अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई आजै न्युयोर्कमा आत्मसमर्पण गर्न आदेश

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रमपलाई अदालतले आजै न्युयोर्कमा आत्मसमर्पण गर्न भनेको उनका वकिल जो टाकोपिनाले बताएका छन्।

हिजै मात्र अभियोग लगाइएका पूर्वराष्ट्रपतिलाई आजै आत्मसमर्पण गर्न भनिनु न्यायोचित नभएको टाकोपिनाले बताएका छन्। उनले भनेका छन्, ' यसले पनि मुद्दा पूर्वाग्रही भएको पुष्टी हुन्छ।'

ट्रम्पलाई पूर्वराष्ट्रपतिका हैसियतमा सुरक्षा प्रदान गरिरहेको सिक्रेट सर्भिससँग संयोजन गर्नुपर्ने भएकाले थप समय चाहिने उनले बताए।

यसअघि उनले मंगलबार ट्रम्पले न्युयोर्कमा आत्मसमर्पण गर्ने बताएका थिए। अमेरिकी सञ्चारमाध्यमले पनि त्यही टाइमलाइनमा समाचार सम्प्रेषण गरेका थिए।

अमेरिकाका बहालवाला वा पूर्वराष्ट्रपतिलाई इतिहासमै पहिलोपटक आपराधिक मुद्दा लगाइएकोले अमेरिका पनि रनभुल्लमा छ। एक पूर्वराष्ट्रपतिविरूद्ध कसरी मुद्दा अगाडि बढाउने भन्नेमा कुनै पनि नजीर र कार्यविधि नभएकाले पनि यस्तो अन्यौल सिर्जना भएको बताइएको छ। 

पूर्वराष्ट्रपति ट्रम्प फ्लोरिडास्थित निबासमा रहेर रिपद्वलिकन पार्टी र नेताहरूको समर्थन जुटाउन लागिपरेका छन्। उनले आफू निर्दोष रहेको बताउँदै आफूलाई र रिपब्लिकन पार्टीलाई बदनाम गराउन मच्चाइएको एक लाजमर्दो काण्डलाई निस्तेज पार्न सबै एकजुट हुनुपर्ने बताएका छन्।

ट्रम्पको एकछत्र रहेको रिपब्लिन पार्टी र यसका संस्थापन पक्षका नेताहरू उनको पछाडि खडा भएका छन्। ट्रम्पको बोेलीमा लोली मिलाउँदै उनीहरूले पनि यसलाई राजनीतिक प्रतिसोध भनेका छन्।

अमेरिका सञ्चारमाध्यहरू यो घटनालाई ऐतिहासिक महत्व दिएर कभरेज गरिरहेका छन्। अधिकांश ठूला सञ्चारमाध्यमहरूले आफ्ना आउटलेटमा लाइभ अपडेट गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-03-31 17:06:00

प्रतिकृया दिनुहोस्