स्कुलमा पढ्दै गर्दा नेपाली पढाउने शिक्षकले विभिन्न व्यक्तिका कृतिबारे पढाउहुन्थ्याे। साहित्यकार, राजनीतीज्ञ, इतिहासकार, दार्शनिक, वैज्ञानिकलगायतका कृतिहरु पढाइनुकाे आशय हाेला, साना नानीहरु पनि भविष्यमा केही न केही बन्न सकुन्। केही न केही गर्न सक्षम हुन्। कृति राख्न सकुन्। पढाउने शिक्षकहरु दाेहाेर्याइ-तेहेर्याइ भन्नुहुन्थ्यो, 'भाेलि तिमीहरुले पनि केही न केही कृति राख्नुपर्छ है।'
विद्यार्थीहरु चुपचाप मुन्टाे हल्लाउँथे। कति एकछिन टाेलाउँथे, मनमनै गम्थे। तर, एक निमेसमै फुटिजाने पानीकाे फाेकाजस्तै उनीहरु शिक्षकले भनेकाे कुरा बिर्सन्थे। काेही भने साँच्चिकै साेचमग्न हुन्थे। भविष्यमा एक न एक त गर्नैपर्छ भनेर अठाेट गर्थे। गम्भीर भएर साेच्थे। तीनै मध्येकी एक थिइन्, गायिका साेफिया थापा।
कृति बनाउने भुत सवार भएपछि स्कुले उमेरमा उनले कविता लेखिन्, ती कविता सुनाइन् पनि। तर, सुन्नेहरु उस्ताे उत्साहित हुँदैनथे। 'वन्स माेर' भन्दैनथे। 'वाओ' आउँदैनथ्याे। सायद, उनकाे कवितामा दम थिएन। कथा पनि लेखिन्, तर पाठक भएनन्। स्कुलका कार्यक्रममा गीत गाउँदा भने धेरैले मन पराइदिए। यसकाे स्वर राम्राे छ भनेर धेरैले प्रतिक्रिया पनि दिए। त्यसले सुन्ने र देख्नेहरु मन्त्रमुग्ध भए। उनी उत्साहित भइन्।
कस्तुरीले आफ्नाे शरीरमा भएकाे बिनाकाे बासना त सुँघ्छ तर त्याे आफ्नै हाे भनेर पत्ताे पाउँदैन। साेफियाले कविता, कथाहरु आफ्नाे बासना हुन् कि भनेर साेचेकी थिइन्। त्याे असली बसना रहेनछ। असली बासना गीतबाट आयाे। जतिबेला उनले याे कुराकाे पत्ताे पाइन्, त्यतिबेला उनले मनमनै साेच बनाइसकेकी थिइन्, 'मेराे क्षेत्र गायन हाे।'
यसका लागि उनले संगीत सिक्नु उचित ठानिन्। भारतबाट शास्त्रीय संगीतमा डिप्लाेमा गरिन्। उनलाई आधुनिक गीत वरिष्ठ संगीतकार दिपक जंगमले सिकाएका थिए। त्याे बीचमा उनले गीत गाउने र रेकर्ड गर्ने काम भने गरी नै रहेकी थिइन्।
उस्तै खाले गीत गाउने हजाराैंकाे भीडमा सामेल हुँदा उनकाे पृथक परिचय बन्न सकेकाे थिएन। भन्छिन्, 'मैले गीत गाउने र स्राेताले सुन्नेबाहेक केही थिएन।'
काेराेना भाइरसकाे प्रभाव बढ्दै जाँदा लकडाउन भयाे। पहिलाे लकडाउनकाे बेला संसार घरभित्रै थुनिएकाे थियाे। तीज नजिकिँदै थियाे। त्याे एक समयमा संसार पिँजडामा पुग्याे, तर पितृसत्ता स्थापना भएदेखि नै महिलाहरु पिँजडामा थिए। छाेटाे अवधिमा घरबाट बाहिर निस्कन नपाउँदा उकुसमुकुस भएकाे महसुस गर्नेले महिलाकाे उकुसमुकुस कहिल्यै महसुस गरेनन्। बरु विभिन्न भाष्यहरु निर्माण गरेर बन्दी बनाउने प्रपञ्च रचि नै रहे। भानुभक्तले त, 'नारी हाँस्नु हुँदैन, हाँसे वेश्या हुनेछन्' समेत भने।
साेफिया भन्छिन्, 'शासन सत्ताले महिलाहरुलाई एउटा परिधिमा बाँच्नुपर्छ भन्ने भाष्यकाे निर्माण गर्यो। उनीहरु कमजोर हुन्छन् भनी सहानुभूति देखाएजस्ताे गरेर दबायाे। राज्यले निर्माण गरेका नीति नियमसमेत महिलाप्रति पक्षपाती भए। यिनीहरु दाेस्राे दर्जाका हुन् भन्ने पारियाे। याे अवस्थालाई 'नाे' भन्ने साहस भित्रबाट आइरहेको थियाे।'
