विकृतिका चाङमाथि किशोरीका मुक्का

BreaknLinks
BreaknLinks

माघमा हिमा- ३ मोफ्ला गाउँमा १८ वर्षका बालकसँग र १४ वर्षकी किशोरीकाे विवाह हुन लागेकाे थियाे। बिहेकाे अन्तिम तयारी भइरहेकाे बेला गाउँका किशोरीहरुले बालविवाह कानुनविपरीत हाे भन्दै रोके। अन्तिम अवस्थामा बिहे राेकिँदा तयारीमा जुटेकाे परिवारले किशोरीहरुलाई जलाइदिने धम्की दिए।

बालविवाह राेक्ने अठाेट गरेर हिँडेका किशोरीहरु त्यो धम्की देखेर टसमस भएनन्। बरु प्रतिबद्ध भएर भने, ‘अब याे हाम्रो अभियान हाे।’ र बालविवाह गरेका जोडीलाई आ-आफ्नो अभिभावकको जिम्मा लगाउने काम गरे। त्यसयता उनीहरु विकृतिविरुद्ध निरन्तर गतिविधि गरिरहेका छन्।

‘विवाह गर्न हुन्न भन्ने होइन। याे त मानव सभ्यताकाे निरन्तरता हाे। जैविक आवश्यकता हाे,’ अभियानमा सामेल एक किशोरी जेनिशा रोकायाले भनिन्, ‘उमेर पुगेपछि विवाह गर्नुपर्छ। अभिभावक, आमा-बुबा सबैले याे कुरा बुझिदेउन भन्नलाई याे अभियान चलाएका हाैं।’

उनकाअनुसार २० वर्षपारि सहजै रूपमा विवाह गर्न पाइन्छ। तर, उमेर नपुगी कोही कसैले विवाह गर्न र गराउँन पाउँदैन। जुन कानुनी रुपमा निषेधित छ।

‘बालविवाह, छुई कुप्रथाजस्ता हानिकारक अभ्यास रोक्न हामी सक्रिय छौं,’ जेनिशाले थपिन्, ‘परिवर्तन आफैंबाटै सुरु गर्नुपर्छ भन्ने चेतनाकाे संचार गर्न चाहन्छौं। त्यही भएर जोखिम मोलेर भएर पनि बालविवाह रोकिरहेका छौं।’ उनले महिनावारी भएका महिलालाई घरको सुरक्षित कोठामा बसाउने अभियान पनि सँगै चलाइरहेकाे बताइन्।

यसरी विकृतिविरुद्धको अभियान चलाइरहेका किशोरीहरु दिउँसो विद्यालय जान्छन्। बिहान, बेलुका भने समाजको विकृतिहरूको सूक्ष्म अध्ययन गरिरहेका हुन्छन्।


सामाजिक विभेद र कुरीतिले जगडिएकाे समाज व्यवस्थालाई 'नाे' भन्ने साेफिया


पहिले सामाजिक विषयमा सवाल उठाउँदा नपत्याउने भद्र/भलादमी उनीहरूको कामप्रति साथ दिन थालेका छन्। गाउँमा देखिएका बेथिति रोक्न किशोरी सक्रिय भएपछि स्थानीयहरू पनि उनीहरूप्रति निकै भरोसा राख्न थालेका छन्।

अब तुरुन्तै गाउँमा भइरहने बालविवाह, छाउपडी प्रथा सँगै बहुविवाह, जारी प्रथा, मदिरा सेवन तथा बेचबिखनदेखि लागूऔषध दुर्व्यसनीजस्ता क्रियाकलाप रोक्न एकजुट भएर अघि बढ्न थालेकाे अर्की किशोरी नविना रोकायाले बताइन्।

