अमेरिकाको न्युयोर्कमा दुई नेपाली बाटा: 'माउन्ट एभरेष्ट वे' पछि ‘तेन्जिङ नोर्गे शेर्पा वे’

अमेरिकाको मिनी नेपाल भनेर चिनिने न्युयोर्कको ज्याक्सन हाइट्स वरपरका बाटालाई नेपाली नामाकरण गर्न थालिएको छ। 

नेपाललाई देखिने र सुनिने बनाउने यो अभियानमा यहाँ ठूलो संख्यामा रहेका नेपालीहरू लागिपरेका छन्। त्यसमा पनि शेर्पाहरूको जुझारूपन र लगाव अनुकरणीय रहेको छ।

सन् २०१९ को मार्चमा ३१ एभिन्यु र ७५ स्ट्रीटको कर्नरलाई माउन्ट एभरेष्ट वे नामाकरण गरिएको थियो। यो क्रमलाई निरन्तरता दिदै  यही मे २९ मा ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राख्न लागिएको छ।

सगरमाथा आरोहणको ७०औं वार्षिकोत्सव मनाउने क्रममा यो नामाकरण सफलता हात लागेको छ। तेन्जिङ नोर्गेले ७० वर्ष अघि मे २९ कै दिन न्युजिल्याण्डका एडमन्ड हिलारीसँगै पहिलोपटक सगरमाथाको शिखरमा पिहलो माव पाइला राखेका थिए।

जीवनको उत्तरार्द्धमा भारतीय भएका यी हिमाल पुत्र नोर्गेको सन् १९८६ मा ७१ वर्षको उमेरमा दार्जिलिङमा निधन भएको थियो।

उनै नोर्गेको पदचाप पछ्याउँदै आज हजारौै शेर्पाहरू पर्वतारोहणसँग जोडिएका छन्। उनीहरूमध्ये सयौंले सगरमाथा आरोहण गरेका छन् भने सगरमाथा आरोहणसम्बन्धी अनेकौ कीर्तिमानहरू उनीहरूकै नाममा बनेका छन्।

न्युयोर्कमा सगरमाथा आरोहणसँग जोडिएका शेर्पाहरूको संख्या उल्लेख्य मात्रामा रहेको छ। तिनै शेर्पाहरूको निरन्तर पहलमा ज्याक्सन हाइट्सको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटले ‘तेन्जिङ नोर्गे शेर्पा वे’ नाम पाउन लागेको हो। यसका लागि २५ औं डिस्ट्रिक्टका तत्कालिन सिटी काउन्सिलमेन डानियल ड्रमले सिटी काउन्सिलमा प्रस्ताव लगेर पारित गराएका थिए।

आगामी मे २९ मा ७०औं अन्तर्राष्ट्रिय सगरमाथाको अवसरमा ज्याक्सन हाइट्समा विभिन्न कार्यक्रमका साथ स्ट्रीट फेस्टिभल आयोजना गर्न लागिएको छ। फेस्टिबल युएस नेपाल क्लाइम्बर्स एसोसियसन र शेर्पा किदुग अमेरिकाले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। 

प्रकाशित मिति: : 2023-04-19 07:10:00

प्रतिकृया दिनुहोस्