हलेसी तुवाचुङमा गहत खेती प्रवद्धन कार्यक्रम

हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ। लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम ल्याएको हो। 

गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ रैथाने बाली प्रवद्र्धन कार्यक्रम अघि सारिएको नगर प्रमुख विमला राईले जानकारी दिए। आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार नगरपालिकाले व्यावसायिकरुपमा गहत खेतीका लागि इच्छुक कृषक, निजी उद्यमी र फर्मलाई हप्ता दिनभित्र आवेदन दिन गत वैशाख–१९ गते प्रथम पटक सूचना प्रकाशित गरेको छ।

गहतको बीउ भएका किसानले स्वतः गहत उत्पादन गर्नसक्ने र बीउ नभएका किसानलाई आवश्यक बीउ उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। उत्पादित गहतको मूल्य निर्धारण गरेर नगरपालिकाले बजारको सुनिश्चितता गरिदिने नगर प्रमुख राईले जानकारी दिएका छन्।

त्रिधार्मिकस्थल हलेसीमा आएर फर्कने विभिन्न ठाउँका दर्शनार्थी एवं पर्यटकले कोसेलीका रुपमा लैजान पाउने गरी गहत खेती प्रवद्धनको कार्यक्रम ल्याइएको नगर प्रमुख राईले बताए। 'रैथाने बाली गहत लोपोन्मुख बनिसकेको छ। अहिलेसम्म किसानलाई गहतको मूल्य र महत्व बुझाउन सकिएको छैन। गाउँघरमा चामलसँग गहत साट्ने चलन छ', उनले भने, 'अब इच्छुक किसानलाई गहतको बीउ उपलव्ध गराउँछौँ। उत्पादित गहतको मूल्य निर्धारण गरेर बजारीकरणको व्यवस्था नगरपालिकाले मिलाउने योजना बनाएका छौँ। गहतलाई हलेसीको कोसेलीका रुपमा स्थापित गर्ने योजना छ।'

नगरपालिकामा उत्पादित गहत सङ्कलनका लागि विक्रेता सूचिकृत गर्ने नगरपालिकाको योजना छ। गत असारमा सम्पन्न ११ औँ नगरसभाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सम्वन्धी नीति तथा कार्यक्रम पास गरेको थियो। 

नगरपालिकामा गहतको व्यावसायिक खेतीको प्रचुर सम्भावना छ। नगरमा उत्पादित गहत जिल्लाबाहेक छिमेकी जिल्लाका हाट बजारमा समेत पुग्ने गरेको छ। बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, मङ्गलटारलगायतका ठाउँका किसानले गहत खेती गर्दै आएका छन्। हालसम्म गाउँघरमा गहत दालको रुपमा मात्र उपयोग हुने गरेको छ। 

नगरपालिकाले रैथाने बाली प्रवद्धन कार्यक्रमअन्तर्गत बदाम, कागुनो र जुनेलो खेती गर्ने किसानलाई पनि बीउका लागि आवेदन दिन आह्वान गरेको छ। एघार वडा रहेको उक्त नगरपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्दछ।

प्रकाशित मिति: : 2023-05-15 07:57:00

प्रतिकृया दिनुहोस्