‘कयौंले मसँग अनुमति नलिएरै मेरा गीत चोरेर गाएका छन्’

BreaknLinks
BreaknLinks

डोटी जिल्लाको सदरमुकाम हो, सिलगढी बजार। जो हरेक दृष्टिकोणले महत्वपूर्ण र ऐतिहासिक ठानिन्छ। सदरमुकाममा प्रायजसो नेवार जातिको बस्ती थियो। त्यो बस्तीभित्र केही साङ्गीतिक घरना थिए। त्यो समय न अहिलेको जस्तो संचारको विकास थियो, न त यातायातको सुविधा नै। तथापि त्यही समय प्रिय लाग्छ, गायक– संगीतकार तथा नाट्य निर्देशक दिवाकर श्रेष्ठका लागि।

राणाकालमा बनेपास्थित धुलिखेलबाट उनका बुवाका पनि हजुरबुवा पुगेका हुन्, डोटी। त्यो समय कस्तो थियो होला? धुलिखेलदेखि डोटी पुगुन्जेलसम्म कति दिनको पैदल यात्रा गर्नुपर्यो होला? एकान्तमा कहिलेकाँही मनमनै गम्छन्, उनी।

सिलगढी बजारको बीचमा टुँडिखेलदेखि कारागारसम्म ढुङ्गा बिछ्याएर स–साना सिँढी बनाइएको एउटै मुलबाटो थियो। जहाँ सरसामान किन्नलाई अछाम, बझाङ, बाजुरादेखि मुगु र कालिकोटसम्मका मान्छेहरूको आवतजावत भैरहन्थ्यो। राति १२ बजेसम्म खुलै हुन्थे पसलहरू। बेलाबखत विद्यालयको प्राङ्गणमा राति पेट्रोमेक्स जलाएर नाटक देखाइन्थ्यो। कहिलेकाहीँ जिविसको जेनेरेटर पनि प्रयोग गरिन्थ्यो। कैयौं पटक पुराना चप्पल काटेर दियालोको चिराक बनाई नाटक देखाएको कुरा पनि सम्झिरहन्छन् उनी। नाटकको बारेमा कुरा गर्दा उनी भन्छन्, ‘त्यतिबेला महिलाहरूका घोती गासेँरसमेत स्टेजमा पर्दा बनायौं।’

वि. सं. १९९० देखि नै उनका बुवा नाटकमा सक्रिय रहेको कुरा सुन्नमा आउँछ। भलै उनले बुवा नाटकमा सक्रिय भएको उक्त पल देख्न पाएनन्। केदारप्रसाद श्रेष्ठ, भूमिनारायण श्रेष्ठ, नन्दकुमार श्रेष्ठ, धनबहादुर मल्ललगायत थुप्रैको नाम आउँछ, डोटीमा त्यतिखेर देखाइने नाटकको कुरागर्दा। त्योबेलाको इतिहास लेखिएको छैन। त्यतिबेलाका स्रष्टाहरूले लेखेका नाटक प्रकाशित हुन सकेनन्। मात्र त्यतिबेला मञ्चन गरिए र आजका मितिमा आइपुग्दा एक इतिहास बन्न गए। उक्त इतिहास पनि लेखी दिएनन् कसैले।

नेवार समुदायका मानिसहरू प्रायजसो दुईछाक भात नै खान्थे। चाडपर्वका बेला सिलगढीबाट दस/बाह्र माना गहुँ, चामल बोकेर पिस्नलाई द्वारिखोलाको किनारमा अवस्थित घट्टमा पुग्ने गरेको सम्झना बेलाबखत आइरहने प्रसङ्ग बताउँछन् उनी। भन्छन्, ‘द्वारिखोलाको घट्टमा बढी भीड हुँदा समुवागाडको घट्टमा पुग्थ्यौं। सडक थिएन। हिँडेर जानु पर्थ्याे। पालैपालो दाना पिस्ने गरिन्थ्यो। समुवागाडको घट्टको नजिकै मसान थियो। त्यतिखेर मसान भन्ने बित्तिकै भुतको प्रसङ्ग आइहाल्थ्यो। आगोको नजिकमा भुत आउँदैन भन्ने कहावत थियो। सोही कहावतलाई मनन गरी रातभर आगो बालेर बस्थ्यौं। यसरी घट्टमा गहुँ चामल पिस्न कहिलेकाहीँ गण्डीगाडमा पनि पुग्थ्यौं।’

