अमेरिकामा ६ हजार पाँचसय ७१ नेपालीको असाइलम स्वीकृत

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा शरण लिने नेपालीको संख्या हजारौमा भए पनि अहिलेसम्म १३ हजार ५१ जना नेपालीको मुद्दा मात्र अदालतमा सुनुवाइ भएको छ । सुनुवाइ भएमध्ये ६ हजार पाँच सय ७१ जनाको असाइलम अदालतद्वारा स्विकृत भएको छ । 

यसरी अमेरिकामा शरण पाएकाहरूमध्ये कोही ग्रीन कार्ड स्टाटसमा छन् भने कोही अमेरिकी नागरिक भैसकेका छन् ।

यसैगरी एक हजार एक सय ४६ जना नेपालीले देशनिकालाको आदेश पाएका छन् भने एक हजार एकसय १९ जनाको प्रकृया नै खारेजीमा परेको छ । अदालतले आफै अमेरिका छोड्न आदेश दिइएकाको संख्या ६ सय दुई रहेको छ ।

अदालतले आफैं अमेरिका छोड्न आदेश दिएका अधिकांश अमेरिकामै रहेका छन् भने देश निकालाको आदेश दिएकामध्ये पनि धेरै लुकेरै बसेका छन् ।

पछिल्लो समय अध्यागमन अदालतमा दशौं लाख असाइलम मुद्दाहरू पेण्डिङ अवस्थामा छन् । यसरी पेण्डिङ भएका मुद्दामा नेपालीका मुद्दाको संख्या पनि हजारौ छ ।

कतिपय कमजोर मुद्दा भएका नेपालीले पालो आए पनि म्याद गुजारिरहेका छन् भने पालो पर्खदा पर्खदै दुई दशकभन्दा बढी समय गुजारेका नेपालीको संख्या पनि हजारौं रहेको छ ।

अमेरिकामा पछिल्लो समय असाइलमका लागि आवेदन दिनेहरू धेरैजसो तल्लो बाटोबाट मात्रै आउने गरेका छन् । मानव तस्करहरूलाई लाखौं तिरेर, महिनौ लगाएर अनेकौ देश हुँदै मेक्सिकोबाट अमेरिका छिर्ने बाटोलाई तल्लो बाटो भनिन्छ । 

यसरी तल्लो बाटोबाट आउनेले अमेरिकामा शरण माग्ने एउटै कथा हुन्छ, माओवादी सशस्त्र द्वन्दमा माओवादीले राजनीतिक प्रतिशोधका कारण आक्रमण गरेको, डर धम्की देखाएको  र नेपालमा बस्नै नसक्ने भएपछि ज्यान जोगाउन देश छोडेर आएको । यसरी देश छोड्नेमध्ये अधिकांशले कांग्रेस र भातृसंस्थाको सदस्य भएको दाबी गर्छन् र कुनै न कुनै उपाय लगाएर सक्कली/नक्कली जे भए पनि सदस्यताको व्यवस्था गर्छन् । 

केही कांग्रेसीहरू नै अमेरिकामा रहेको नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरूको कमाइ खाने भाँडो नै यही सदस्यता भएको आरोप पनि लगाउँछन् । उनीहरू थप्छन्, 'यही गोरखधन्दाका कारण जनसम्पर्क समितिमा विवाद मात्र छैन, संस्था नै छिन्नभिन्न पनि भएको छ । 

प्रकाशित मिति: : 2023-04-23 03:06:00

प्रतिकृया दिनुहोस्