इलाममा जनप्रतिनिधिको पारिश्रमिकबाट ‘लम्पी स्किन डिजिज’ को खोप खरिद

इलाममा ‘लम्पी स्किन डिजिज’ फैलिएपछि जिल्लाका किसानले पालेका गाई बिरामी पर्दै मर्न थालेका छन्।

दूध बेचेर खर्च चलाउन र बालबच्चा पढाउँदै आएका किसान परिवार गाईमा देखिएको रोगका कारण समस्यामा छन्। लैनो गाई मर्न थालेपछि चिन्तित किसानलाई केही राहत मिल्ने भएको छ। इलाम नगरपालिकाका जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक गाईको खोप खरिदमा नै लगाउने भएका छन्। उनीहरूले वैशाख महिना वापतको मासिक पारिश्रमिक जम्मा गर्ने बताएका छन्। 

नगरपालिकाले नगरको १२ वटै वडामा लम्पी स्किन डिजिजको खोप लगाउन सुरु गरेको छ। शुक्रबार इलाम नगरपालिकाका प्रमुख केदार थापाको अध्यक्षतामा बसेको बैठकले शनिबारदेखि खोप लगाउने निणर्य गरेको थियो। सोहीअनुसार खोप लगाउन सुरु गरिएको प्रमुख थापाले जानकारी दिए। उनका अनुसार किसानलाई समस्या भएको भन्ने जानकारी प्राप्त भएपछि नगरभित्रका किसानले पालेका गाईलाई खोप लगाउन सुरु गरिएको हो। 

यसअघि नगरउपप्रमुख विष्णु दाहाल लिम्बूको अध्यक्षतामा बसेको बैठकले खोप खरिद गर्नका लागि नगरका सबै जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको थियो। प्राप्त जानकारीअनुसार पहिलो चरणमा एक सय ६९ भायल खोप आइपुगेकाले करिब चार हजार सात सय २५ गाईवस्तुलाई खोप लगाइनेछ। दोस्रो चरणमा करिब पाँच हजार गाईवस्तुलाई खोप लगाइनेछ। यो खोप लम्पी स्किन डिजिजबाट सङ्क्रमित भएको पशुलाई लगाउने नभई उक्त रोग प्रतिरोधी खोप भएको नगर पशु स्वास्थ्य शाखा प्रमुख रुपमान लिङदमले जानकारी दिए।
 

प्रकाशित मिति: : 2023-05-07 21:54:00

प्रतिकृया दिनुहोस्