खरबुजा बिक्रीबाट जीविकोपर्जन

महेन्द्र राजमार्ग छेउमै लहरै छन्, स–साना छाप्रा। अघिल्तिर भरिभराउ खरबुजा। किनमेल गर्नेको त्यस्तै भीडभाड। झट्ट हेर्दा राजमार्गमा ‘खरबुजा मेला’ लागेजस्तै देखिन्छ।

शुक्लाफाँटा नगरपालिका–११ वनहरा पुल क्षेत्रको यो दृश्यले महेन्द्र राजमार्ग भएर आउजाउ गर्ने यात्रुलाई आकर्षित गराएको छ। खरबुजा किन्न यात्रु सवारीसाधन रोकेर ओर्लिरहेका छन्। घाम छल्न त्रिपाल टाँगिएको छ। त्रिपालमुनि बसेर कोही ग्राहक कुरिरहेका छन्। कोही खरबुजा तौलिनमा व्यस्त देखिन्छन्। खरबुजाको मोलमोलाइ पनि चलिरहेकै छ। 

यहीँ भीडमा खरबुजा बिक्री गरिरहेको भेटिए, कृष्णपुर नगरपालिका–२ वाणीका जगदेव राना। उनले वनहरा नदीको बगरमा पाँच कठ्ठा क्षेत्रमा खरबुजा खेती गरेका छन्। 'यो सिजनमा एक साता भयो खरबुजा बिक्री गर्न थालेको छ, अहिलेसम्म रु १५ हजारको बिक्री गरेँ', उनले भने, 'दैनिक रु. एक हजारदेखि दुई हजारसम्मको बिक्री हुन्छ।'

जगदेवको परिवार नै बगरमा खरबुजा खेती गर्नमा खटिने गरेका छन्। बङ्ककी ५० वर्षीया नथ्थु बडायकले राजमार्ग छेउमा त्रिपाल थापेर खरबुजा बिक्री गर्न लागेको दुई दशक बितिसक्यो। अनडैया भन्ने ठाउँमा बस्ने उहाँ आरक्ष विस्तारका क्रममा विस्थापित भएका थिए। अनडैयाबाट विस्थापित भएपछि उनीसँग खेतीपातीका लागि जमिन थिएन। त्यसपछि बगरमा खरबुजा खेती गरेर जीविकोपर्जन गर्दै आएको उनले बताए।

'कसैले जमिन पाए, कसैले पाएनन्, हामीले जमिन नपाएपछि यहाँ बस्दै आएका हौँ', उनले भने, 'खेतपातीका लागि जमिन छैन, सिजनमा बगरमा खरबुजा खेती गरेर जीवन धानेका छौँ।' वनहरा पुल क्षेत्रमा खरबुजा बेचेर जीविकोपार्जन गर्नेमा अधिकांश आरक्षपीडित रहेका छन्। अहिले राजमार्ग क्षेत्रको वनहरा पुल क्षेत्रमा ९० जनाभन्दा बढी खरबुजा बेचेर घर खर्च चलाइरहेका छन्। 

गत चैत अन्तिम सातादेखि जेठसम्म खरबुजा बिक्री गर्ने गरेको उनहरूको भनाइ छ। बङ्ककै ४५ वर्षीय मानबहादुर चौधरी बिहान बगरबाट खरबुजा टिपेर दिनभर राजमार्ग छेउमा बिक्रीका लागि बस्नुहुन्छ। 'सुरुमा घरमै खानलाई मात्रै खरबुजाको खेती गर्थेँ, राम्रो आम्दानी हुन थालेपछि सात–आठ वर्षदेखि व्यावसायिकरूपमा खेती गरिरहेको छु', उनले भने, 'बर्खामा मजदुरी गरेर घर खर्च चलेको छ।'

उनका अनुसार प्रत्येक वर्षमा खरबुजा बिक्री गरेर रु ३० हजारदेखि रु ४० हजारसम्म बचत हुने गरेको छ। 'छोराछोरीको विद्यालयको खर्च, राशनको जोहो सबै खरबुजा बेचेर आएको पैसाबाट हुन्छ', मानबहादुरले भने, 'रु ३० हजारदेखि रु ४० हजारसम्म लगानी लाग्छ।'

मानबहादुरको परिवारका छ सदस्य नै खेतीमा जुट्ने गरेका छन्। माघदेखि बगरमा खरबुजा खेतीका लागि तयारी थालिन्छ। चैत अन्तिम साता तयार भएपछि खरबुजा बिक्रीका लागि बजारमा ल्याउने गरिन्छ। खरबुजा प्रतिकेजी रु २५ देखि ४० सम्म बिक्री गर्ने गरिएको छ। बेला–बेलामा वनहरामा आउने बाढीले खेतीमा नोक्सानी गर्ने गरेको नथ्थु बडायकले बताए। 'गत वर्ष बाढीले सबै बगायो, लगानी पनि असुल भएन', उहाँले भन्नुभयो, 'बाढीले नोक्सान नगरे सिजनमा राम्रै आम्दानी हुन्छ।'

प्रकाशित मिति: : 2023-05-14 08:53:00

प्रतिकृया दिनुहोस्