सबल अर्थतन्त्रको लागि निर्यात नै दीर्घकालीन मेरुदण्ड हो। मुलुकको अर्थतन्त्रको जग आयात एवं रेमिट्यान्समुखी छ। अर्थतन्त्रको यो चरित्रमा स्वाधीन अर्थतन्त्र असम्भव हुन्छ। आयात नै राजस्वको प्रमुख स्रोत हुन आएको छ। बढ्दो आयातले व्यापारघाटा बढाउँछ। बढ्दो व्यापारघाटा अर्थतन्त्रको नकारात्मक परिसूचक हो।
अहिलको टाउको दुखाइ अर्थतन्त्रको संकटमोचन छ। अर्थतन्त्रको संरचनामा परिवर्तन नल्याई अथवा आमूल परिवर्तन नगरी अहिलेको समस्या समाधान हुँदैन। राज्यले अर्थतन्त्रको दिशा समाजवाद उन्मुख घोषणा गरे पनि त्यो दिशामा नगई पुँजीवादमा गएको छ। अर्थतन्त्रको संरचनामा आमूल परिवर्तन गर्न आन्तरिक र बाह्य कारणले हाम्रा शासकहरूले आँट गर्न सक्दैनन्।
सबल अर्थतन्त्रको लागि निर्यात नै दीर्घकालीन मेरुदण्ड हो। तर हाम्रो निर्यात अत्यन्त कमजोर छ। आयात र निर्यातबीच फराकिलो अन्तर हुँदा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा हाम्रो व्यापार घाटा १७ खर्ब २० अर्ब थियो। यो यसपालिको बजेट समीक्षापछिको आकारभन्दा दुई खर्बभन्दा बढी हो। यस्तो अवस्थामा अर्थतन्त्रको संकटमोचन कदापि हुँदैन। वर्तमान अर्थतन्त्रको चरित्र आयातमुखी नभएर उत्पादनमुखी बनाउन जरुरी छ।