अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरूद्ध फौजदारी मुद्दा, तनावमा अमेरिका

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरूद्ध फौजदारी अभियोग लगाइएको छ। ३० काउन्टको अभियोग लगाइएको भनिएपनि अभियोग सार्वजनिक गरिएको छैन। तर, उनलाई २०१६ को राष्ट्रपति चुनावका लागि उठाइएको चन्दा रकमबाट पोर्नस्टार स्टर्मी डेनियल्सलाई एकलाख ३० हजार घुस दिइएको अभियोग लगाइएको अनुमान गरिएको छ।

अभियोग म्यानहट्टन डिस्ट्रिक्ट महान्यायाधिवक्ता एल्भिन ब्रागद्वारा गठित ग्राण्ड जुरीले लगाएको हो।

मुद्दा दायर गरिएसँगै ट्रम्पले अमेरिकाको इतिहासमै फौजदारी मुद्दा लागेको पहिलो राष्ट्रपतिको कीर्तिमान बनाएका छन्। यसअघि यस्तो अभियोग अमेरिकाका कुनै पनि पूर्व या वर्तमान राष्ट्रपतिलाई लागेको छैन।

ट्रम्पविरूद्ध लगाइएको अभियोगलाई लिएर अमेरिकामा हलचल मच्चिएको छ। ट्रम्पले यसलाई अपमानजनक राजनीतिक उत्पीडन र उच्चतम चुनावी हस्तक्षेप भनेका छन्। उनको रिपब्लिकन पार्टी र नेताहरूले पनि तिब्र रोष प्रकट गरेका छन्।

उनीहरूले म्यानहट्टन डिस्ट्रिक्ट महान्यायाधिवक्ता एल्भिन ब्रागलाई निशाना बनाउँदै यो डेमोक्रेटिक प्रपगण्डा भएको बताएका छन्।

तर, डेमोक्रेट र ट्रम्प विरोधीहरूले भने कानूनभन्दा माथि कोही नभएको बताउँदै उनीमाथि मुद्दा चलाइनु जायज भएको बताएका छन्। उनीहरूले चुनावका लागि उठाइएको चन्दा यौनसम्पर्क राख्नका लागि प्रयोग गरिनु लज्जास्पद भएको बताएका छन्।

ट्रम्पले यसअघि नै आफू पक्राउ पर्नसक्ने भन्दै आफ्ना समर्थकलाई सडकमा आउन आग्रह गरिसकेकाले अमेरिकानका ठूला सहरहरूमा तनाव बढेको छ। ट्रम्पविरूद्ध मुद्दा लगाइएको न्युयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

पोर्नस्टार स्टर्मी डेनियल्सले २००६ मा ट्रम्पले आफूसँग डेट गर्ने क्रममा यौनसम्पर्क राखेको आरोप लगाएका थिइन्। आरोप २०१६ को चुनावमा महङ्गो पर्ने ठानेर ट्रम्पले तत्कालिन आफ्ना वकिल माइकल कोहनमार्फत् एकलाख ३० हजार डलर भुक्तान दिएर डेनियल्सलाई चुप लगाएका थिए। ट्रम्पले पछि त्यो रकम चन्दा कोषबाट आफूलाई  दिएको कोहनले सार्वजनिक गरिदिएका थिए। 

ट्रम्पले त्यो रकम भुक्तान नगरेको भन्न नसकेका पनि आफूलाई चन्दाबाट भुक्तान गरिएको थाहा नभएको बताउँदै आएका छन्।  

ट्रम्पले आगामी साता न्युयोर्कस्थित अदालतमा आत्मसमर्पण गर्ने उनका वकिलहरूले बताएका छन्। उनी अदालतमा प्रस्तुत भएपछि उनलाई धरौटीमा छोड्ने कि जेल पठाउने भन्ने निर्णय ग्राण्ड जुरीले गर्नेछ। यदि उनले अदालतसमक्ष आत्मसमर्पण नगरे पक्राउ गरिने बताइएको छ।

प्रकाशित मिति: : 2023-03-31 07:08:00

प्रतिकृया दिनुहोस्