्यले वहन गर्नुपर्ने जिम्मेवारी व्यक्तिले अपनाउँदा स्यावासी दिनु त कताकता किन सुरक्षासम्म दिन सक्दैन राज्य? जस्ता कयौं प्रश्नहरू उठिरहेका छन् यतिखेर।
यस्तै प्रश्न गर्ने क्रममा यो घटनाका बारेमा थाहा पाउने बित्तिकै देउसराले पनि तेर्स्याइन एउटा प्रश्न, गोसाईं, कतै सडक किनारमा मानसिक रोगीहरूलाई बलात्कार गर्न पल्केकाहरूले बलात्कार गर्न नपाएर त हैनन् कल्पनालाई लखेट्न थालेका?’ यतिखेर मसँग कुनै उत्तर छैन। म स्वयम् सोधिरहेको छु आफ्नै मनसँग, ‘दुई मुठी खरानीको हकदार मान्छे किन लखेटिरहन्छ समाजमा सत्कर्ममा लागिरहेका कल्पनाहरूलाई?’