ब्राजिलको पूर्व प्राथमिक विद्यालयमा भएको आक्रमण, चार बालबालिकाको मृत्यु

ब्राजिलको दक्षिणी क्षेत्रमा बुधबार एक पूर्व प्राथमिक विद्यालयमा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा चार बालबालिकाको हत्या भएको छ। 

सान्टा क्याटारिना राज्यका प्रहरी र सरकारी अधिकारीका अनुसार एक २५ वर्षीय आक्रमणकारीले बुधबार बिहान ब्लुमेनाउ शहरमा गुड सेफर्ड सेन्टर भनिने एक निजी विद्यालयमा गरेको आक्रमण अन्य चार जना घाइते भएका छन्। 

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणको निन्दा गरेका छन्। 

उनले ट्वीटरमा लेखेका छन्, 'बच्चा वा नातिनातिना गुमाएको परिवारभन्दा ठूलो पीडा अरू केही हुन सक्दैन। त्योभन्दा पनि बढी निर्दोष र असहाय बालबालिकाविरुद्ध हिंसात्मक आक्रमण हुनु निन्दनीय छ।' उनले भने, 'म यस दुःखको घडीमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु। उहाँले प्रशासनलाई घटनाको शीघ्र अनुसनधान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ।'

राज्य सरकारको एक स्रोतले एएफपीलाई मृतकचारै जना बालबालिका रहेको पुष्टि गरेको छ। ब्राजिलका सञ्चार माध्यमका अनुसार प्रयोग गरिएको हतियार बन्चरो (ह्याचेट) जस्तो देखिएको छ।

सान्ता क्याटारिनाका गभर्नर जोर्गिन्हो मेलोले यस भयानक आक्रमणका लागि राज्यमा तीन दिनको शोकको घोषणा गरेका छन्।ब्राजिलमा हालैका वर्षहरूमा विद्यालयहरूमा हिंसा बढ्दै गएको छ।

गत साता साओ पाउलोको एक विद्यालयमा १३ वर्षीय एक किशोरले चक्कु प्रहार गरी एक शिक्षकको हत्या गरेका थिए।

गत नोभेम्बरमा एस्पिरिटो सान्टो राज्यको दक्षिणपूर्वी शहर अराक्रुजका दुई विद्यालयमा भएको दोहोरो आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका थिए। सन् २०१९ मा साओ पाउलोबाहिर सुजानोको एक उच्च माध्यमिक विद्यालयमा दुई जना पूर्व विद्यार्थीले गोली हानेर आठ जनाको हत्या गरेका थिए।

सन् २०११ मा रियो दि जेनेरियोको उपनगरीय क्षेत्र रियलेन्गोमा रहेको आफ्नो पूर्व प्राथमिक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १२ बालबालिकाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-04-06 05:35:00

प्रतिकृया दिनुहोस्