झगुलो लगाएका अविवाहित चेलीबेटीहरू र गुन्यूँ चोलोमा सजिएका महिलाहरू घाँटीमा कम्पनी माला र अन्य गरगहना लगाएर बजारमा देखिन्थे। त्यो भेषभुषा निकै नै सुन्दर थियो। उनलाई सपना जस्तै लाग्छन् अचेल ती दिनहरू। पाँच जना दाजुभाइमध्ये उनका बुवा कृष्णमोहन श्रेष्ठ माइला थिए। सदरमुकाममा बसोबास गर्ने नेवार समुदायको मुख्य पेशा भन्नु नै व्यापार र जागिर हुन्थ्यो।

उनका अनुसार डोटीबाट डिग्री पास गर्ने पहिलो व्यक्ति उनका बुवा थिए भने डडेल्धुराबाट पूर्वन्यायाधीश स्व. रत्नबहादुर बिष्ट थिए। भारतको पुनाबाट उच्च शिक्षा हासिल गरी सुरुमा वडाहाकिमका असिस्टेन्ट बनेका कृष्णमोहन पछि वडाहाकिम पनि बने। तर, दिवाकरले दन्ते कथा सुनेझैं सुन्नु  पर्यो बुवाको बारेमा अरुबाट।

उनी दुई वर्षको छँदा नै उनका बुवाले धर्तीबाट बिदा लिए। बाल्यकालमै टुहुरो बनेका दिवाकर बताउँछन्, ‘बुवाले भारतको अल्मोडामा उस्ताज डा. बुलाकीरामबाट सङ्गीत शिक्षासमेत हासिल गर्नुभएको थियो। पछि तिनै बुलाकीरामसँग दार्चुला, बैतडी, डडेल्धुरा र डोटीमा रामलिला लगाउन सरिक हुनुभएछ। बुवाले सिकाएकाहरू मध्ये डडेल्धुरामा केही मान्छे भेटिन्छन् अझै पनि। मैले बुवासँग सङ्गीत सिक्ने सौभाग्य पाउनु त परैजाओस्, बुवा कस्ता थिए भन्ने पनि थाहा छैन। बुवाको नाम लिँदै बुवालाई सम्झिने पुराना मान्छेहरू यदाकदा भेटिँदा अहिले पनि सोच्छु, बुवा भैदिएको भए म यो हालतमा हुन्न थिएँ। म त अभागी रहेछु।’

कृष्णमोहनका तीन छोरामध्येमा उनी कान्छा हुन्। जेठा प्रकाशमोहनले पनि धर्ती छोडिसके। माइला दीपकमोहन सिलगढीमै छन्। दिवाकर धनगढीमा सानो घर बनाएर बस्न थालेका छन्। उनको परिवारमा सङ्गीत शिक्षा अध्ययन गरी त्यस क्षेत्रमा नाम कमाएका उनका बुवा मात्र नभएर उनका काकाहरू मदनमोहन र प्रेममोहन पनि थिए। तिनै काकाहरूले उनलाई सारेगमदेखि आरोह–अवरोहलगायतका कुरा सिकाए। हार्मोनियम, तवलालगायतका बाजा बजाउन सिकाए। काकाद्वय नै गीतसङ्गीतका क्षेत्रमा गुरु बने। प्रेरणाका श्रोत बने।

उनलाई यो क्षेत्रमा लाग्न प्रोत्साहन दिनेहरू थिए, न्यायाधीश केदारप्रसाद श्रेष्ठ, भुमिनारायण श्रेष्ठ, गोरखबहादुर श्रेष्ठ, आनन्दप्रसाद श्रेष्ठ, नन्दकुमार श्रेष्ठ आदि। तवला, हार्मोनियम, मादललगायतका बाजा बजाउन घरमै सिकेका श्रेष्ठ भन्छन्, ‘हजुरबुवाका पालाको हार्मोनियम घरमा अझै छ।’

