रुवान्डामा बाढी, एक सयभन्दा बढीको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी (आरबीए)ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार जनाएको छ।

मङ्गलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको आरबीएले जनाएको छ। 

“हाल यी प्रान्तहरूको प्रशासनले प्रकाशित गरेको अस्थायी तथ्याङ्कअनुसार १०९ जनालाई मृत घोषित गरिएको छ।” बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको छ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको र बाढीले घर तथा पूर्वाधार बगाएको र सडक बन्द भएको जनाइएको छ।

'बर्षापछि आएको बाढीले गर्दा ठाउठाउमा ठूला पहिरा गएका, रूखहरू ढलेका र सडक पुरिएका छन्। बाढीले बगानहरू पनि बगेका छन्। हामीले ठूलो समस्याको सामना गर्नुपरेको छ' उत्तरी प्रान्तकी एक बाढीपिडित महिलाले आरबीएसँग भने।
 

प्रकाशित मिति: : 2023-05-03 21:10:00

प्रतिकृया दिनुहोस्