थाइल्यान्डमा सरकार गठनका लागि दलहरूबीच वार्ता

मतदानमा सरकारी प्रतिद्वन्द्वीहरूलाई पराजित गरेपछि थाइल्याण्डका विपक्षी समूहहरूले बुधबार सरकार–गठबन्धन वार्ता गरेका छन्। यद्यपि, सैनिक निकट भई नियुक्त भएका केही सिनेटरहरूले विजयी पार्टीका नेतालाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गर्ने चेतावनी दिएका छन्।

करिब एक दशकलामो सेनासमर्थित शासनलाई मतदाताले ठाडै अस्वीकार गरेपछि प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) आइतबारको चुनावबाट सबैभन्दा ठूलो दलको रूपमा उदाएको हो। एमएफपी नेता पिता लिम्जारोएनरतले बैङ्ककको एक रेस्टुरेन्टमा अन्य पाँच विपक्षी दलका वरिष्ठ अधिकारीहरूलाई भेटेर फोटो खिचाएपछि उनीहरू वार्ताका लागि बन्द कोठामा छिरेका थिए। 

युवा नेता ४२ वर्षीय पिटाले दुई दशकदेखि थाई राजनीतिमा प्रभुत्व जमाएको फेउ थाई र चार वटा साना समूहसँग गठबन्धन बनाउने प्रयास गरिरहेका छन्।

एमएफपीले १५२ सिट जितेको छ भने फेउ थाईले १४१ सिट जितेको छ। अन्य दलसँग गठबन्धन गर्दा तल्लो सदनका ५०० सिटमध्ये ३०० भन्दाबढी सिट प्राप्त हुनेछ।

तर प्रधानमन्त्रीको पद सुरक्षित गर्न गठबन्धनलाई सिनेटसहित दुवै सदनमा बहुमत आवश्यक छ, जसका २५० सदस्य अघिल्लो सैनिक सरकारले छानेको थियो।

एमएफपी र यसका सहयोगीहरूलाई तल्लो सदनमा ३७६ मत आवश्यक पर्दछ। यसको अर्थ यही वातावरण रहेमा सिनेटरहरूले पितालाई प्रधानमन्त्री बन्नबाट रोक्न सक्दैनन् तर सेनाको प्रभावमा परेर साना दलले विपक्षीहरूको गठबन्धनलाई विफल पार्नसक्ने पनि सम्भावना रहेको छ।

केही सिनेटरहरूले पिताको विरोधमा आवाज उठाइसकेका छन्। राजालाई हेर्ने दृष्टिकोणलाई कानूनको संशोधन गरेर परिवर्तन ल्याउने एाएफपीको योजनाका कारण संस्थापन विरोधी अडानमा विभाजन आउने अनुमान हेरिएको छ। 

सिनेटर जाडेट इन्सवाङले भने, 'म पितालाई प्रधानमन्त्रीको रूपमा स्वीकार गर्दिनँ।' सिनेटर कित्तिसाक रतनवराहले पनि पितालाई समर्थन गर्न अस्वीकार गरेका हुन्। उनले भने, 'प्रधानमन्त्रीको उम्मेदवारले देश, राजसंस्थालाई माया गर्नुपर्छ।'

फेउ थाईका एक वरिष्ठ नेताले मङ्गलबार दुई मझौला कन्जरभेटिभ पार्टी भुमजैथाई र प्रजातान्त्रिकलाई प्रधानमन्त्रीको मतदानमा गठबन्धनलाई सहयोग गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाको निवर्तमान गठबन्धनको हिस्सा रहेको भुमजैथाई पार्टी आफ्नो तल्लो सदनको ७० सिटका साथ सम्भावित निर्णायक शक्तिको रूपमा देखिएको छ।

प्रकाशित मिति: : 2023-05-18 06:17:00

प्रतिकृया दिनुहोस्