डोटीमा पहिलोपल्ट खुलेको पद्मपब्लिक मावि घर नजिकै थियो। सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरे उनले। त्यसपछि आईएड गरे। आईएड. तह उत्तीर्ण गर्ने बित्तिकै चारैतिरबाट जागिरको अफर आउन थाल्यो। त्यतिबेला एसएलसी उत्तीर्ण गर्नेले पनि सजिलै पाउँथे सरकारी जागिर। उनले शिक्षण पेशा अँगाले।

विगत सम्झिँदै उनी भन्छन्, ‘नयाँ मास्टरलाई हातमा फूल, दुबो दिएर स्वागत गर्थे। हिँड्न नसक्ने मास्टरलाई घोडामा, डोलामा बोकेर लगेका घटना पनि देखिन्थे। विद्यार्थीहरू पनि त्यतिकै अनुशासित थिए। अहिलेका विद्यार्थी अनुशासित छैनन्। शिक्षकमै पनि ५ प्रतिशत शिक्षक मात्रै होलान् अनुशासित। बाँकी ९५ प्रतिशतमा नैतिकता छैन। अहिले शिक्षाको त स्तर नै छैन भन्दा नि हुन्छ।’

त्यतिबेला क्षेत्रीय शिक्षा निर्देशनालयबाट क्षेत्रीयस्तरसम्मको सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्थ्यो। सांस्कृतिक कार्यक्रमका बारेमा गाउँघरतिरका मानिसलाई खासै थाहा थिएन। गाउने, बजाउने भनेपछि हेपाहा दृष्टिकोणले हेर्थे। यतिसम्म कि एकपल्ट उनका सहकर्मी शिक्षकले पनि उनलाई ‘हाम्रोमा त बाजा बजाउनेलाई ढोली र गाउनेलाई भाँण(गन्दर्भ) भन्छन्’ भनेर भनिदिएछन्। उनले त्यो सुनेर कुनै प्रतिक्रिया दिएनछन्। जब सांस्कृतिक कार्यक्रममा प्रतिस्पर्धात्मक रुपले विद्यालयहरू सहभागी हुन थाले, तब उनको खोजी हुन थालेछ। विद्यालयमा सामान्य मादल बजाउनेको पनि महत्व देखिन थालेछ। विस्तारै कतिपय विद्यालयहरूमा उनको माग बढ्न थालेछ। शिक्षण कार्यमा पनि डडेल्धुरा जिल्लामा उनको नाम अग्र पंक्तिमै आउन थालेछ।

कुनै विद्यालय पठनपाठनमा कमजोर छ भने शिक्षाले उनलाई सरुवा गरेर त्यतै पठाइदिन्थ्यो। उनी कडा मिजासका थिए, तथापि जहाँ जान्थे चाँडै नै घुलमिल भैहाल्थे। अभिभावकसँग नजिक हुन्थे। सरुवा हुने क्रममा उनी सेलागाउँ, भात्काँडा, मालम हुँदै अन्तमा शेरबहादुर देउवाको गाउँ रुवाखोलामा पुगे। माओवादी द्वन्द्वका कारण गाउँघरतिर जनजीवन त्यति सजिलो थिएन, अन्ततः पेन्सन पकाउन दुई वर्ष बाँकी छँदै छोडिदिए जागिर पनि।

त्यतिबेला राजाको सवारीका क्रममा राजालाई गीत सुनाउन डडेल्धुरा जिल्लाबाट प्रतिनिधि बनेर कञ्चनपुर पुगे। राजालाई गीतसङ्गीत सुनाउने कार्यक्रमलाई किङ्ग सो कार्यक्रम भनिन्थ्यो। उक्त किङ्ग सो कार्यक्रममा छानिएर उनी पुगे काठमाडौं। राजपरिवारलाई आफ्नो प्रस्तुति देखाउनुपर्थ्याे। त्यहाँ गाएका गीत सुनेर कतिपयले भनेछन्, ‘तिम्रो स्वर राम्रो छ। गीतका भाका पनि राम्रा छन्। रेडियो नेपालमा गएर गाऊ। त्यहाँ किन जान्नौ?’ त्यतिखेर उक्त कार्यक्रम रेडियो नेपाल जाने बाटो पनि थियो। जहाँ सेन्सर बोर्ड हुन्थ्यो। स्वर परीक्षा लिइन्थ्यो। निर्णायकलाई स्वर राम्रो छ, गीत राम्रो छ, गाउन सक्छ भन्ने लागेपछि छनौट गरिन्थ्यो।

