मानिसहरू दिनदिनै जन्मिन्छन्, जन्मिनु प्राकृतिक नियम हो। प्राकृतिक नियमलाई हामीले रोक्यौँ भने सृष्टिले हामीलाई सराप्छ। सृष्टिले सराप्नु भनेको हाम्रो विनाश हुनु हो।
जन्मिनु आफैमा समयको खेल हो। जन्मिएपछि बाँच्नको लागि संघर्ष जरूरी हुन्छ। संघर्षबिनाको जिन्दगी कर्कलाको पानीझैँ हो। कहिले हावाले कर्कलाको पानी भुईँमा खस्छ, थाहा हुन्न। संघर्ष भनेको आफूलाई बँचाइराख्न समाज र संसारसँग गरेको एउटा युद्ध हो। जुन युद्ध जन्मिएपछि सबैले गर्नुपर्छ।
जसले जीवनको युद्धमा भाग लिन पछाडी सर्छ, त्यो मानिस कहिल्यै अघि बढ्न सक्दैन। समाज भनेको मानिसहरूको बसोबास हो। जहाँ कोही सकारात्मक र कोही नकारात्मक भावना भएका मानिस भेटिन्छन्। मानिसको विचार र ज्ञानले समाजमा उसको प्रभाव थाहा हुन्छ। कसैले देखावटी अभिव्यक्ति दिन्छ भने कसैले बौद्धिक तरिकाले अभिव्यक्ति दिन्छ।
हामीहरू एउटा मनोभाव पालेर राख्छाैँ। कसैले केही राम्रो कुरा भनिहाल्यो भने हामी त्यसलाई सजिलै स्वीकार गर्दैनौँ। बरू त्यसका विरूद्ध नयाँ तर्क खोज्न थाल्छौ। राम्रो सोच बनाउने हो भने, आफूलाई ठिक र सही लागेका विषयमा आफ्नो अडान छाड्नु हुँदैन। अरू कसैले बलजफ्ति गरेपनि त्यसको गलतको विरोध गर्न सक्नुपर्छ।
समाजमा अहिले पनि अशिक्षितहरूले राज गरिरहेका छन्। कुवाभित्रबाट एक जना विवेकशील व्यक्तिले बाहिरिन खुड्किलो तयार पारेपनि कुवामा रहेका अन्य विवेकहीन व्यक्तिले खुड्किलो भत्काएको हाम्रो समाजमा प्रशस्तै उदाहरण छन्।
अशिक्षित र पुरानो मान्यतामा बाँचिरहेका मानिसले परम्परागत संस्कारबाट टाढा रहन मान्दैन। उसलाई कहिल्यै नयाँ कुराको खोज हुँदैन। जुन, हाम्रो समाजको ठुलो बिडम्बना हो। मै जान्ने, मै मान्ने भन्ने मान्यताले हामो समाजलाई यसरी नै बिगारिरहेको छ।
जन्मिदा हामी नाङ्गै हुन्छौँ। र मर्दापनि नाङ्गै हुन्छौँ। हामी प्राकृतिक रूपमै नाङ्गो जन्मिएका छौ भने हाम्राे नग्नताको सुन्दरता हामी आफैले ढाकिरहेका छौँ। अझै भन्ने हो भने त झन्, आदिम युगमा पातहरूले आफ्नो गुप्ताङ्ग छोप्थे, मानिसहरू। जन्मदा र जल्दा नाङ्गो हुनुपर्ने मानिसको नियति पनि बडो अचम्मको छ।
समय अनुसार विस्तारै सबै परिवर्तन हुँदै आयो। अहिले त इज्जत जोगाउँन मात्र लुगा लगाईन्छ। नैतिकतालाई बचाइराख्न लगाउनु पनि पर्यो। किनकि अहिलेको युग पहिले भन्दा धेरै अघि बढिसकेको छ। धेरै विकास भइसकेको छ। फेरी यसो भन्दैमा आफ्नो संस्कृतिलाई बिर्सनु हुँदैन।
मृत्युपछि सबैले आफ्नो नातागोता छाडेर मशानघाट जानुपर्छ। मशानघाट पुगेपछि फेरी शरीरको सबै लुगा खोलिन्छ। मालामीहरू पनि कसैको मृत्यु कुरेर बसेको जस्तो। यहाँ यस्तो लाग्छ कि, जन्म र मृत्युको समयमा मात्रै मानिस मानिस हुन्छ। निष्पक्ष हुन्छ। बाँजुन्जेल त उ जातमा अल्झिन्छ। धर्ममा अल्झिन्छ। थुप्रै कुराहरूमा अल्झिन्छ। बाँचुन्जेल मानिस केवल आडम्बर भिर्छ।