तालिबानले जलाइरहेकाे अफगान, दबाइरहेकाे 'स्वर'

दक्षिण र पूर्वी अफगानिस्तानको ग्रामीणक्षेत्रमा 'बालिकाहरू पनि स्कूल जानुपर्छ' भन्ने पेन–पाथका सञ्चालक मतिउल्लाह वेसालाई तालिबानले पक्राउ गरेको समाचार २७ मार्चको बेलुकीतिर सामाजिक सञ्जालमा आयो। पेन–पाथका सहसञ्चालक तथा भाइ अताउल्लाह वेसाले आफ्ना दाइ मतिउल्लाहलाई तालिबानने पक्रेकाे पुष्टि गरे। 'मेरो दाइलाई सोमबार साँझ पाँच बजे मस्जिदबाट तालिबानले पक्राउ गरेर जबर्जस्ती अनकन्टार ठाउँमा लागेको छ। हामीलाई मतिहल्लाह कहाँ छन् भन्ने थाहा छैन,' उनले भने।

तालिबानले मेराे घर घेराउ गरेर हामी दुईभाइलाई कुटेर जबर्जस्ती गिरफ्तार गरेको अताउल्लाहले ट्वीटरमा भिडियोसहित बताए। 'हाम्रो घर आज बिहान १० बजेदेखि घेराबन्दीमा छ। मेरा दाइ समिउल्लाह र अर्का भाइ वली मोहम्मदलाई तालिबानले पक्राउ गरेकाे छ। तालिबानले हात बानेरै लिएका छन्। तालिबानले मेरी आमा, मेरा बुवा, मेरा बच्चा र भाइहरूसँग अशिष्ट व्यवहार गरेकाे छ। सबैको मोबाइल खोसेर लागेको छ,' उनले भिडियोमा भनेका छन्।

तालिबानले आफूलाई पनि गिरफ्तार गर्ने प्रयास गरेको उनी बताउँछन्। 'हामीले १५ वर्षसम्म यो देशको सेवा गरेका छौँ, हाम्रो ज्यान गएपनि तालिबानसँगको संघर्ष हामी छोड्ने छैनौँ,' अताउल्लाहले भने। 

मतिउल्लाहको गिरफ्तारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण खिचेको छ। उनको तत्काल र बिनाशर्त रिहाइको माग गर्ने संस्था र व्यक्तिहरूमा एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच, संयुक्त राष्ट्र सहायता नियोग (युनामा), साथै संयुक्त राष्ट्र संघका प्रतिनिधि रिचर्ड बेनेट र अफगानिस्तानका लागि यूरोपियन यूनियनका विशेष प्रतिनिधि थोमस निकोल्सन छन्।

युनामाले ट्वीटरमा तालिबानलाई मतिउल्लाहको गिरफ्तारीको कारण र उनलाई कुन ठाउँमा राखिएको छ भनेर प्रश्न गरेको छ। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मतिउल्लाहलाई उत्तेजक बैठक गर्दागर्दै पक्राउ गरेको बताएका छन्।

मतिउल्लाहले पक्राउ पर्नुअघि ट्वीटरमा साना बालिकाहरूले 'हामीलाई विद्यालय चाहिन्छ', 'हामीलाई शिक्षा चाहिन्छ' र 'नारीहरूलाई शिक्षा चाहिन्छ' भन्ने नारा लगाएको भिडियो पोष्ट गरेका थिए। उनले लेखेका थिए, ‘पुरुष, महिला, वृद्ध, युवा र देशका हरेक कुना–कुनाबाट आफ्ना छोरीहरूको शिक्षाका लागि इस्लामिक अधिकारको माग गरिरहेका छन्। पेन–पथका महिला स्वयंसेविकाहरूले पनि नारीहरूको शिक्षाको अधिकार माग्दै छन्।'

पछिल्लो समय काबुलमा प्रदर्शनकारी र मानवअधिकारकर्मीहरूको गिरफ्तारीले तीव्र गति लिएको छ। केटीहलाई कक्षा ६ भन्दा माथिको शिक्षामा प्रतिबन्ध लगाएको दोश्रो वर्षको उपलक्ष्यमा २६ मार्चमा पश्चिमी काबुलका महिलाहरूले विरोध प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा सहभागी रुकिया साई, फातिमा मोहम्मदी र मलालाई हासेमीलाई तालिबानले गिरफ्तार गरेको थियो।

स्रोतकाअनुसार पक्राउ परेका ती महिलालाई उनीहरूको गतिविधिमा प्रतिबन्ध लगाउने सर्तमा जमानतमा रिहा गरिएको थियो। परिचय पत्रको प्रतिलिपि, औंठाछाप लगाएकाे भिडियो तालिबानसँग छ। साथै, उनीहरूलाई कुनै नागरिक र राजनीतिक गतिविधिमा संलग्न नहुन र सामाजिक सञ्जालमा पनि आवाज नउठाउन चेतावनी दिइएको छ।

रुकिया साईले आफ्नो रिहाईको पुष्टि गरेपनि अन्तर्वार्ता दिन नमिल्ने बताएकी छन्। तीन वर्षअघि श्रीमान् गुमाएकी दुई सन्तानकी आमा साईलाई यसअघि सन् २०२२ को डिसेम्बरमा महिलाका लागि विश्वविद्यालय बन्द गरेको विरोध गर्दा पक्राउ गरिएको थियो। त्यसबेला उनले रिहा हुनुअघि तीन दिन जेल जीवन बिताएकी थिइन्।

'उनी जेलमा रहँदा उनको परिवारले धेरै पीडा भोग्नु परेको थियो। उनका छोराछोरीहरू रातभरि रुन्थे र आफ्नो आमालाई खोज्थे,' साईकी साथीले बताइन्।

प्रकाशित मिति: : 2023-04-05 07:21:00

प्रतिकृया दिनुहोस्