अल–अक्सा मस्जिदमा दोस्रो दिन पनि झडप

File Photo
File Photo

इजरायली प्रहरीले पूर्वी जेरूसेलमको अल अक्सा मस्जिद परिसरमा लगातार दोस्रो दिन पनि छापा मारेपछि गाजाबाट दक्षिणी इजरायलतर्फ थप रकेट प्रहार भएको इजरायली र प्यालेस्टिनी स्रोतले बिहीबार जानकारी दिएका छन्। 

प्यालेस्टाइनी रेड क्रिसेन्टले जारी गरेको विज्ञप्तिमा कम्तीमा छ जना घाइते भएको जनाइएको छ। इस्लामिक परोपकारी संस्था वक्फका अनुसार मस्जिद परिसरको संवेदनशील क्षेत्रमा प्रहरीले स्टन ग्रेनेड र रबरको गोली प्रयोग गरेर उपासकहरूलाई तितरबितर पारेको थियो।

प्यालेस्टिनीे सरकारी समाचार संस्था वाफाका अनुसार करिब २०० उपासकहरू रमजान रात तरावीहको प्रार्थना गरिरहेका बेला प्रहरीले परिसरमा आक्रमण गरेको थियो। इजराएली प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'दर्जनौं कानून उल्लङ्घन गर्ने युवाहरूले दङ्गा भड्काउन मस्जिदभित्र अवरोध गर्ने प्रयास गरेका र ती युवाले मस्जिदको ढोका बन्द गर्ने प्रयास गरेपछि सुरक्षा फौज मस्जिदभित्र पसेको विज्ञप्तिमा उल्लेख छ।'

विज्ञप्तिमा भनिएको छ, 'कानून उल्लङ्घन गर्नेहरूले उक्साउन नारा लगाउने पटाका पड्काउने र घटनास्थलमा कार्यरत प्रहरी अधिकारीहरूमाथि बोतल, काठ, ढुङ्गा र इटाका टुक्राहरूले आक्रमण गरेपछि स्थितिलाई नियनत्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो।'

इजरायली आक्रमणको मुस्लिम विश्व र संयुक्त राष्ट्रसङ्घबाट निन्दा भएको छ।  हजारौं मुस्लिम धर्मावलम्बीले रमजानको पवित्र महिनालाई पहाडको टुप्पोमा रहेको मस्जिद परिसरमा प्रार्थना गरेर मनाउने संवेदनशील बिदाको समयमा हिंसा भड्किएको थियो।

 परिसरको तल, सयौं यहूदी तीर्थयात्रीहरूले निस्तार चाडको छुट्टी मनाउँदै पश्चिमी पर्खालमा प्रार्थना गर्छन्। मुस्लिमहरूको लागि तेस्रो पवित्र स्थल र यहूदीहरूको लागि सबैभन्दा पवित्र स्थान अल–अक्सा मस्जिद परिसर पूर्वी जेरुसलेममा अवस्थित छ। 

यो स्थल पूर्वी जेरुसेलमको पुरानो शहरमा पर्छ। यो क्षेत्र इजरायलले सन् १९६७ को मध्य पूर्व युद्धमा पश्चिम किनारा र गाजा पट्टीको बाँकी भागसहित कब्जा गरेको थियो।

प्रकाशित मिति: : 2023-04-07 05:57:00

प्रतिकृया दिनुहोस्