२०३८ सालमा रेडियो नेपालमा गीत गाएको कुरा सम्झिँदै उनी भन्छन्, ‘आधुनिक गीत गाउन भनेर रेडियो पुगेँ। मेरो स्वर सुनेर विज्ञहरूले सुझाव दिनुभयो, यतिखेर लोकगीत गाउनोस्। अनि आधुनिकतिर जानुहोला। अनि ‘कति चोखो रहेछ माया सेतीको साङ्लो पानी जस्तै’ बोलको लोकगीत गाएँ। केही वर्षपछि रेडियोमा २०३८ को त्यो रेकर्ड भेटिएन। २०४५ सालमा पुनः स्वर परीक्षा पास गरेर प्रमाणपत्र लिएँ। त्यतिखेर गाएको गीतको बोल थियो, नानी डाली घङारुकी मुसुर्दानी ठम्के चरी बास। २०४६/०४७ तिरै यो गीत आफूलाई वरिष्ठ गायक भन्नेले नै गाइदिए। पछि हात जोडेर माफी पनि मागे। रेडियो नेपालमा पुरानो फाइलमा टिपेक्स लगाएर गाउने पनि निस्किए। रेडियोमै काम गर्नेले गाइदिए। पछिल्लो अवस्थामा आइपुग्दासम्म कयौंले मसँग अनुमति नलिएरै मेरा गीत चोरेर गाएका छन्।’

दिवाकर श्रेष्ठ जागिरको सिलसिलामा १८ वर्षसम्म डडेल्धुरा जिल्लामा बसे। त्यहाँ बसुन्जेल त्यस क्षेत्रको गीतसंगीत, संस्कृति र साहित्य अगाडि बढाउन सक्रियरुपले लागिपरे। नाट्य विधामा पनि उनको उत्तिकै सक्रियता रह्यो। थुप्रै नाटक लेखे। थुप्रै ठाउँमा नाटक खेले। नाटक निर्देशकको भूमिका निर्वाह गरे। सेती–महाकालीको प्रतिनिधित्व गरेर प्रज्ञा प्रतिष्ठानमा ‘बलेको बुद्धि’ नाटक देखाए। जुन नाटकले प्रथम स्थान हासिल गर्यो। जसको निर्देशक उनी आफैं थिए। सांस्कृतिक संस्थानमा संगीत संयोजकको भूमिका निर्वाह गरे। २०५२ सालमा रेडियो नेपालमा रेकर्ड गरिएका आफ्ना गीतहरू जम्मा पारेर ‘जम्क–जम्क’ नामक लोक डेउडा गीतहरूको एल्बम बजारमा ल्याए। गीतसंगीत र नाटकका माध्यमले उनले समाजमा प्रत्यक्ष र अप्रत्यक्ष रुपले ल्याएका परिवर्तन उदाहरणीय छन्। उनी राष्ट्रिय प्रतिभालगायतका कतिपय पुरस्कार पनि पाउन सफल भए।

पछिल्लो समय धनगढीको एक कुनामा पुराना दिन सम्झिँदै जिन्दगी व्यतित गरिरहेका छन्, उनी। सुदूरपश्चिमले चिन्दैन उनलाई। विभिन्न महोत्सव हुन्छन्। गीतसङ्गीत र साहित्यसम्बन्धी विभन्न कार्यक्रमहरू भइरहेका हुन्छन् तर उनको खोजी कसैले गरेको देखिँदैन। खोज्दै जाने हो भने उनीजस्ता ओझेलमा परेका पुराना प्रतिभाहरू थुप्रै छन्। जीवनलाई परीक्षा ठान्ने उनी सोझासाझा, गरीब र इमानदारहरूले सधैंभर परीक्षा दिइरहनु पर्ने तितो सत्यलाई आत्मसात गर्दै बताउँछन्, ‘हरेक क्षेत्रमा पावर चाहिने, चाकडी गर्नुपर्ने मुलुकमा सोर्सफोर्स चाहिँदो रहेछ।’

भिडियाे:

प्रकाशित मिति: : 2023-05-09 22:00:00

प्रतिकृया दिनुहोस्