देशकाे राजधानी काठमाडौँमै जन्मिए पनि सुन्दरी तामाङले कहिल्यै स्कुलको आँगन टेक्न पाइनन्। सँगैका दौतरीहरु किताब, कपी लिएर स्कुल जाँदा सुन्दरीले टाढैबाट हेरेरै चित्त बुझाइन्। मनमनै आफू पनि किताब समाउँदै स्कुल गएको सपना बुन्थिन्। घरको आर्थिक अवस्था कमजाेर थियाे, त्यसमाथि ११ जना भाइ–बहिनीकाे पालनपाेषणकाे जिम्मा उनकाे काँधमा थियो। तर, पनि उनले पढ्ने सपना देख्न छाडिनन्।
‘घरको आर्थिक अवस्था कमजोर थियो। बुबा-आमा बिहानै काम गर्न जानुहुन्थो। ११ जना भाइ–बहिनीलाई मैले सम्हाल्नुपर्थ्याे। बिहान बेलुका घरको काम गरेर दिनभरि वस्तु चराउन जंगल जानुपर्थ्याे,’ सुन्दरीले आफ्नाे विगत सुनाइन्, ‘अनि, कसरी पाउनु पढ्न ? तर, मैले पढ्ने सपना भने देखिरहेँ।’
वि.सं. २०४० सालमा सुन्दरीजलको ओख्रेनी गाउँमा जन्मिएकी सुन्दरीले २१ वर्षको उमेरमा नारायणस्थानका भरत तामाङसँग प्रेम विवाह गरिन्।
उनलाई लागेको थियो, विवाहपछि त माइतमा जस्तो गाई-वस्तु चराउन जंगल जानुनपर्ला। तर, उनले सोचेको भन्दा ठिक उल्टो भयो। घरको कामका साथै उनी श्रीमानसँगै काम गर्नु पर्ने भयाे।
उनका श्रीमान मिस्त्री थिए, उनी पनि श्रीमानसँगै घर बनाउने ठाउँमा बालुवा बोक्न थालिन्। र, त्यहीबाट कमाएकाे पैसाले घरखर्च चल्थ्याे।
भरतले दुःख गरेर कक्षा ८ सम्मको पढाइ पूरा गरेका छन्। उनलाई पनि पढ्ने मन नभएको होइन तर पारिवारिक परिस्थितिले उनलाई पढ्न दिएन। घरको आम्दानीको स्राेत कृषि मात्रै थियो। बा-आमाले गरेको खेतीपातीको कामले घरमा न खान पुग्थ्यो, न त पढ्न। उनले बिचमै पढाइ छाडेर ज्याला मजदुरी गर्न थाेलका थिए। अभाव नै अभावका बाबजुद उनले सानै उमेरमा काम गर्न सिके। मिस्त्री काममा अनुभवी भरतले श्रीमतीलाई पनि काम सिकाए।
‘बिहे गरेर यता (घरमा) आएपछि माइतमा जस्तो वस्तु् लिएर घाँस, दाउरा गर्न जंगल जानुपर्दैन होला लागेको थियो। जंगलबाट पार छुट्यो, ढुङ्गा-माटोको काम आइपर्यो। के गर्नु कर्म खोटे भएपछि कसकाे के लाग्छ र ?,’ उनले बिएल नेपाली सेवासँग भनिन्।
उनीहरुले पाँच वर्षसम्म सँगै काम गरे। त्यतिबेलासम्म उनीहरुको दुई छाेरी जन्मिसकेका थिए। आफूले पढ्न नपाए पनि ती छोरीहरुलाई बोडिङ स्कुलमा पढाउने सोच थियो, भरतको। त्यसैले उनी मलेसिया गए।
सुरु सुरुमा त भरतले पैसा पठाइरहन्थे। तर, दुई वर्षपछि भरतले पैसा पठाउन बन्द गरे। सुन्दरीलाई कहिले के त, कहिले के भनेर बहाना बनाइरहे। तर, झुट कति नै समय टिक्छ र उनले अर्की श्रीमती ल्याएको सुन्दरीले थाहा पाइन्।
भरतको यस प्रकारको व्यवहारले सुन्दरीको मनमा आत्महत्याको सोच नआएको पनि होइन। तर, छोरीहरुकाे मुख हेरेर उनले बाँच्ने अठोट गरिन्। ‘श्रीमानले उतै अर्को बिहे गरेको सुन्दा छाँगाबाट खसे जस्तो भयो, मर्ने सोच नआएको पनि होइन, धेरै दुःख गरेर घर बनाएका थियौँ। बाउको घर छाडेर उसलाई रोजी भागेर आएको थिए। सबै कुरा सकियो जस्तो, किन बाँच्नु जस्तो भयो तर छोरीहरुको मुख हेरेर मैले बाँच्नुपर्छ भन्ने लाग्यो अनि लगाइसकेको सल फुकालेँ,’ उनले आफ्नाे विगत बताइन्।
छोरीहरुको लागि भए पनि उनलाई काम गर्नु थियो। चिनेको एक जना भाइलाई काम खोज्दिन भनिन्। उनको दुःख देखेर ती भाइले एउटा होटलमा काम खोजिदिए। सुन्दरीले छिट्टै काम सिकिन्। तीन वर्षसम्म होटलमा काम गरिसकेपछि उनलाई आफैँ केही गर्ने सोच आयो। उनले होटलको साहुँसँग उक्त कुरा बताइन्। होटल साँहु मनकारी थिए, सुन्दरीलाई पसल चलाउन ५ हजार रुपैयाँ र पकाउने भाँडासमेत किनिदिए।
आजकाल सुन्दरीको दैनिकी फेरिएको छ। आइतबारदेखि शुक्रबार होटलमा काम गर्छिन् र शनिबार बिहानै जाम्छेन गुम्बा पुग्छिन्। अनि, दिनभरि जाम्छेन गुम्बा घुम्न आउने पर्यटकलाई खाजा बनाएर बेच्न व्यस्त हुन्छिन्।
बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म काममा रमाउने उनको साथी बनेका छन्, त्यहाँ जाने पर्यटकहरु। कहिले उनीहरुसँग हाँसो मजाक गर्छिन् त कहिले आफूले भोगेका विगत बताउँछिन्। विगतमा धेरै दुःख गरेकी उनी अहिले दिनको २ हजारसम्म कमाउँछिन्। जुन पैसा उनले छोरीहरुको पढाइलाई बचाएर राखेकी छिन्।
आफूले पढ्न नपाए पनि उनी छोरीहरुलाई धेरै पढाउन चाहन्छिन्। त्यसैले त उनी श्रीमानले अर्को बिहे गरे पनि छोरीहरुलाई एक्लै हुकाइरहेकी छिन्। माइतीघरको आर्थिक अवस्था कमजोर भएका कारण आफूले पढ्न नपाएको दुःख सुनाउँदै उनी भन्छिन्, ‘मैले पढ्न नपाए पनि मेरी छोरीहरुलाई धेरै पढाउनेछु।’