‘अन्धविश्वासले थिलथिलो बनाएकाे समाजलाई सुधार्ने काेसिस गरिरहेका छाैं। सानै उमेरमा विवाह गर्दा पुरुषले अर्की श्रीमती लिएर भाग्ने, एक महिलाले अर्को महिलालाई दमन गर्ने, छाउपडी हुँदा गोठमै सुताउनेदेखि पोषिलो खानेकुरा नदिनेजस्ता काम अहिले पनि भइराखेका छन्,’ उनले भनिन्,‘यी समस्या निर्मूल गर्न काँधमा काँध र हातमा हात मिलाएर अघि बढेका छौं।’

उनकाअनुसार छुई हुँदा गोठमा बस्दा महिलाहरू स्वास्थ्य समस्यामा परेका छन् भने कयाैं ठुला दुर्घटनाका शिकार बनेका छन्। हरेक हिसाबले हाम्रो समाज र समाजमा बस्ने दिदी बहिनी सुरक्षित छैनन्।

उनले भनिन्, ‘मुख्यतः छुई भएको समयमा घरमा बस्दा देवता लाग्छन् भन्ने मनाेविज्ञान चिर्नु हाे। यसका लागि हामी आफैंले सुरु गरेर अरूलाई देखाउने चेष्टा गरिरहेका छाैं।’

२० वर्षपछि आफ्नो खुट्टामा उभिएर बुबाआमा पाल्ने हिम्मत राख्ने किशोरीहरू समाजमा रहेकाे अर्की किशोरी सिर्जना रोकायाले बताइन्।

‘कम उमेरमा विवाह गर्दा परिवारको माया पाइँदैन। छाेरीहरुले गलत ट्रयाक पकड्ने सम्भावना हुन्छ,’ उनले भनिन्, ‘हामी आफू पनि बिग्रँदैनौं। अरूलाई पनि बिग्रन दिँदैनौं।’

किशोरीहरू अभियानकाे प्रभाव बढाउन बेलाबेला अन्तरपुस्ता संवाद गर्छन्। उनीहरू बाजे-बज्यै, बाआमा र छोरी, नातिनीहरूको पुस्ता एकै ठाउँमा भेला गराएर हानिकारक अभ्यासका विषयमा छलफल चलाउँदै आएका छन्। किशोरी कक्षा सञ्चालन गरेर बालविवाह, बहुविवाह, छाउपडी प्रथा, हिंसाजन्य घटनाका बारेमा अध्ययनसमेत गर्छन्।

गैरसरकारी संस्थाले पनि सामाजिक कुरीतिका विषयमा कक्षा सञ्चालन गरिरहेका छन्। उनीहरूले कानुनी सचेतना पनि जगाउँदै आएका छन्।

नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्यांक छ भने वर्षेनि १० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको वर्षेनि विवाह हुने गरेको छ।

महिला पुनः स्थापन केन्द्र (ओरेक)ले सन् २००८ देखि हरेक वर्ष प्रकाशित गर्दै आएको पुस्तक ‘अन्वेषी‘ले नेपालमा महिला हिंसाका घटनाहरु बढिरहेको निष्कर्ष निकालेको छ।

दिगो विकासका १७ वटा लक्ष्यमध्ये पाँचाै नम्बरको बुँदाले लैङ्गिक समानता हासिल गर्न नेपालले २०३० सम्ममा सार्वजनिक क्षेत्रमा महिलाको सहभागिता ११ प्रतिशतबाट ३३ पुर्‍याउने, लैङ्गिक असमानताको सूचकाङ्कलाई घटाएर ०.०५ मा झार्ने र लैङ्गिक सशक्तिकरण मापनलाई ०.५७ बाट बढाएर ०.६९ पुर्‍याउने लक्ष्य लिएकाे छ।

विकृति हिमाका किशोरीहरु मुठ्ठी कस्दा दिगाे विकासकाे लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

गोप्थड विरहकाे विम्ब

प्रकाशित मिति: : 2023-04-02 21:19:00

प्रतिकृया दिनुहोस्