राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै

आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिने भएका छन्। उनकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्ने भएका छन्। 

राज्याभिषेक समारोहमा राजकुमार दम्पतिको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घम दरबारले ड्युक अफ ससेक्स उपस्थित हुने तर उनकी पत्नी डचेस अफ ससेक्स सहभागी नहुने पुष्टि गरेको हो। 

आगामी वैशाख २३ गते राजा चाल्र्स तृतीयको वेस्टमिनिष्टर गिर्जाघरमा राज्याभिषेक हुँदैछ। उक्त समारोहमा विश्वभरका शीर्ष नेता तथा व्यक्तिसहित दुई हजार विशिष्ट पाहुनाका बीचमा राजदरबार त्यागेका राजकुमार ह्यारी पनि अतिथि बन्नेछिन्। प्राप्त समाचारअनुसार डचेस अफ ससेक्स मेघनले आमन्त्रण अस्वीकार गरेका छन्।

राजपरिवारका सदस्यसँगको आफ्नो मतभिन्नता, बेलायती सञ्चार माध्यमबाट राजकुमार ह्यारी र शाही परिवारलाई लिएर भएका गतिविधि, उनकी श्रीमती मेघनका विषयमा राजपरिवारका सदस्यले गरेका टिप्पणीलगायत राजपरिवारको सदस्यका रूपमा भोगेका आरोह अवरोह समेटेर प्रकाशन भएको उनको पुस्तक ‘स्पेयर’ विश्वभर चर्चित भएको छ।  राजपरिवारसँगको उनको यो भेट उक्त पुस्तक बजारमा आएपछिको पहिलो हुनेछ। 

पारिवारिक मनोमालिन्यका कारण तीन वर्षअघि राजकुमार ह्यारी र उनकी पत्नी मेघनले राजकीय कर्तव्यबाट अवकाश लिएको घोषणा गर्दै अमेरिका बसाँइ सरेका थिए। राजपरिवारका सदस्यबीचको वैमनस्यता गत महिना फेरि सार्वजनिक भयो जब विन्डसर दरबारमा रहेको राजकुमार ह्यारीको निवास फ्रोगमोर कटेज  खाली गर्न भनिएको थियो।

सन् १९८४ को सेप्टेम्बर १५ मा जन्मेका ह्यारी बेलायतका राजा चाल्र्स र उनकी पहिलो पत्नी डायनाका दोस्रो सन्तान हुन्।  अमेरिकी अभिनेत्री मेघन मार्कलसँग विवाह गर्नुअघि उनी ससेक्सको ड्युक थिए । अश्वेत युवती मेघनसँगको विवाहलाई दरबारले कहिल्यै मन पराएन। परिवारभित्रै बाहिरियाजस्तो हुन पुगेपछि दुई सन्तान आर्ची र लिलिबेटका साथ अमेरिका प्रस्थान गरेका थिए।

प्रकाशित मिति: : 2023-04-14 07:02:00

प्रतिकृया दिनुहोस्