अरविन्द केजरीवालको पार्टीले पायो राष्ट्रिय पार्टीको मान्यता

भारतीय निर्वाचन आयोगले अरविन्द केजरीवाल नेतृत्वको आम-आदमी पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिएको छ। 

आउँदो लोकसभा निर्वाचनअघि नै आम-आदमी पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउनुलाई ठूलो उपलब्धी मानिएको छ।

तर भारतीय निर्वाचन आयोगले भारतीय कम्युनिष्ट पार्टी (सीपीआई), राष्ट्रवादी कांग्रेस (एनसीपी) र तृणमूल कांग्रेस पार्टीलाई राष्ट्रिय पार्टीको दर्जाबाट हटाइएको छ। यो वर्ष कर्नाटक र मिजोरममा विधानसभा चुनाव हुँदैछ। 

आम-आदमी पार्टीका संयोजक केजरीवालले कर्नाटकमा चुनाव लड्ने घोषणा गरेका छन्। 

गतवर्ष डिसेम्बर २०२२ मा गुजरातमा भएको विधानसभा चुनावमा पनि आम-आदमी पार्टीले राम्रो प्रदर्शन गरेको थियो। जहाँ पार्टीले करिब १२ प्रतिशत मत पाएको थियो।

अहिले दुई भारतीय राज्यमा आम-आदमी पार्टीको सरकार छ। सन् २०२२ मा पञ्जाबमा विधानसभाको चुनाव भएको थियो, जहाँ पार्टीले पूर्ण बहुमतका साथ सरकार बनायो। फेब्रुअरी २०२० मा पनि पार्टीले केन्द्र शासित राज्य दिल्लीमा कब्जा गरेको थियो।

प्रकाशित मिति: : 2023-04-10 21:20:00

प्रतिकृया दिनुहोस्