उनले 'नाे' भन्नलाई पनि गीतकाे माध्यम राेजिन्, जसले साेच निर्माण गराउँछ। परम्परागत मानसिकता परिवर्तन गराउँछ। मान्छेहरुकाे दृष्टिकोण बदलिदिन्छ। त्यसैले उनले गाइन्, 'यसपालिको तीज, नाे व्रत प्लिज।' उनले सामाजिक कुरीतिविरुद्धमा गाएकाे पहिलाे गीत थियाे, त्याे। जसले धर्मकाे आडमा महिलालाई दबाउने पितृसत्ताकाे भारी बाेकेकाहरुकाे मानसिकतामाथि ढ्याङ्ग्राे ठाेक्याे।
त्यसलाई तत्काल युट्युबबाट हटाउन लगाइयाे। 'बाहिर त्याे गीत हटाउनुपर्छ भनेर दबाब दिइएकाे कुरा मात्रै आयाे,' साेफियाले भनिन्, 'मलाई मार्ने धम्कीसम्म आयाे। त्यसपछि मैले निर्णय गरेँ अब सामाजिक विकृति, विसंगतिलाई हटाउन गीत गाउँछु भनेर।'
'नाे ब्रत प्लिज' गीतले साेफियालाई एक फरक धारकाे गायिकाकाे रुपमा परिचित गरायाे। त्यसलाई उनले प्राप्त गरेकाे सामाजिक पुँजी भन्न सकिएला। त्याेभन्दा बढी गीतले तीजकाे परम्परागत शैलीमाथि प्रश्न उठायाे। सचेत वर्गबाट सार्वजनिक रुपमा बहससमेत छेडियाे।
विभिन्न क्षेत्रबाट भएका प्रहारबाट उनी गलिनन्, झन् बलियाे बन्ने आँट पलायाे। सांस्कृतिक विद्राेह गर्ने, जनचेतना फैलाउने खालका गीत गाउने अठाेट गरिन्। गीत संगीतका माध्यमबाट आजकाे अहिल्यै परिवर्तन नभएपनि व्यापक मान्छेहरुलाई परिवर्तनका निम्ति आह्वान गर्न सकिन्छ। तीजमा पानी पनि नपिइकन व्रत बस्नुपर्ने संस्कारलाई 'नाे' भन्नेकाे जमात बढाउन सहयाेग मिल्नु उनका लागि उपलब्धि थियाे।
सांगीतिक क्षेत्रमा लाग्ने निर्णय गर्दै गर्दा उनले विभिन्न खालका गीत संगीत सुन्ने गरेकी थिइन्। त्यसमा नेपाली, हिन्दी, अंग्रेजी सबैखाले गीत थिए। त्यसकाे प्रभाव उनकाे मनमा गडेर बसेकाे छ। त्यसैले उनलाई अहिले पनि लाग्छ, 'गीत संगीत एउटा सशक्त माध्यम हाे, जसले व्यापक मान्छेलाई एकैपटक सचेत गराउन सक्छ।'
उमेर बढेसँगै चेतना पनि बढ्दै गयाे। संसारभरी महिलाहरुमाथि कुनै न कुनै खालका शाेषण, दमन, हिंसा भइ नै रहेका छन्। नेपालमा त्यसकाे रुप डरलाग्दो छ। यसकाे विरुद्धमा लागेर जनचेताना फैलाउने माध्यम पनि गीत हुनुपर्छ भन्दै गर्दा गीतकारले उनलाई छाउपडीविरुद्ध गाउन आग्रह गरे। गीत मन परेपछि आफैँले कम्पाेज गरिन्। म्युजिक पनि आफैँले भरिन्। रिलिज नहुँदै गीतमा उल्लेख गरिएकाे 'छाउपडी' शब्द राख्न नहुने भनेर विराेध भयाे।
'विभिन्न पत्रपत्रिकामा, किताबमा, डुकुमेन्ट्रीहरुमा छाउपडी शब्द अटाउन हुने र गीतमा मात्रै नहुने त हुँदैन हाेला भन्ने लाग्याे,' उनले भनिन्, 'शब्द नै हटाउनुपर्ने माग थियाे। त्याे शब्दले जे अर्थ बाेक्छ, अरु राखेर त्यसकाे अर्थ हुँदैन भन्ने साेचेर गीत बनाएँ। छाउपडी समस्या हाे भनेर गाउँदा एउटा निश्चित भूगोलको अपमान हुँदैन भन्ने लागेर गीत बनाएकाे हाे। गीतले समस्या भन्छ। समाधान गर्दैन। तर सेचत बन्न सिकाउँछ।'
यसरी विभिन्न खालका प्रतिक्रियाकाे बीचबाट तयार भएकाे गीत कर्णाली उत्सवकाे मञ्चबाट सार्वजनिक गरिन्। उनले भनिन्, 'छाउगाेठ नै बनाएर, छाउपडी मान्ने ठाउँबाट नै याे गीत सार्वजनिक गर्नु उपयुक्त ठानेँ। महिनावारी भएकाे बेला पूजा काेठामा नजाने, मन्दिर नजाने चलन त काठमाडौंमा पनि छ। यसकाे विराेध त हुन्छ नै तर छाउगाेठ भत्किएपछि पनि घरमा नगएर खुला आकाशमुनि सुतेकाे समाचार आउने ठाउँकाे मानसिकता रुपमा परिवर्तन ल्याउन पनि यी शब्दहरुकाे प्रयाेग जरुरी थियाे।'
