‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

File Photo
File Photo

‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको  पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ।  

खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो। खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा शुक्रबार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको विजेता सभापोखरी–३ ले रु एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। सो स्पर्धामा भोजपुरको  रामप्रसाद राई–५ मानेभञ्ज्याङ्ग दोस्रो भइ रु ७० हजार प्राप्त गर्‍यो।  

पुरुषतर्फ विभिन्न जिल्लाका २६ टोलीले भाग लिएका थिए। तेस्रो भएका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु ३५/३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। 

यसैगरी महिलातर्फको विजेता रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले रु ७५ हजार, दोस्रो हुने भोजपुरकै आमचोक गाउँपालिका–९ दुम्मानाले रु ४० हजार तथा तेस्रो हुने बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु २५/२५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए। 

यसैगरी महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोककी आरुशा तामाङ घोषित भए। उनीहरुलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ। विजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई,  उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलगायतले पुरस्कार प्रदान गरेका थिए।

यसअघि गत वर्ष सम्पन्न भएको चौथो संस्करणको पुरुषतर्फको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडा तथा महिलातर्फको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले जितेको थियो।

प्रकाशित मिति: : 2023-04-29 09:29:00

प्रतिकृया दिनुहोस्