कुल आचार्य ‘नक्कली भुटानी शरणार्थी’ बनेर बेलायत गएका हुन्, के भन्छन् उनी?

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिएका छन्।

‘नक्कली भुटानी शरणार्थी’ बनेर बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टीकरण दिएका हुन्। उनले सामाजिक सञ्जालमा चलिरहेको हल्लीखल्ली निराधार र मिथ्या रहेको बताएका छन्।

आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको प्रष्ट पारेका छन्। ‘नेपाली नागरिकता र राहदानीका आधारमा बेलायतको राहदानी लिएको हुँ। अहिले एनआरएनए कार्ड बोकेको छु,’ आचार्यले लण्डनबाट भने, ‘यसमा भन्नु केही छैन। देशको लागि केही गरौँ भन्नेलाई राम्रो कसैले मान्दैनन्। ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन। मिथ्या मात्रै हो।’

उनले आफूलाई बदनाम गराउन एउटा समूह सक्रिय रहेकोसमेत आरोप लगाएका छन्। ‘२/४ जना मेरो विरुद्धमा अहिलेमात्र होइन पहिलेदेखि नै लागेका छन्। अनेकौं तिकड्म झिक्ने गरेका छन्। तर, यस्ता अफवाहले मलाई केही फरक पर्दैन। झिनामसिना कुराका पछि लाग्ने मान्छे पनि म होइन,’ आचार्यले भने।

आचार्य नक्कली शरणार्थी बनेर बेलायत पुगेको प्रचार सामाजिक सञ्जालहरूमा चलेको छ। ६ महिनासम्म एनआरएनएको नेतृत्व गरेका आचार्य बेलायतमा व्यवसाय गर्छन्।

उनलाई एनआरएनए बेलायतकै अध्यक्ष प्रेम गाहा मगरले नक्कली शरणार्थी बनेर बेलायतमा शरण लिएको आरोप लगाएका छन्। मगरले एक टेलिभिजनसँगको अन्तर्वार्तामा आचार्यले बेलायतमा स्थापित हुनकै लागि नक्कली शरणार्थी बनेको आरोप लगाएका छन्।

सरकारले आचार्यको पद खारेज गर्नुपर्ने र उनीमाथि राष्ट्रघातको मुद्धा चलाउनु पर्ने मागसमेत मगरले गरेका छन्।

तर, आचार्यले भने यो सबै अफवाह भएको दावी गरेका छन्। उनले आफूसँग जन्मस्थान पर्वत लेखेको नेपाली राहदानी भएको बताएका छन्।

‘म पर्वतमा पण्डितको परिवारमा जन्मेको छोरा हुँ। मेरो पहिलाको नेपाली राहदानीमा जन्मस्थान पर्वत लेखेको छ,’ आचार्यले भने, ‘अहिले सरकारले दिएको एनआरएनए कार्डको आधारमा नेपालमा लगानी गरिरहेको छु। विदेशी भूमिबाटै भए पनि जन्मेको देशका लागि केही गरौँ भन्ने मेरो चाहना हो।’

प्रकाशित मिति: : 2023-05-14 17:50:00

प्रतिकृया दिनुहोस्