अमेरिकाको केन्टकीस्थित एक बैंकमा 'मास सुटिङ': ४ मारिए, ९ घाइते

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको केन्टकी राज्यको लुइभिलमा सोमबार विहान भएको एक 'मास सुटिङ'मा चारजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्। मास सुटिङ डाउन टाउनस्थित ओल्ड नेशनल बैंकमा भएको थियो।

मृतकहरुमा थोमस इलियट (६३), जुलियाना किसान (४६), जेम्स टट (६४) र जोशुआ ब्यारिक (४०) रहेको प्रहरीले जनाएको छ। इलियट बैंकका उच्च अधिकारी र केन्टकी राज्यका गभर्नरका अभिन्न मित्र भएको बताइएको छ। 

बन्दुकधारी २५ वर्षीय श्वेत युवक  कन्नर स्टर्जन भएको बताइएको छ। उनी त्यही बैंकका कार्यरत कर्मचारी भएको बताइएको छ। उनी केही समयपछि नै बैंकबाट निस्कासनमा पर्न लागेकाले उनले बैङकका उच्च अधिकारीलाई निसाना बनाएको बताइएको छ।  

प्रहरीसँगको दोहोरो भिडन्तमा बन्दुकधारी स्टर्जन पनि मारिएका छन्। घटनामा दुई प्रहरी घाइते भएको बताइएको छ। 

यस वर्ष अमेरिकामा चारजनाभन्दा बढी मारिएका मास सुटिङको संख्या १५ पुगेको छ। मास सुटिङ सामान्य भैरहेको अमेरिकामा हरेक साता कुनै न कुनै सहरमा मास सुटिङ भैरहेका छन्। 

प्रकाशित मिति: : 2023-04-11 06:36:00

प्रतिकृया दिनुहोस्