कृषकलाई  माछाका भुरा वितरण

फाइल तस्बिर
फाइल तस्बिर

तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ। व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो। 

सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए। माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको उनले बताए। 

उनले भने, 'विगत लामो समयदेखि माछापालन व्यवसायमा आवद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियाैँ। निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको छ।' उनका अनुसार प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको छ।

कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ। 'म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौँ, यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ', उनले भने। गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो। 

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए। 'गाउँपालिकाले व्यावसायिकरूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोहीबमोजिम माछापालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ', उनले भने, 'यसले अहिले व्यवसाय गरिरहेकालाई त प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिएका छौँ।'

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचनाबमोजिम माग सङ्कलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए। 

म्याग्दे –१ का जगतबहादुर थापालाई दुई हजार, फविसरा थापालाई दुई हजार, म्याग्दे–२ का प्रेमलता शाहीलाई सात सय, म्याग्दे–३ का विजु आलेलाई तीन हजार पाँच सय, सनिमाया थापालाई दुई हजार, म्याग्दे–४ का ओमबहादुर आलेलाई एक हजार पाँच सय, देविका थापालाई एक हजार पाँच सय, सोमकुमार श्रेष्ठलाई १५ हजार, टोपप्रसाद थापालाई एक हजार पाँच सय, भीमकुमारी रानालाई एक हजार पाँच सय, हिमनारायण कायस्थलाई चार हजार माछाका भुरा वितरण गरिएको छ। 

त्यस्तै म्याग्दे–५ का कृष्ण थापालाई छ हजार पाँच सय, तालबहादुर आलेलाई चार हजार, भक्तबहादुर गुरुङलाई चार हजार, म्याग्दे –६ का मदीमाया रानालाई चार हजार, म्याग्दे–७ का ओमराज गोतामेलाई एक हजार पाँच सय, देवबहादुर विश्वकर्मालाई सात सय, अच्युतराज काफ्लेलाई सात सय, धु्रव वाग्लेलाई एक हजार एक सय, दुर्गामाया घर्तीलाई एक हजार एक सय भुरा वितरण गरिएको छ। 

गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र सञ्चालन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ। आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैँले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो। 

भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो। उक्त उपचार केन्द्रको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए। 

उनले भने, 'हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छाैँ। हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नि।' चुमानले गाउँपालिका आफैँले अस्पताल सञ्चालन गर्दै आएको र उक्त अस्पतालबाट सिफारिस गरेर बिरामी लैजानपरे एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने गरिएको बताए। चुमानले भन्नुभयो, 'स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छौँ, आवश्यक परे विकास बजेट घटाएर पनि स्वास्थ्यमा लगानी गरिनेछ।'

अध्यक्ष चुमानले आँखाको उपचारका लागि आँबुखैरेनीका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका बासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा अब आँबुखैरेनीमै उपचार केन्द्र स्थापनापछि सबैलाई सहज हुने बताउनुभयो। भरतपुर आँखा अस्पतालसँगको सम्झौताअनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक दुईकोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ। आँखा उपचार केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षदेखि निरन्तर वार्षिकरूपमा पाँच वर्षसम्म रु छ लाखका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिनेछ। 

आँखा उपचार केन्द्रका लागि एक जना सहायकस्तरको कर्मचारी राखिएको छ। आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पताल चितवनको सहकार्यमा ओपिडी टिकट र आँखा उपचार केन्द्रमा टाँसिने ब्यानरमा नेपाल सरकारका लोगो राख्न स्वीकृति दिने सम्झौता भएको छ। 

आँखा उपचार केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक पर्ने औजार, उपकरण, औषधि, चश्मा, लेन्स तथा स्टेशनरी उपलब्ध गराउनेछ। आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने सहमति भएको छ। 

त्यस्तै आवश्यकतानुसार स्रोत साधन जुटाई कम्तीमा वर्षमा एकपटक निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ। आँखा उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नेपाल नेत्रज्योति सङ्घका प्रतिनिधि, गाउँपालिकाका महिला सदस्य, आँखा उपचार केन्द्र रहेको वडाका अध्यक्ष, भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक, स्थानीय लायन्स क्लबका सदस्य सम्मिलित समिति गठन गरिएको छ।

प्रकाशित मिति: : 2023-05-16 08:07:00

प्रतिकृया दिनुहोस्