शब्द जेसुकै भएपनि महिनावारी भएकाे महिलाले गाेठमा बस्नुपर्छ भने त्याे विभेद नै हाे। कतिपयकाे तर्क छ, 'महिलाहरु आफैँ डर मान्छन् त!' तर डरकाे मानसिकता निर्माण गर्नेहरुलाई पनि सचेत बनाउने सामग्री जरुरी हुने साेफिया बताउँछिन्। उनले भनिन्, 'छाउपडीकाे कारण के हाे त? किन महिला घरभित्र जान सकिनन्? खाेजी गर्ने हाे भने चेतनाकाे अभाव भेटिन्छ। धेरै मान्छेलाई सचेत गराउने एउटा राम्राे माध्यम भनेकाे गीत हाे। मैले त्यही माध्यम राेजेकी हुँ।'
उनी आफैँ गाेठ बनाएर छाउपडी मान्ने क्षेत्रमा घुमेकी छैनन्। समाचारका पानाहरुमा छापिने तस्बिर र शब्दहरुले उनलाई याे पीडा महसुस गरायाे। 'मैले याे क्षेत्रकाे लागि केही गर्नुपर्छ भन्ने साेच्दासाेच्दै गीतकारबाट अफर आएकाे थियाे,' उनले भनिन्, 'काेही छाउगाेठबाट घरकाे काेठासम्म पुग्छ भने वा महिनावारी भएकाेबेला पूजा काेठासम्म पनि निर्वाध जान्छ भने त्याे ठुलाे परिवर्तन हुनेछ।'
साेफिया पढाउँछिन् पनि। उनले छाउपडीबारे गीत गाएकाे केही समयमा उनकी एकजना विद्यार्थीले कसैलाई थाहा नदिएर छाउ बारिनछन्। उनलाई केही भएनछ। आएर सुनाइछन्, 'याे त सब भ्रम मात्रै रहेछ। मैले छाउ नबारेर हेर्दा केही भएन।'
एउटा सचेत गायिकाले कस्ताे खालकाे गीत गाउनुपर्ने रहेछ? समाजलाई के दिन सकिने रहेछ? वा उनकाे बाल मस्तिस्कमा भएजस्ताे कस्ताे कृति छाेड्न सकिने रहेछ? कस्ताे खालकाे गीत गाउँदा धेरै मान्छेकाे हितमा बाेलेजस्ताे हुन्छ? भन्ने सबै खालका प्रश्नको उत्तर त्यतिबेला मिल्छ, जतिबेला कुनै मान्छे उनकाे गीत सुनेर आफूलाई परिवर्तन गर्न सक्षम हुन्छ।
कवि रमेश क्षितिज र दुर्गा बञ्जाडेकाे सहयोगबाट उनले पछिल्लो समय सार्वजनिक भएकाे गीत 'आवाज' गाएकी थिइन्। उनी भन्छिन्, 'म महिलाहरुकाे प्रतिनिधित्व कसरी गर्न सक्छु? उहाँहरुकाे आवाज कसरी बाेल्न सक्छु? भनेर साेच्दासाेच्दै आवाज गाउने दिन आइपुग्याे।'
आवाजमा महिलाहरु अब माैन बस्नु हुँदैन भन्ने छ। अहिलेसम्म हामी माैन बस्याैं। दहेज (दाइजाे) नदिँदाखेरी हामीलाई जिउँदै जलाइयाे। न्याय माग्दा एसिड छरियाे। अहिलेसम्म हामीले हिसाब मागेका थिएनाैं। अब मागाैं, अब बिहान खाेजाैं। न्याय खाेजाैं। हाम्राे आवाज खाेजाैं भन्ने सन्देश छ।
सबै खाले गीत संगीतमा रुचि भएकी साेफिया आगामी दिनमा पनि जनचेतना फैलाउने, सामाजिक परिवर्तनकाे प्रतिनिधित्व गर्ने गीत गाइरहने बताउँछिन्। भन्छिन्, 'याे माध्यम अब छाेड्दिनँ। यसले बहस सृजना गराउँछ। चलिरहेकाे रितमाथि प्रश्न गर्न सिकाउँछ।'
समग्रमा उनी सामाजिक विभेद र कुरीतिले जगडिएकाे समाज व्यवस्थामाथि प्रश्न गर्न रुचाउँछिन्। जसले समाजलाई सुल्टाे हाेइन, उल्टाे दिशामा लगेकाे छ। उल्टाेपाल्टाे समाजलाई ठिकठाक पार्नका लागि पनि प्रश्न गर्नुपर्छ। साेफियाकाे भाषामा भन्दा, 'नाे' भन्न सक्नुपर्छ।